भारतको दिल्ली उच्च अदालतले ‘ककरोच जनता पार्टी’ (सीजेपी) को एक्स (पूर्व ट्विटर) अकाउन्ट तत्काल पुनःस्थापना गर्न आदेश दिन अस्वीकार गरेको छ । अदालतले पार्टीको अकाउन्टमा पोस्ट गरिएका केही सामग्री “अलि आपत्तिजनक” देखिएको टिप्पणी गर्दै अन्तरिम राहत दिन नमानेको हो ।
शुक्रबार भएको सुनुवाइमा अदालतले यस विषयमा सरकार र एक्स प्लेटफर्मको धारणा समेत सुन्न आवश्यक रहेको भन्दै “समग्र रूपमा विचार” गरेपछि मात्रै आदेश जारी गरिने जनाएको छ ।
सीजेपीका संस्थापक अभिजित दिपकेका तर्फबाट अधिवक्ता अखिल सिब्बलले बहस गरेका थिए । उनले केही विवादास्पद पोस्टहरू ब्लक रहे पनि पार्टीको एक्स अकाउन्ट पुनः सञ्चालन गर्न अनुमति दिन अदालतसँग आग्रह गरेका थिए ।
यद्यपि अदालतले तत्काल राहत दिन अस्वीकार गरे पनि दिपकेलाई सामाजिक सञ्जाल अकाउन्ट ब्लक गर्ने सरकारी आदेशको समीक्षा गर्ने केन्द्र सरकारको समितिसमक्ष आफ्नो पक्ष राख्ने अवसर दिएको छ ।
के हो विवाद ?
सुरुमा व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको ‘ककरोच जनता पार्टी’ पछिल्लो समय भारतीय युवामाझ तथा विपक्षी दलहरूमाझ चर्चित बनेको थियो । पार्टीले आफ्नो एक्स अकाउन्ट भारतमा रोक लगाइएको आरोप लगाएको छ ।
संस्थापक अभिजित दिपकेले एक्स अकाउन्ट खोल्दा देखिएको “This account has been withheld in India” भन्ने सन्देशको स्क्रिनसट सार्वजनिक गर्दै “अपेक्षा गरेअनुसार ककरोच जनता पार्टीको अकाउन्ट भारतमा रोकिएको छ” लेखेका थिए ।
पार्टीको सामाजिक सञ्जालमा लोकप्रियता तीव्र रूपमा बढिरहेका बेला यस्तो कदम आएको हो । इन्स्टाग्राममा सीजेपीले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) भन्दा बढी फलोअर्स बनाएको दाबी समेत गरिएको छ ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले केही युवालाई “ककरोच” भनेको टिप्पणीपछि विवाद चुलिएको थियो । त्यसपछि व्यंग्यका रूपमा ‘ककरोच जनता पार्टी’ सुरु गरिएको भए पनि धेरै युवाले उक्त अभियानलाई समर्थन गर्न थालेपछि पार्टीले व्यापक चर्चा पाएको हो ।