झापामा जन्मिएकी साधवी देव कृपाले देशभर नै कर्म घर बनाएकी छिन् । संसारिक सुखलाई भन्दा पनि साधवी सुखलाई प्रिय मानेर साधवीको रुपमा देशभर जोडिएकी हुन् । संघर्ष नै जीवन हो भन्ने उनको बुझाइ छ । सिलिन्डरको हावा किनेर कष्टका साथ लिनुभन्दा बिहान १० मिनेट समयलाई सदुपयोग गरेर श्वास लिने प्रक्रिया सहज बनाउन सबैलाई आग्रह गर्छिन् । विगत लामो समयदेखि योगको अभ्यास गराइरहेकी साधवी देव कृपासँग गरिएको कुराकानी:
तपाईं साधवी बन्नेतर्फ किन लाग्नुभयो ?
संयुक्त परिवार झापामा जन्म भएको हो । विद्यालय जीवन सामान्य तरिकाले नै भयो । क्याम्पसको जीवन स्नातक गर्दागर्दै योगमा जोडिएँ । क्याम्पसको अध्ययन सकेर गुरुकुलको अध्ययन केही समय गरेँ । योगमा जोडिनसाथ योग कार्यलाई नै निरन्तरता दिँदै अगाडी बढाएकी छु । मैले बाहिरी संसार पनि देखेँ । छोरी मानिस आमाको रुप लिनु स्वभाविक हो । एउटा मानिस घट्दैमा संसार रोकिएलाजस्तो लागेन । एउटा छोरी मानिस विवाह गरेर गएमा एउटा घर र केही आफन्तजनलाई सम्हाल्न सक्छ । तर, एउटा साधवीले देशभर जोडिन सक्छ । संसारिक सुःख भन्दा पनि सन्यासी जीवनको सुःख प्रिय लागेको छ ।
जीवन के हो ?
जीवन एउटा संघर्ष हो । बाहिर क्रियाशीलता भित्र स्थिरता हुनु नै जीवन हो । बाहिरको हावा लिन बिहान १० मिनेट सास लिने प्रक्रियामा सदुपयोग गरेमा त्यही हावा लिनलाई धेरै पैसा खर्च गरेर शरीर दुखाउनु पर्दैन । सिलिन्डरमा हावा किनेर कष्टका साथ जीवन विताउनु पर्दैन । हामीसँग पैसा रहन्छ । तर, शरीर जीर्ण अवस्थामा हुन्छ । शरीर रहेमात्र संसार छ भन्ने कुरा बिर्सिरहेका हुन्छौं । ऋषिमुनिले दिएको आयु सय वर्ष हो । हे मनुष्य तिमी सय वर्ष बाँच, सय वर्ष बाँच्यौ भने पनि तिम्रो आँखाले प्रष्ट देखोस्, कानले शास्त्र श्रवण गरोस्, भगवानको नाम उच्चाहरण गरोस्, कहिले पनि दिनहीन भएर बाँच्न नपरोस् । यही सबैको समिश्रण नै वास्तविक जीवन हो ।
साधवी बन्न परिवारको कत्तिको सहयोग पाउनुभयो ?
हरिद्धार जानेआउने क्रम बाक्लै हुन्थ्यो । मैले सन्यास लिन जाने बेलामा घरमा कसैलाई थाहा दिइनँ । सन्यास लिने बेला रामनवमी पर्वमा नै लिनुपर्ने हुन्छ । ८ वर्षअघि रामनवमी उत्सवमा सन्यास लिएको हो । सन्यास लिनुभन्दा अगाडि नै मैले योगसँग जोडिएर आश्रम चलाइरहेकी थिएँ । ब्रम्हाचारी हुँदा गंगाजीमा जनै धारण गरेर सम्पूर्ण विधि गरेर जनै र टुप्पी बगाउनु पथ्र्यो । मैले सन्यास लिएको खबर म आउनुअघि नै घरमा आइसकेको थियो । घरको परिवारलाई सन्यास नलिईदेओस् भन्ने चाहना थियो । अनेक प्रकारको प्रसंग घरमा चलेको थियो । अहिले घरपरिवारको मानिसले बुझिरहेका छन् र खुशी पनि छन् ।
सन्यास लिने र योगी बन्ने सबैमा वैराग्यता आउँछ ?
वैराग्यता त्यो राग हो, जो हामी सबै मनुष्यमा हुनुपर्ने नै वैराग्य हो । वैराग्य आयो भनेमात्र मानिस उच्च कोटीको प्राणी हुन्छ । जसको रागहरू छुट्यो उसलाई बैंक व्यालेन्स गर्न पाए हुन्थ्यो, घर, गाडी भए हुन्थ्यो भन्ने त्यो सबैबाट जोश हट्छ । त्यही नै वैराग्य हो । त्यो भाव ममा पनि अलिअलि आएको थियो । जतिखेर मैले योगको अध्ययन गर्न थालेँ र शास्त्रको अध्ययन गर्न थालेपछि त्यसबाट नै थोरैथोरै वैराग्यता आएको हो । सन्यासी हुने पूर्वजन्मको कर्म नै होला । पढ्दाखेरि साथीहरू थिए । साथीहरू बनाउने र रमाइलो गर्नेतर्फ गएँ । तर विवाहको बारेमा कहिले पनि मभित्र सोच आएन ।
योग गुरु बन्न योगको प्रशिक्षण लिनु पर्छ ?
योग गुरुको शिष्य बन्नका लागि प्रशिक्षण लिनुपर्छ । बिना प्रशिक्षण साधक बनेर पनि योगमा सहभागी हुन सकिन्छ । केही गहिराइमा गएर बुझौं भन्नको लागि शिक्षक प्रशिक्षण तालिम नै लिनुपर्छ । शुरूको प्याकेज एक महिनाको प्रशिक्षण तालिम हुन्छ । त्यसपछि अझ गहिराइमा जान खोजी गर्दै योगको अध्ययन गर्न थालेँ । अझ पनि योगलाई अध्ययन गर्दैछु । मानवको सबै इन्द्रीयहरूले काम गरिरहोस् । बाहिर क्रियाशिलता र भित्र स्थिरता बनिरहोस् । तिमी उच्च कोटीको शिष्य हौ भने तिमी अभ्यास र वैराग्यताबाट मनलाई स्थिर गर । मध्यम कोटीको शिष्य हौं भने क्रिया योग गर । तिमी भर्खर लागेका छौ भने अष्टम योग गर ।
योगाबाट परिवर्तन ल्याउन सकिन्छ ?
योगा ध्यानले धेरै परिवर्तन देखिन्छ । छोटो समयमा नै मनुष्यभित्र एक त रोगलाई निवारण गर्छ । सबैभन्दा ठूलो र कठिन कार्य भनेको स्वभावलाई परिवर्तन गर्नु हो । योगको माध्यमबाट स्वभावलाई परिवर्तन गर्न सकिन्छ । अरूलाई बनाउन सकिन्छ भने आशा जाग्छ । अहिले नेपालमा ७७ जिल्लामा संगठन र ५० हजार अधिक योग शिक्षक छन् । शास्त्र नै एउटा प्रमाण हो । शास्त्र अध्ययन गर्ने हो भने आफू र स्वभावमा परिवर्तन ल्याउन सकिन्छ ।
माया र पे्रम के हो ?
माया प्रेम सबै प्राणीमा हुनुपर्छ । माया गर्नु, तर मोहमा नफस्नु । मोह भनेको अति उसैप्रति राग नहोओस् । प्रदर्शकले पनि भन्छन, जति सुखको अनुभव गर्न खोज्यो राग हो । जति सुखको आकांक्षा गर्छ, अपेक्षा गर्छ, सुःखको अनुभूति गर्छ । त्यो पाएन भने उसलाई त्योभन्दा बढी दःुख हुन्छ । उसले साचेको चिज पाएन भने उप्रति घृणा र द्वेष पैदा हुन्छ । त्यसैले सीमितमात्र अपेक्षा राख्नु पर्छ । मन हो, स्थिर भयो भने त्यो सम्भव भएर जान्छ । मानिसलाई मुक्त गराउने पनि मन हो । त्यागपूर्वक हामीले कुनै पनि वस्तु छोड्न सक्नुपर्छ । मन नै राम हो, मन नै रावण हो ।
त्याग भनेको के हो ?
त्याग भनेको समर्पण हो । त्याग सबैमा हुनुपर्छ । त्याग आफूले आफूलाई बुझ्न सकेपछिमात्र हुन्छ । जो सुखको पछि दौडिरहन्छ, त्यो त्याग होइन । जसले आफूलाई चाहिनेभन्दा अधिक खोज्छ, त्यो त्याग होइन । जसले मलाई यति भए हुन्छ, जति प्राप्त छ त्यतिमा नै मनलाई बुझाउँछ, त्यही नै त्याग हो । सबै छोड्नु पर्छ भन्ने पनि हँुदैन ।
मानिसमा बुझ्ने क्षमता कसरी प्राप्त हुन्छ ?
एक पटक आफूलाई नै बुझ्नु जरुरी छ । आफूलाई बुझ्न र गहिराइमा जान धेरै गाह्रो छ । त्यसको लागि योगमा जोडिनु नै सबैभन्दा उत्तम उपाय हो । जसले श्वासको गतिलाई हेर्न सक्छ, उसले आफूभित्रको बौद्धिकतालाई बढाउन सक्छ । आफूभित्रको विचारलाई साकारात्मक विचार बनाउँछ र नकारात्मक विचार घटाउँछ ।