विगतका वर्षहरूझैं यस वर्ष पनि श्रमिक दिवस मनाइएको छ । यो दिवस आउनु वा मनाइनु कुनै नयाँ वा नौलो विषय होइन, तर यसले उठाउने सवालहरू भने प्रत्येक वर्ष अझै गम्भीर बन्दै गएका छन् । उद्योग, कलकारखाना तथा विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा तल्लो तहमा काम गर्ने मानिसहरूलाई सामान्यतया मजदूर भन्ने चलन छ । तर, वास्तवमा उनीहरू केवल मजदूर होइनन्, उनीहरू देशको विकासको मेरुदण्ड मानिने श्रमिक हुन् । श्रमिकको परिभाषा आजको समयमा झन् व्यापक हुँदै गएको छ । कृषि क्षेत्रदेखि उद्योग, निर्माण, सेवा क्षेत्र हुँदै प्रविधिसम्म, जहाँ पनि श्रम हुन्छ, त्यहाँ श्रमिकको उपस्थिति अनिवार्य हुन्छ । अरूको निर्देशनमा काम गर्ने मात्र होइन, आफ्नो शारीरिक वा बौद्धिक श्रमले देशलाई अगाडि बढाउने सबै मानिस श्रमिकको श्रेणीमा पर्छन् । यसरी हेर्दा श्रमिकको अर्थ सीमित नभई अझ समावेशी र व्यापक बनिसकेको छ ।
नेपालमा पछिल्ला वर्षहरूमा सामाजिक सुरक्षा कोषजस्ता महत्वपूर्ण व्यवस्था पनि सञ्चालनमा आएका छन् । यसले श्रमिकहरूको भविष्य सुरक्षित गर्ने अपेक्षा गरिएको छ । तर, व्यवहारमा भने नेपाली श्रमिकहरूको अधिकार कत्तिको सुरक्षित छ भन्ने प्रश्न अझै गम्भीर रूपमा उठिरहेको छ । कानून र नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै कमजोरी देखिन्छ । श्रमिक दिवसको अवसरमा विभिन्न क्षेत्रका मानिसहरूका विचार सुन्दा एकै प्रकारको चिन्ता र अपेक्षा प्रकट भएको पाइन्छ । अझै पनि उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण र दीर्घकालीन रोजगारीको सुनिश्चितता पाउन सकेका छैनन् । कतिपय उद्योगमा समयमै ज्याला नपाउने समस्या अझै कायम छ भने कतिपय ठाउँमा श्रमिकहरू अनौपचारिक रूपमा काम गर्न बाध्य छन् ।
विशेषज्ञ तथा सामाजिक विश्लेषकहरूको दृष्टिकोणमा श्रमिकको अवस्था सुधार्न केवल दिवस मनाउनु पर्याप्त हुँदैन । श्रमिकलाई नीति, कानून र व्यवहार तीनै तहबाट संरक्षण गर्न आवश्यक छ । रोजगारीको सुरक्षा, न्यूनतम ज्यालाको प्रभावकारी कार्यान्वयन र सामाजिक सुरक्षाको पहुँच सबै श्रमिकसम्म पु¥याउन सकेमात्र वास्तविक परिवर्तन सम्भव हुन्छ । निजीक्षेत्रका प्रतिनिधिहरूले पनि उत्पादन र विकासको मूल आधार श्रमिक नै भएको स्वीकार गर्छन् । श्रमिक बिना कुनै पनि उद्योग, निर्माण वा सेवा क्षेत्र सञ्चालन सम्भव छैन । उनीहरूको श्रमले नै देशको अर्थतन्त्र चलायमान बनाएको हुन्छ । यसरी हेर्दा श्रमिक दिवस केवल औपचारिक कार्यक्रम होइन, बरू श्रमिकको योगदान स्मरण गर्ने र उनीहरूको अधिकारबारे पुनः मूल्यांकन गर्ने अवसर हो । अब प्रश्न केवल दिवस मनाउने होइन, श्रमिकको जीवनस्तर कसरी सुधार्ने भन्ने हुनुपर्छ । जबसम्म श्रमिक सुरक्षित, सम्मानित र आत्मनिर्भर हुँदैनन्, तबसम्म कुनै पनि विकास पूर्ण मान्न सकिँदैन । प्रस्तुत छ, सरोकारका पक्षसँग गरिएको कुराकानी ः
आनन्द थामी (अध्यक्ष)
व्हिन
परम्परागत कामहरू घट्दै गएका छन्
रोजगारीको अस्थिरता, अटोमेसन र एआईका कारण परम्परागत कामहरू घट्दै गएका छन् । उत्पादन, बैंकिङ, ग्राहक सेवाजस्ता क्षेत्रमा मानिसको ठाउँ मेशिनले लिँदैछ । सीपको असमानता छ । नयाँ प्रविधिअनुसार सीप नहुँदा धेरै श्रमिक प्रतिस्पर्धाबाट बाहिर पर्न सक्छन् । पुरानो सीप अप्रासंगिक बन्दै गएको छ । अनौपचारिकता र गिग अर्थतन्त्र विस्तार हुँदा स्थायी जागिर घट्दैछन् । सामाजिक सुरक्षा, बीमा, पेन्सनजस्ता सुविधा कमजोर हुँदैछन् । श्रमिक अधिकारमा दबाब आउटसोर्सिङ र ग्लोबल प्रतिस्पर्धाले न्यून तलब, लामो काम समय र कमजोर यूनियन प्रभाव निम्त्याएको छ । मानसिक स्वास्थ्य समस्या डिजिटल काम, टार्गेट प्रेसर र अस्थिर भविष्यका कारण तनाव र बर्न आउट बढ्दो छ ।
मजदूर हितको नीति भएन
कुनै पनि मानिस आफ्नो इच्छाले मजदूर बन्दैन । उसको परिस्थितिले यस्तो स्थिति सिर्जना हुन्छ । मजदूर भन्नेबित्तिकै समाजमा नराम्रो नजरले हेर्ने चलन अझै पनि छ । पढेलेखेको मानिस पनि बेरोजगार भएर बाहिर गएर मजदूरी नै गर्नुपर्छ । सबैलाई सरकारी जागिर पाउँदैन । नेपाल एउटा सानो देश हो । यहाँको मानिसहरूले पनि उच्चस्तरको पढाई गर्ने सपना नदेखेका होइनन् । तर, स्वदेशमा शिक्षा र रोजगारको खासै महत्व बुझिदिने चुस्त संयन्त्र नभएको कारण श्रम गर्न सक्ने नेपाली युवा सबै विदेशतर्फ सोझिएका छन् । नेपाल सानो देश छ । त्यसमा पनि मानिसहरूलाई बढी तलब खोज्छन् । स्वभाविक पनि हो । महँगीको चक्करमा कम आम्दानीले घर परिवार धान्न सकस छ । देश नै अस्तब्यस्त भएको अवस्थामा पु¥याइएको छ । देश बिमारीको भएको अवस्थामा छ । व्यापारीहरूसँग पनि पैसा छैन भन्ने चारैतर्फ गुनासो छ । अहिले पैसा छैन । ठिक छ, तर हिजो बढि पैसा हुँदा त्यसको फाईदा श्रमिकले बढी खोजेको थिएन । त्यसको घाटानाफा सञ्चालकले नै लिने हो । श्रमिकहरूको त फिक्स गरिएकै हुन्छ । उनीहरूले अगाडि पछाडि धेरै जाँदैनन् । उद्योगी व्यापारीहरू बैंकले ऋण दिएन भनी त्यतातर्फ पनि गुनासो गरिरहेकै छन् । मानिसहरू पैसा नभएको कारण आफ्नो जमिन बिक्री गरेर ऋण तिर्छु भन्दा पनि बिक्री भइरहेको छैन । पैसा नभए कुनै पनि काम गर्न नसकिएको अवस्थामा श्रमिकको अधिकार कति सुरक्षित होला र ? त्यसैले नेपालमाभन्दा युवाहरू विदेशिएको तथ्य छ । विदेशमा सरकारसक्षम रहेको कारण त्यहाँका मात्र नभई नेपाली मजदूर पनि राम्रो सेवा सुविधाको खोजीमा उता पुगेका छन् । नेपालमा उत्पादन कम हुँदा सस्तो खोज्दै छिमेकी मुलुक भारत र चीनको समेत धेरै भर पर्नु परेको छ । यहाँको व्यापारहरू पनि बन्द हुने अवस्थामा पुगेको छ । त्यसमा काम गर्ने मजदूरहरूले काम नपाएर तलब नपाएर काम छोडिरहेको छ । सरकारले मजदूर दिवस त मनाउँछ । मजदूरहरूको हक अधिकारको लागि भने कुनै नीति ल्याएको छैन ।
शरण गुप्ता (युवा अभियन्ता)
वीरगञ्ज, पर्सामजदूरको जीवन संघर्षपूर्ण छ
जबसम्म व्यवसाय चलायमान हुँदैन, तबसम्म मजदूरहरूको हकअधिकार सुरक्षित हुने अपेक्षा गर्न सकिँदैन । कुनै पनि देशको आर्थिक संरचना माथिल्लो तहबाट तलसम्म आपसमा जोडिएको हुन्छ । यदि उद्योग, व्यापार र व्यवसाय राम्रोसँग सञ्चालन हुँदैन भने त्यसको प्रत्यक्ष असर मजदूर, किसान र निम्न आय भएका वर्गमा पर्छ । माथिल्लो तहको आर्थिक गतिविधि सुस्त हुँदा तल्लो तहका श्रमिकहरूको रोजगारी, पारिश्रमिक र जीवनस्तरमा नकारात्मक प्रभाव पर्छ। त्यसैले मजदूरको अधिकार सुरक्षित गर्न सबैभन्दा पहिले व्यवसाय र उत्पादन प्रणालीलाई सशक्त बनाउनु आवश्यक हुन्छ । आजकल मानिसहरू सस्तोमा सामान पाउने लोभले बाहिरबाट वस्तुहरू ल्याउन थालेका छन् । स्थानीय बजारमा पाइने वस्तुभन्दा विदेशी सामान सस्तो वा आकर्षक देखिएपछि धेरै उपभोक्ताहरू बाहिरी बजारतर्फ आकर्षित भएका छन् । यसको असर स्थानीय व्यवसायी, साना उद्योग र उत्पादन क्षेत्रमा परेको छ । जब स्थानीय बजार कमजोर हुन्छ, तब त्यहाँ काम गर्ने मजदूरहरूको रोजगारी पनि संकटमा पर्छ । मानिसहरूले अत्यन्त आवश्यक परेका सामान मात्र स्थानीय बजारबाट किन्ने प्रवृत्ति बढ्दा व्यापार सुस्त हुँदै गएको छ ।
मजदूरहरूको अवस्था अझ कठिन बन्दै गएको छ । धेरै मजदूरहरूले आफ्नो मेहनतअनुसारको पारिश्रमिक समयमै पाउँदैनन् । कतिपय अवस्थामा त पारिश्रमिक पाइहाले पनि त्यो रकमले परिवार धान्न निकै गाह्रो हुन्छ । बढ्दो महँगी, शिक्षा, स्वास्थ्य, खानपान र आवासको खर्चले मजदूरहरूको जीवन झन् संघर्षपूर्ण बनाएको छ । उनीहरू दिनभर कडा मेहनत गर्छन्, तर त्यसको प्रतिफलले सम्मानजनक जीवनयापन गर्न सक्दैनन् । यस्तो अवस्थाले समाजमा असन्तोष र निराशा बढाउँछ । किसानहरूको अवस्था पनि मजदूरभन्दा धेरै फरक छैन। उनीहरूले वर्षभरि कडा मेहनत गरेर उत्पादन गरे पनि सरकारले उचित मूल्य निर्धारण गर्न नसक्दा उनीहरूको श्रमको सम्मान घट्दै गएको छ । खेतीपातीमा लगानी धेरै हुन्छ, तर उत्पादनको उचित मूल्य नपाउँदा किसानहरू घाटामा पर्छन् । यसले गर्दा कृषिप्रति युवापुस्ताको आकर्षण पनि घट्दै गएको छ । किसानको श्रमको सम्मान र उचित मूल्य सुनिश्चित नगरेसम्म देशको आर्थिक अवस्था बलियो बन्न सक्दैन ।
पहिले सानासाना कामका लागि पनि माडवारी समुदायका व्यापारीहरूले स्थानीय मजदूरहरूलाई काममा राख्थे। दैनिक श्रमबाट धेरै परिवारको जीविका चल्थ्यो । तर, अहिलेको अवस्थामा कामका अवसरहरू घटेका छन् । व्यवसाय कमजोर हुँदा श्रमिकहरूको माग पनि कम भएको छ। परिणामस्वरूप धेरै मानिसहरू बेरोजगार बनेका छन् । रोजगारीको खोजीमा युवाहरू विदेशिन बाध्य भएका छन् । श्रम बजारको खोजीमा विदेश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको छ, जसले देशभित्र श्रमशक्ति र उत्पादन क्षमता दुवै कमजोर बनाएको छ ।
यी सबै समस्याको जडमा राजनीतिक अस्थिरता, कमजोर नीति र जिम्मेवार निकायको लापरवाही देखिन्छ । देश हाँक्ने नेतृत्वले मजदूर, किसान र श्रमिक वर्गको समस्यालाई गम्भीर रूपमा लिन सकेका छैनन् । केवल मजदूर दिवस मनाएर मात्र मजदूरको सम्मान हुँदैन । उनीहरूको हकअधिकार सुनिश्चित गर्न व्यवहारिक नीति, उचित पारिश्रमिक, रोजगारीको सुरक्षा र सामाजिक सम्मान आवश्यक छ । मजदूर दिवसको वास्तविक अर्थ तबमात्र पूरा हुन्छ, जब मजदूरले आफ्नो श्रमको उचित मूल्य पाउँछन्, किसानले आफ्नो उत्पादनको सम्मानजनक मूल्य पाउँछन्, र श्रमिक वर्गले सुरक्षित भविष्यको अनुभव गर्छन् । त्यसैले सरकार, व्यवसायी र समाजका सबै जिम्मेवार पक्षहरूले मजदूरको हितका लागि गम्भीर भएर काम गर्न आवश्यक छ ।
पिंकी साह (सञ्चालक)
हरिओम फ्याब्रिक मिहिनेतअनुसारको पारिश्रमिक पाएका छैनन्
विश्वभर अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइरहँदा पनि नेपाली श्रमिकहरूको अवस्था अझै सुदृढ हुन सकेको छैन । केवल दिवस मनाएर मात्र श्रमिकको सम्मान हुँदैन । उनीहरूको हकअधिकार सुनिश्चित गर्न, उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण, र रोजगारीको स्थायित्वका लागि सरकार, निजी क्षेत्र र समाज सबैले गम्भीरतापूर्वक काम गर्न आवश्यक छ । श्रमिकहरूको जीवनस्तर सुधार भई देशको समग्र विकास सम्भव हुँदैन ।
आजको अवस्थामा प्रविधिको प्रयोग बढ्दै जाँदा धेरै परम्परागत श्रमिकहरूले रोजगारी गुमाउनु परेको छ । विशेष गरी डोजरजस्ता मेसिनहरूको प्रयोगले निर्माण क्षेत्रमा काम गर्ने धेरै श्रमिकहरू बेरोजगार भएका छन् । यस्तो अवस्थामा श्रमिकको अधिकारको कुरा गर्नुमात्र पर्याप्त हुँदैन, उनीहरूलाई नयाँ सीप सिकाएर वैकल्पिक रोजगारीतर्फ उन्मुख गराउनु जरुरी हुन्छ। सीप भएका कामदारहरू पनि अवसरको अभावमा बेरोजगार बस्न बाध्य छन्, जुन राज्यका लागि चिन्ताको विषय हो । महिलाहरूको अवस्था अझ संवेदनशील छ । अहिले महिलाहरू पनि पुरुषसरह मजदूरी गर्न बाध्य भएका छन् । परिवारको आर्थिक भार थेग्न उनीहरू घरबाहिर गएर कडा श्रम गर्नुपरेको छ । त्यसैले महिलाहरूका लागि लक्षित, व्यवहारिक र आयमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ, जसले उनीहरूलाई सुरक्षित र सम्मानजनक रोजगारी प्रदान गर्न सकोस् ।
बाहिर काम गर्ने मजदूरहरूको जीवन निकै कठिन छ । घाम, पानी, चिसो वा अन्य प्रतिकूल अवस्थालाई बेवास्ता गर्दै उनीहरूले दैनिक श्रम गर्नुपर्छ । तर, विडम्बना के छ भने, यस्ता मिहिनेती श्रमिकहरूको श्रमको उचित सम्मान न त समाजले गर्छ, न त राज्यले । अझै पनि उनीहरूले आफ्नो मेहनतअनुसारको पारिश्रमिक पाउन सकेका छैनन् । श्रमिकको पसिना र मेहनतलाई उचित मूल्य नदिइँदा उनीहरूको मनोबल कमजोर हुँदै जान्छ । यदि श्रमिकहरूले काम गर्न छोडे भने धेरै उद्योग र व्यवसायहरू स्वतः बन्द हुने अवस्था आउँछ । उद्योग सञ्चालनमा पूँजी जत्तिकै श्रमको पनि महत्वपूर्ण भूमिका हुन्छ । उद्योगीले आर्थिक लगानी गरे पनि उत्पादनलाई वास्तविकता दिने काम श्रमिककै श्रमले सम्भव हुन्छ । एक दिनमात्र उद्योग बन्द हुँदा कति ठूलो आर्थिक नोक्सानी हुन्छ भन्ने कुरा उद्योग सञ्चालकहरूले राम्ररी बुझ्छन् । त्यसैले श्रमिक र उद्योगीबीच सन्तुलित सम्बन्ध आवश्यक हुन्छ । सामाजिक सुरक्षा कोषजस्ता कार्यक्रमहरू सञ्चालनमा आए पनि यसको महत्व र प्रभावबारे अझै धेरैले गहिरो रूपमा बुझ्न सकेका छैनन् । श्रमिकहरूको भविष्य सुरक्षित गर्न यस्ता योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनु आवश्यक छ ।
कमला घिमिरे ( अध्यक्ष)
चेली हस्तकला उद्योग , वीरगञ्ज मजदूरहरूको जीवनस्तर सुधार्नु पर्दछ
मजदूरहरूको हकअधिकार अझै पनि पूर्ण रूपमा सुनिश्चित हुन सकेको छैन । विशेषगरी सहरी क्षेत्रभन्दा बाहिर रहेका ग्रामीण क्षेत्रमा हेर्दा मजदूरहरूको लागि नियमित रोजगारीको अभाव स्पष्ट रूपमा देखिन्छ । काम पाइहाले पनि उनीहरूले गरेको मिहिनेतअनुसारको ज्याला प्राप्त गर्न सकेका छैनन्, जसले उनीहरूको जीवन झन् कठिन बनाएको छ । ग्रामीण क्षेत्रमा उदाहरणका रूपमा गहुँ काट्ने जस्ता काम गर्दा पनि मजदूरले अत्यन्त न्यून पारिश्रमिक पाउने गरेका छन् । दिनभर कडा परिश्रम गर्दा पनि करिब सय रुपैयाँ जति मात्र आम्दानी हुने अवस्था छ । आजको बढ्दो महँगीको समयमा यस्तो कम आम्दानीले एक परिवारको आधारभूत आवश्यकताहरू पूरा गर्नु निकै कठिन हुन्छ । खाना, शिक्षा, स्वास्थ्य र अन्य दैनिक खर्चहरू धान्न यो रकम पर्याप्त हुँदैन, जसले मजदूर वर्गलाई आर्थिक दबाबमा पारिरहेको छ ।
सरकारले यस विषयमा पर्याप्त ध्यान दिन नसकेको गुनासो पनि बढ्दो छ। मजदूरहरूको श्रममा नै देशको धेरैजसो आर्थिक गतिविधि टिकेको हुन्छ भन्ने कुरा स्वीकार गरिए पनि उनीहरूको जीवनस्तर सुधारका लागि ठोस कदम कमै देखिन्छन् । वास्तवमा मजदूर समाजको अत्यन्त महत्वपूर्ण अंग हो, किनकि देशको आर्थिक उन्नति उनीहरूको श्रमसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।
आधुनिक युगमा पनि मजदूरी गर्ने वर्गको महत्व कुनै पनि हिसाबले कम भएको छैन । उद्योग, व्यापार, कृषि, भवन निर्माण, पुल तथा सडक निर्माणजस्ता सबै क्षेत्रमा मजदूरहरूको योगदान अनिवार्य हुन्छ । कुनै पनि विकास कार्य उनीहरूको मेहनत बिना सम्भव हुँदैन। त्यसैले उनीहरूको श्रमलाई कम मूल्याङ्कन गर्नु न्यायोचित हुँदैन । यदि सरकारले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सकेमा र मजदूरहरूको ज्याला उचित रूपमा निर्धारण गर्न सकेमा उनीहरूको जीवनमा ठूलो सुधार आउन सक्छ । साथै सीप विकास, रोजगार कार्यक्रम र सामाजिक सुरक्षाका योजनाहरू प्रभावकारी रूपमा लागू गर्न सकेमा मजदूर वर्ग सशक्त बन्न सक्छ ।
मजदूरको सम्मान र अधिकार सुनिश्चित गर्नु केवल उनीहरूको व्यक्तिगत हित मात्र होइन, देशको समग्र आर्थिक विकाससँग जोडिएको विषय हो । सरकारले यसतर्फ गम्भीर भएर दीर्घकालीन योजना बनाए मात्र मजदूरहरूको जीवनस्तर सुधार गर्न र देशलाई समृद्ध बनाउन सम्भव हुन्छ ।
नरेश प्रसाद पटेल (वडाध्यक्ष)
फेटा गाउँपालिका–२ वडा नं.२ बारा सम्मानजनक जीवनस्तर कायम हुनु पर्दछ
मजदूरहरूको हकअधिकार अझै पनि व्यवहारमा पूर्ण रूपमा सुरक्षित हुन सकेको छैन । धेरै मजदूरहरू आज पनि नियमित रोजगारीको खोजीमा भौतारिरहेका छन् । काम पाउन कठिन हुनु मात्र होइन, पाइहाले पनि उचित ज्याला र सुरक्षित कार्य वातावरण नहुनु उनीहरूको प्रमुख समस्या बनेको छ । विश्व मजदूर दिवसको अवसरमा सरकारी निकाय र ठूला व्यापारीहरूले यसलाई धेरैजसो औपचारिकता वा प्रदर्शनको रूपमा मात्र मनाएको देखिन्छ । यस्तो दिवसले वास्तविक मजदूरको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन सकेको छैन । अर्कोतर्फ, सामान्य मजदूर वर्गलाई भने मजदूर दिवस के हो भन्ने समेत पर्याप्त जानकारी नभएको अवस्था छ । उनीहरू आफ्नो दैनिक गुजारा चलाउन दिनभर कडा परिश्रम गरिरहेका हुन्छन्, जसले गर्दा यस्ता दिवसहरूको अर्थ र महत्व उनीहरूको जीवनमा पुग्न सक्दैन । धेरैजसो उच्च पदमा रहेका व्यक्तिहरूले आफूलाई प्रतीकात्मक रूपमा मजदूरसँग जोडेर यो दिवस मनाउने गर्छन्, तर वास्तविक श्रमिक भने दिनको एक सय वा दुई सय रुपैयाँ कमाउनका लागि निरन्तर संघर्ष गरिरहेका हुन्छन् । यस्तो न्यून आम्दानीले उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न पनि कठिन हुन्छ ।
सरकारले व्यापारी र उद्योगहरूको लागि विभिन्न नियम, कानुन र सुविधा व्यवस्था गरेको देखिन्छ, तर मजदूर वर्गको सुरक्षाका लागि त्यही स्तरको प्रभावकारी नीति र कार्यान्वयन देखिँदैन । यदि प्रत्येक वडा वा स्थानीय तहमा नै रोजगारी, तालिम र सामाजिक सुरक्षाको व्यवस्था गरिएको भए धेरै मजदूरहरूले कामको खोजीमा बाहिर जानुपर्ने अवस्था आउने थिएन । आजको वास्तविकता हेर्दा धेरै मजदूरहरू आफ्नै देशमा पर्याप्त काम नपाएर विदेशिन बाध्य भएका छन्। त्यहाँ पनि उनीहरूले कम तलबमा कठिन श्रम गर्नुपरेको छ । यस्तो अवस्थामा मजदूर दिवस केवल औपचारिक कार्यक्रम जस्तो मात्र देखिन थालेको छ, जसले वास्तविक श्रमिकको जीवनमा खासै परिवर्तन ल्याउन सकेको छैन । त्यसैले मजदूर दिवस मनाउनुको सट्टा मजदूरको वास्तविक अवस्था सुधार गर्न, उनीहरूको हकअधिकार सुनिश्चित गर्न, उचित ज्याला, सुरक्षित रोजगारी र सम्मानजनक जीवनस्तर कायम गर्नतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।
डा. पुरुषोत्तम दुवे
ज्योतिष सम्राटबलियो कानूनी व्यवस्था आवश्यक छ
अहिले श्रमिकहरू अत्यन्तै कठिन र पीडादायक अवस्थामा जीवनयापन गरिरहेका छन् । बढ्दो महँगीको कारण उनीहरूको दैनिक जीवन झन् जटिल बन्दै गएको छ । आम्दानी कम र खर्च बढी भएको अवस्थाले मजदूर वर्गलाई ठूलो आर्थिक दबाबमा पारेको छ । धेरैजसो मजदूरहरूले आफ्नो श्रमअनुसारको उचित प्रतिफल अझै पाउन सकेका छैनन् । राजनीतिक तहबाट पनि मजदूर वर्गप्रति पर्याप्त ध्यान पुगेको देखिँदैन । विभिन्न नीति र कार्यक्रम भए पनि ती व्यवहारमा प्रभावकारी रूपमा लागू नहुँदा श्रमिकहरूको वास्तविक अवस्था सुधार हुन सकेको छैन । त्यसैले उनीहरूको हक–अधिकार सुनिश्चित गर्न बलियो कानूनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ । नेपाल सरकारले श्रमिकहरूको हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय स्तरका मापदण्डअनुसार कानून निर्माण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जबसम्म यस्तो व्यवस्था व्यवहारमा लागू हुँदैन, तबसम्म श्रमिकहरूले आफ्नो अधिकार पूर्ण रूपमा प्राप्त गर्न सक्दैनन् ।
देशको आर्थिक तथा सामाजिक विकासमा मजदूरहरूको योगदान अत्यन्त महत्वपूर्ण छ । उनीहरूको श्रम बिना कुनै पनि विकास सम्भव छैन । किसानले आफ्नो खेतमा मेहनत नगरे अन्न उत्पादन हुँदैन, र अन्न बिना शहरी जीवन वा अन्य कुनै पनि जीवन प्रणाली चल्न सक्दैन। यसरी हेर्दा किसान र मजदूर दुवै देशको आधारस्तम्भ हुन् । तर दुःखको कुरा, धेरैजसो अवस्थामा यस्ता आधारभूत योगदानलाई पर्याप्त रूपमा सम्मान गरिएको छैन । पढेलेखेका मानिसहरू पनि श्रमको वास्तविक महत्व पूर्ण रूपमा बुझ्न नसकेको देखिन्छ । कतिपय अवस्थामा उनीहरू पनि रोजगारीको खोजीमा विदेश गएर श्रम गर्न बाध्य भएका छन्, जसले देशभित्रको श्रमशक्ति विदेशिने क्रम बढाएको छ । समाजले अझै पनि मजदूरहरूको योगदानलाई उचित सम्मान दिन सकेको छैन । यदि हामीले उनीहरूको श्रम, त्याग र योगदानलाई सम्मान गर्दै उचित नीति, न्यायोचित ज्याला र सुरक्षित रोजगारीको व्यवस्था गर्न सकेमा मात्र देशको समग्र विकास सम्भव हुन्छ ।
ओम कुमारी शर्मा ( सञ्चालक)
आस्था ब्युटीपार्लर, वीरगञ्ज मजदूरहरू शोषणमा परेका छन्
पहिला मजदूरहरूको अवस्था तुलनात्मक रूपमा ठिकै थियो । तर, पछिल्ला वर्षहरूमा डोजरजस्ता मेसिनको व्यापक प्रयोगले धेरै परम्परागत मजदूरहरूको रोजगारी घट्दै गएको छ । यसले देशका बजार, उद्योग र निर्माण क्षेत्र सबैमा नकारात्मक असर पारेको देखिन्छ । काम गर्ने अवसर घट्दै जाँदा धेरै मजदूरहरू देशभित्रै बेरोजगार बन्न पुगेका छन् भने ठूलो संख्यामा युवाहरू विदेशिन बाध्य भएका छन् ।
देशभित्र मजदूरहरूको लागि पर्याप्त रोजगारी र सामाजिक सुरक्षा व्यवस्था नभएको गुनासो पनि बढ्दो छ । पहिले दैनिक रूपमा मजदूर खोज्ने र काम दिने चलन थियो । तर, अहिले त्यो प्रणाली पनि कमजोर बन्दै गएको छ, जसले श्रमिकहरूको नियमित आम्दानीमा असर पारेको छ । आजको अवस्थामा धेरै मजदूरहरू आफ्नो सीप र श्रमको आधारमा होइन, काम माग्नुपर्ने अवस्थामा पुगेका छन् । कहिलेकाहीँ उनीहरूले बजार दरभन्दा पनि कम ज्यालामा काम गर्न बाध्य हुनुपरेको छ । जीवनयापन कठिन बन्दै गएपछि उनीहरू जुनसुकै दरमा भए पनि काम स्वीकार गर्न बाध्य छन् ।
मजदूरहरूले आफ्नो श्रमअनुसारको उचित पारिश्रमिक नपाउने समस्या अझै कायम छ । धेरै क्षेत्रमा सरकारी न्यूनतम ज्याला कार्यान्वयन प्रभावकारी छैन, जसका कारण श्रमिकहरू शोषणमा पर्ने अवस्था देखिन्छ । श्रमिकको हकमा स्पष्ट नियम र कडाइका साथ कार्यान्वयन नहुँदा उनीहरूको अवस्था अझ कमजोर बन्दै गएको छ । जबसम्म मजदूरहरूको अवस्था सुधारिँदैन, रोजगारीको सुरक्षा हुँदैन र उचित ज्याला सुनिश्चित हुँदैन, तबसम्म मजदूर दिवसको वास्तविक अर्थ पनि पूरा भएको मान्न सकिँदैन । त्यसैले सरकारले श्रमिक वर्गका लागि ठोस नीति, रोजगारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्नु आवश्यक छ। यसले मात्र देशको श्रम बजार सुदृढ बनाउन र मजदूरहरूको जीवनस्तर सुधार गर्न मद्दत गर्छ ।
बविता जयसवाल ( अध्यक्ष)
महिला संजाल, बारासमृद्धिमा मजदूरको योगदान महत्वपूर्ण छ
मुलुकको विकास र समृद्धिमा मजदूरहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । श्रम गर्ने वर्ग बिना कुनै पनि उद्योग, व्यवसाय वा निर्माण कार्य सम्भव हुँदैन । त्यसैले मजदूरहरूका लागि सरकारले विशेष प्रोत्साहन र संरक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । तर, व्यवहारमा भने यसतर्फ राज्य पर्याप्त रूपमा संवेदनशील भएको देखिँदैन, जुन एक गम्भीर कमजोरी हो । मजदूरहरूको मनोबल बढाउने किसिमका नीति तथा कार्यक्रमहरूमा सरकारले अझ सक्रिय भूमिका खेल्नुपर्छ । श्रम गर्ने प्रत्येक व्यक्ति सम्मानको हकदार हुन्छ, किनभने श्रम बिना समाज चल्न सक्दैन । दुःखद कुरा के छ भने विभिन्न क्षेत्रमा १५–१६ वर्षका बालबालिकासमेत श्रम शोषणको सिकार भएको देखिन्छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो । यसतर्फ सरकारले कडाइका साथ ध्यान दिन आवश्यक छ ।
शिक्षा र रोजगारीबाट वञ्चित निम्न वर्गीय नागरिकहरू बाध्य भएर श्रम गर्नुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा उनीहरूको आधारभूत अधिकार सुरक्षित गर्नु राज्यको दायित्व हो । यदि श्रमिकहरूको हक–अधिकार सुनिश्चित गरिएन भने श्रमको उचित प्रतिफल प्राप्त हुन सक्दैन र समग्र सामाजिक तथा आर्थिक विकासमा समेत नकारात्मक असर पर्छ । श्रम केवल हातले गर्ने काम मात्र होइन । पढेलेखेका व्यक्तिहरू अफिस, प्रशासन र बौद्धिक क्षेत्रमा गर्ने कार्य पनि एक प्रकारको श्रम नै हो । तर, औद्योगिक, कृषि र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूको श्रम अझ बढी शारीरिक रूपमा कष्टपूर्ण र जोखिमपूर्ण हुन्छ । त्यसैले श्रमको प्रकृति अनुसार यसको वर्गीकरण गरी सबै प्रकारका श्रमिकलाई न्यायोचित सुविधा, सुरक्षा र सम्मान प्रदान गर्नु आवश्यक छ । श्रमिकहरूको योगदानकै कारण देशमा ठूला उद्योग, व्यापार र निर्माण परियोजनाहरू सञ्चालनमा आउन सम्भव भएको हो। उनीहरूको श्रम बिना विकासको गति रोकिन्छ भन्ने कुरा स्पष्ट छ। त्यसैले सरकारले श्रमिकको सम्मान र अधिकार सुनिश्चित गर्ने विषयमा कुनै पनि प्रकारको कन्जुस्याइँ गर्नु हुँदैन। प्रभावकारी नीति निर्माण, उचित कार्यान्वयन र सामाजिक सुरक्षामार्फत मात्र श्रमिकहरूको जीवनस्तर सुधार गर्न र देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ ।