करिब २ दशकदेखि चिकित्सा क्षेत्रमा अनुभव बटुलेकी डा. राधा भट्टराई वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । शहिद गंगालाल हृदय रोग केन्द्रबाट सेवा सुरु गरेकी उनले वीरगञ्जका नारायणी अस्पताल, प्रभु हस्पिटललगायत स्वास्थ्य संस्थाहरूबाट सेवा दिएकी छन् । अहिले काठमाडौंको किष्ट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत डा. भट्टराईसँग मुटुरोगका बारेमा गरिएको कुराकानी:
पछिल्लो समयमा मुटु रोगको अवस्था कस्तो छ ?
संसारभर जति पनि भएका रोगहरू मध्ये एक नम्बरमा मुटु रोग पर्दछ । त्यसपछि क्यान्सर रहेको छ । विश्वभरिका मर्ने मानिसहरूको तथ्याङ्क संकलन गरेर हेर्दा १ नम्बरमा मुटु रोगबाट मर्ने गरेको पाइएको छ । मुटु रोग लाग्नबाट कसरी रोकथाम गर्ने, जनतामा जनचेतना कसरी फैलाउने भन्ने मुल चासोको विषय हो । मुटु अति नै संवेदनशील अंग हो । अनवरत २४ घण्टा काम गरिरहने एउटा जेनेरेटर हो । स्वस्थ्य मानिसको मुटुको साइज हरेक मानिसको आफ्नो मुठ्ठीको साइजमा हुन्छ । मुटु मासु नै मासुले बनेको अंग हो ।
मुटुले के काम गर्छ ?
मुटुमा ४ वटा कोठा हुन्छ । मुटुको दायाँपट्टिको कोठामा शरीरको सबै भागबाट अशुद्ध रगत ल्याउँछ । त्यो अशुद्ध रगत फोक्सोमा जान्छ । फोक्सोमा अक्सिजनसँग मिलेर अशुद्ध रगत शुद्ध भएर बाँयापट्टि आउँछ । बायाँतिरको भेन्ट्रिकलको तल भागमा आउँछ । एओटा हुँदै शरीरको विभिन्न भागमा पुग्छ । साथै मुटुले पनि शुद्ध रगत पाउँछ । शरीरको विभिन्न भागमा शुद्ध रगत पठाउने काम मुटुले गर्छ । त्यसैले मुटु शरीरको संवेदनशील अंग हो ।
मुटु शरीरको कुन भागमा हुन्छ ?
कतिपय शिक्षित मानिसहरूलाई पनि मुटु शरीरको कुन भागमा छ भन्ने कुराको चेतना छैन । धेरै हार्टअट्याकको बिरामीहरू आउँछन् । हार्टअट्याकलाई पनि ग्याष्टिक हो भनेर घरमा नै बस्ने गरेको पाइन्छ । मुटु छातिको देब्रेतिर हुन्छ । छातिको बीच भागमा स्टर्नल हुन्छ । त्यसको देब्रेतिर र तलपट्टी फर्केर बसेको हुन्छ । महिलाको स्तनले छोपेर बसेको हुन्छ ।
मुटु वा अन्य कारणले सञ्चो नभएको कसरी पत्ता लगाउन सकिन्छ ?
ग्याँसले दुख्ने दुखाई खालीपेट हुँदा दुख्ने गर्छ । उसिनेको तारेको, पिरो चटपटेजस्तो खानेकुराहरू खाएमा खाना खाइसकेपछि दुख्ने गर्छ । धेरै जसो मुटुको दुखाई खानासँग सम्बन्धित हुँदैन । छिटोछिटो हिँड्दा, तला चढ्दा छाती भारी भएर आएमा, हिँडेपछि दुखाइ सुरु हुने, अझै हिड्दै जाँदा त्यो दुखाइ बढ्ने, एकछिन आराम गरे त्यो दुखाइ कम हुने सय प्रतिशत मुटुको दुखाइ हो । मुटुको दुखाइ सरेर आउने गर्दछ । मुटुबाट सुरु भएको दुखाइ चिउँडो, हात, पाखुरा, गाला र पिठ्युमा पनि सरेर दुख्ने गर्छ । आम जनताले यो बुझ्न जरुरी छ । बुझेर पनि ग्याँस हो भनेर घरमा बस्नु ठिक होइन । कहिलेकाहीँ हार्टअट्याक हुदाँ पनि ग्याँस भनेर घरमा बस्दाँ समय बितेर मानिसको ज्यान जाने गरेको छ । आफूलाई अप्ठ्यारो लाग्दा जुन किसिमको दुखाइ भएमा समयमा नै डाक्टरको परामर्श लिनु आवश्यक छ । हार्टअट्याकको लागि समय एकदमै महत्वपूर्ण कुरा छ । जति छिटो डक्टरकहाँ पुगेर उपचार गरी मुटुलाई बचाउन सक्ने समय प्रशस्त हुन्छ । रातमा मुटु दुखेको छ भने उपलब्ध भएसम्म मुटुरोग विशेषज्ञ वा नजिकको स्वास्थ्य उपचार केन्द्र र अस्पतालहरूमा गएर जाँच गराउनुपर्छ ।
मुटुमा रोग लाग्ने कारणहरू के हुन् ?
मुटुसम्बन्धी रोगहरू धेरै कारणले हुने गर्दछ । मुटुमा रोग बच्चा जन्मनुभन्दा अगाडिदेखि नै लाग्छ । बच्चा भ्रुण अवस्थामा मुटु बन्नेक्रममा नै खराबी भएर भएको रोगहरू हुन्छ । आमाको गर्भावस्थामा बच्चाको मुटु बन्ने क्रममा नै खराबी हुन्छ । आमालाई ज्वरो आएमा, आमालाई भाइरस इन्फेक्सन भएमा अथवा आमाले कुनै औषधिको सेवन गरेमा जस्तैः आमाले छारे रोग, गर्भवती हुदाँ डाइबिटिज, थाइराइड हुने, धेरै चुरोट खाने, सुर्तीजन्य पदार्थ र अल्कोहलको सेवन गदार्प नि बच्चाको मुटु बन्नेक्रममा असर गर्न सक्छ । बच्चा जन्मेपछि विद्यालय जाने उमेरका बालबालिकाहरू १५ वर्ष मुनिका बालबालिकाहरूमा हुने गर्छ । रिमेटिक हार्ट डिजिज (बाल, बाथ र मुटुरोग) भनिन्छ । एशियन देशहरूमा बाल, बाथ, मुटुरोग धेरै छ । बच्चामा चिसो लागेर टन्सिल भइरहन्छ । त्यो टन्सिलको किराहरू मुटुमा गएर भल्भलाई असर गर्ने हुन्छ । त्यो बेलामा समयलाई बुझेर उपचार गराउनु पर्छ । कतिपय बच्चालाई खुट्टाको जोर्नी दुखिरहने, घाँटी दुखिरहने र बारम्बार टन्सिल भइरहने हुन्छ । उनीहरू यो अवस्थामा डक्टरको परामर्श नलिने, पछि गएर मुटुलाई असर गरिसकेपछि धेरै गाह्रो भएपछि डक्टरको जाँदा धेरै पछिमात्र पत्ता लाग्छ । समयमा नै उपचार गरे मुटु रोग निको पनि हुन्छ । समयमा नै बच्चाको मुटुरोग पत्ता लगाएर उपचार गरेन भने पछि गएर मुटुको भल्भ पनि फेर्नुपर्ने हुन्छ । हाम्रो शरीरलाई चाहिने सामान्यतया धेरै किसिमका किराहरू हुन्छन् । टन्सिलका किराहरू मुटुको किरा भएको किराजस्तै नर्मल हुन्छ र साथी भनेर जान्छ । पछि गएर बिस्तारै भल्बहरू मोटो हुने हुन्छ । मुटु रोगमा धेरै रोगहरू पर्छन । ब्लड प्रेशर उच्च हुने, ब्लड प्रेसर कम हुनु, मुटुको चालसम्बन्धी गढबढी हुनु हो । बच्चा पेटमा भएपछि सुत्केरी हुने अवस्थामा मुटुको मांसपेशी खराब भएर हुने । गर्भावस्थाको अन्तिम चरणमा प्रेशर अति नै उच्च हुन्छ । कुनै आमाहरूको बच्चा जन्मिने बित्तिकै मुटुमा असर गरेर मुटु सुन्निएर आउँछ । बच्चा जन्मिने बित्तिकै स्वाँस्वाँ भयो । श्वास लिन गाह्रो भयो भने पनि तुरुन्त मुटुरोग विशेषज्ञलाई देखाउनु पर्छ र मुटुको भिडियो एक्सरे गराउनु पर्छ । बच्चामा भएको असर पछि गएरमात्र थाहा हुन्छ । बढ्दो उमेरमा विद्यालय उमेरमा धूमपान, मद्यपान, सुर्तीजन्य पदार्थ सबैले गर्ने असर भनेको मुटुमा नै हो । अहिले १७ वर्षको केटामा पनि हार्टअट्याक भइरहेको छ । महिला तथा पुरुष दुवै समूहका युवाहरूलाई हार्टअट्याक धेरै भइरहेको छ । दैनिक व्यायम गर्दैनौं । वातावरण प्रदूषित छ । तनावमा बाँचिरहेको छ । जंकफुडहरू धेरै खान्छौं । हामीलाई घरमा खाना बनाएर खान फुर्सद छैन । हामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरेको छैनौं ।
मुटुलाई कसरी बचाउन सकिन्छ ?
मुटुलाई बचाउनलाई दुईवटा कुराहरू छन् । हाम्रो हातमा भएको कुरा र हातमा नभएको कुरा हुन् । उमेर, वंशाणुगत गुण, लिङ्गलाई परिवर्तन गर्न र रोक्न सक्दैनौं । मुटु रोगको लागि मोटोपन मुख्य कारण हो । हरेक मानिसले आफ्नो व्यक्तिगत पासवर्ड के हो बुझ्नु पर्छ । आफ्नो पासवर्डको बारेमा बुझौं । मेरो उचाई र तौल कति छ । उचाई र तौल अनुसार शारीरिक बनावट ठिक छ की छैन । मोटोपन छ की छैन ? मोटोपन छ भने हामी त्यसलाई कति किलो घटाउनु पर्छ । धूमपान, सुर्तीजन्य पदार्थ र अल्कोहलको सेवनले गर्दा मुटु रोगीको एक नम्बरमा पुगेका छौं । धूमपान, सुर्तीजन्य पदार्थ र अल्कोहल हिजो खाएर आज समस्या देखिने होइन । यसको असर १५ वर्षपछि देखिन्छ । यदि हामीले मद्यपान, धूमपान गर्न छाडेमा आयु १५ वर्ष लम्बिन्छ । तनावग्रस्त जीवनयापन नगरौं । आफैंले गर्न खोज्यो भने तनावबाट बच्न सकिन्छ । वातावरण दूषित गर्न कम गरौं । प्लाष्टिक र प्लाष्टिकका जन्य पदार्थ सकेसम्म प्रयोग नगरौं । तातो खानेकुराहरू खान रराख्न प्लाष्टिकजन्य पदार्थको प्रयोग नगरौं । तेलको मात्रा कम गरौं । एकपटक तताएको तेल पुनः प्रयोग नगरौं । तेल तताइसकेपछि कोलेस्टोरोन परिवर्तन हुन्छ । कोलस्टोरोन मुटुको लागि हानीकारक चिज हो । तताएको तेल फेरि तताएर पुनः प्रयोग नगरौं । तेललाई माया गर्दा आफ्नो स्वास्थ्यलाई नबिगारौं । पूर्वजहरूले कोलमा पेलेको तोरीको प्रयोग गर्नु नै राम्रो मान्थे । उसिनेर खान मिल्छ, तेल कम गरेर नै हुन्छ भने सकेसम्म उसिनेको चिजहरू खान सुरु गरौं । सकेसम्म धेरै तारेको, भुटेको र जंकफूडहरू खानु हुँदैन । क्यान र बोतलमा राखेको चिजहरू नखाऔं । तातो खानेकुराहरू प्लाष्टिकको भाडामा नखाऔं । ताजा खानेकुराहरू खाऔं । हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खाऔं । फाइबरजन्य तत्व भएका गहुँ र जौँको उपयोग गरौं । सेतो वस्तु हानीकारक मानिन्छ । नुन, चिनी, मैदाजन्य परिकारहरू सकभर नखाऔं । खान नै मन लागे कम मात्रामा खाऔं ।
मुटु रोग लिङ्गअनुसार कसलाई बढी लाग्ने गरेको पाइन्छ ?
तथ्याङ्कलाई हेर्दा मुटुरोग महिलालाई कम र पुरुषलाई बढी लागेको पाइन्छ । महिलामा हुने हर्मोनले मुटुलाई बचाउन सहयोग गर्छ । महिनावारी सुरु हुनुभन्दा अगाडि महिलामा भएको हर्मोनले मुटुरोगबाट बचाउँछ । महिनावारी सुरु भएपछि भने मुटु रोग लाग्ने सम्भावना बढ्दै जान्छ ।
नागरिकमा मुटु रोगसम्बन्धी सचेतना कत्तिको छ ?
कमै मानिस मुटुको बारेमा सचेत छन् । यहाँ जनचेतनाको धेरै खाँचो छ । मुटुको इसिजी, मुटुको भिडियो एक्सरे शिक्षित वर्गको नै भएको हँुदैन । हामीले आफूलाई माया गरेका छैनौं । हाम्रो मुटुको स्थिति कस्तो छ ? हामी बिरामी भएर होइन, मुटुको अवस्थाबारे बुझ्न अस्पताल जाऔं । कोलस्ट्रोनको लेभल कति छ ? सुगर र थाइराइडको अवस्था कस्तो छ ? मृगौलाले कस्तो कार्य गरिरहेको छ ? भन्ने कुरा पत्ता लगाउनु पर्छ । मुटुको इसीजी, भिडियो एक्सरे गरेर मुटुमा समस्या भएको नभएको एकिन गर्न सकिन्छ । इसीजी मुटुको लागि लालपुर्जा नै हो । स्वस्थ्य मानिसले पनि सके १÷१ वर्षमा नसके ३÷३ वर्षमा जाँच गरेर हेर्नुपर्छ । अहिले युवाहरूको मृत्यु हुनेको संख्या धेरै बढेर गएको छ । जीम गर्न गएका युवाहरूको मृत्यु भएको छ । धेरै जसो खेलाडीहरूको फिल्डमा जानुभन्दा अगाडि मुटुको जाँच गरेरमात्र जानु पर्छ । मुटुमा हाइपोट्रफिक कार्डियोमाईप्याथिक रोग हुन्छ । जसले गर्दा मुटुको मासुको भागहरू धेरै मोटो भएको हुन्छ । त्यस्ता रोग भएको मानिसहरूलाई व्यायम गर्दा गाह्रो भएर ज्यान जाने सम्भावना धेरै हुन्छ ।
सम्झन लायक कुनै घटना छ ?
मुटुरोग नै विशेषज्ञ भएको कारणले धेरै सम्वेदनशील हुन्छ । वीरगञ्जको नारायणी अस्पतालमा काम सुरु गर्दाको समयमा हार्टअट्याकको केस आएको थियो । तुरुन्तै ढिलो नगरी उपचार सुरु गर्नुपर्ने थियो । मैले गर्नुपर्ने उपचार भनेको मुटुमा रगत जमेर हार्टअट्याक हुन्छ । त्यो रगत पगाल्नुपर्ने औषधि सुरु गर्नुपर्ने थियो । जसलाई चिकित्सकको भाषामा थर्मलाइसिस् गर्ने भनिन्छ । त्यसको आफ्नै खराबीहरू पनि छ । एक घण्टाभित्र बिरामीलाई बचाउन पनि सकिन्छ । यो केशलाई तुरुन्तै थर्मलाइसिस् गर्नुपर्छ भनेपछि म गर्न तयार भए । सरकारी अस्पताल हो, केही आवश्यक परेमा तिम्रो लागि उपलब्ध हुने केही छैन । जोखिमपूर्ण भएकोले यहाँ नगर भनेर सल्लाह दिएँ । जुन बिरामी भारतीय थिए । पटनाको अस्पतालबाट फिर्ता पठाएको बिरामी थियो । परिवारले आश मारिसकेका बिरामी थिए । बिरामीको परिवारलाई कागज गराएपछि निजी अस्पतालमा गएर राति १ बजे थर्मलाइसिस् गरे । उहाँलाई सुधार भएर आयो । उमेर बढी भएको मानिस उपचार प्रभावकारी हुँदा एकदमै खुशी लागेको थियो । उहाँलाई पछि हामीले एन्जियोग्राम पनि ग¥यौं । एन्जियोग्राममा ३ वटा भल्भ बन्द भएको थियो । उहाँलाई स्टेण्ड लगाउन नमिल्ने बाइपास सर्जरी गर्नुपर्ने हो । उहाँहरूले बाइपास सर्जरी गर्न मान्नु भएन । पछि बिरामी ठिक पनि हुनुभयो । यो केश निकै मन छुने खालको थियो । भारतको पत्रिकामा पनि घाटमा पुगेको बिरामी पनि बचाउन सफल भएको भनेर मेरो समाचार आउँदा खुशी लागेको थियो । वीरगञ्जमा मात्रै ४÷५ सय बिरामीहरूको थर्मलाइसिस् गरेँ ।
यहाँसम्म आइपुग्न कस्ता चुनौती आए ?
आईएस्सी पढ्ने बेलामा पनि केटीहरू ७ जना र सबै केटा थिए । सातजनामध्ये पनि कोही नर्सिङ्गमा नाम निस्केर पढन गए । कसैको विवाह भयो । कक्षामा पढ्ने बेलामा एक्लै थिएँ । पछि एमबीबीएस पढ्ने बेलामा पनि रसियाको युरोपमा पनि नेपाली ग्रुपमा ५ जनामा म एक्लै थिएँ । फर्केर काम गर्ने ठाउँमा पनि कार्डियोलोजीमा काम गर्ने एक्लै थिएँ । अहिले पनि नेपालमा र विदेशमा कन्फ्रेन्समा जाँदा पनि महिला डक्टरको संख्या कम नै हुन्छ । तर, जे कुरालाई पनि सकारात्मक रुपमा सोचेर अगाडि बढ्छु । गर्व पनि लाग्छ ।
मुटुरोग लाग्न नदिन के गर्न सकिन्छ ?
हाम्रो हातमा नभएकोलाई परिवर्तन गर्न सक्दैनौं । जुन कुराहरू परिवर्तन गर्न सकिन्छ । धूमपान र मद्यपान गर्ने बानी छ भने आजैदेखि नै त्याग्नु पर्छ । अफिसमा नै बसिरहन्छ भने हरेक २० मिनेटमा ३ मिनेट हिड्नु पर्छ । जंकफूडहरू खान बन्द गर्नुपर्छ । खानामा सकेसम्म हरियो सागपात र तरकारी खाऔं । फाइबरयुक्त खानेकुरा खानुपर्छ । सेतो खाद्यपदार्थमा कार्बोहाइड्रेट बढी भएको हुनाले खाना कम गर्नुपर्छ । हरेक दिन फलफूल एउटामात्र खाऔं । पानी प्रशस्त मात्रामा पिऔं । कसरत नियमित गर्नुपर्छ । तारेको, भुटेको खानेकुराहरू सेवन गर्नु भएन । तनावग्रस्त जीवनलाई कम गर्न सक्नुपर्छ । जसलाई पहिलेदेखि सुगर, प्रेसर र थाइराइड छ भने आफ्नो रोगको बारेमा थाहा पाएर नियमित रुपमा औषधि सेवन गर्नुपर्छ । डाक्टरको सल्लाहबिना औषधि सेवन गर्नु हुँदैन । मुटुको रोगीले जीवनभर औषधि खानुपर्छ । जनचेतना जगाउन जरुरी छ ।