डा. सुनिलप्रसाद जयसवाल जेनरल तथा ल्याप्रोस्कोपिक सर्जन हुन् । विगत १२ वर्षदेखि चिकित्सा क्षेत्रमा नेपालको विकट पहाडी भेगमा पुगेर विभिन्न अनुभव बटुलिसकेका डा. जयसवालले बंगलादेशबाट एमबिबीएस र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी गरेका हुन् । विगत ३ वर्षदेखि वीरगञ्जको नारायणी अस्पताल र शान्ति पोलिक्लिनिकबाट सेवा दिँदैआएका उनीसँग मध्य नेपालले गरेको कुराकानी :
सर्जनले कुनकुन क्षेत्रमा उपचार गर्न सक्छ ?
सर्जनको काम अप्रेशन गर्नु हो । औषधीबाट उपचार गर्न नसकिने रोगलाई हेर्ने काम सर्जनको हो । औषधीले पूर्णरुपमा ठिक गर्न नसकिने रोगहरूको समस्या पहिचान गर्ने र उपचार गर्ने काम सर्जनले गर्दछ । औषधीको उपचारपछि पनि ठिक नहुने रोगहरू अप्रेशन गरेर निकाल्ने गर्दछन् । जेनरल तथा ल्याप्रोस्कापी सर्जनले गर्ने उपचार विशेषतः आन्द्रासम्बन्धी अप्रेशन हो । आन्द्रा फुटेको, आन्द्रा बटारिएको, आन्द्रामा मासु पलाएको, एपेन्डिक्साइटिस्को अप्रेशन, हर्निया, हाइड्रोशिलको अप्रेशन पनि गर्दछन् । छातीमा कुनै गाँठो र क्यान्सरहरू र शरीरमा भएको दीर्घकालीन निको नभएको घाउहरू अप्रेशनबाट उपचार गरिन्छ । पित्तथैली तथा मृगौलामा हुने पत्थरीको रोग र कारण पत्ता लगाएर शुरूमा औषधीबाट निको पार्ने प्रयास गर्छौं । औषधीले निको नभए दुरबिन (ल्याप्रोस्कोपी) वा अन्य प्रक्रियाबाट मृगौला, मुत्रनली, पिसाबथैली, पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गरिन्छ । सर्जनले दीर्घकालीन ग्यास्ट्रिकका बिरामीहरूको एन्डोस्कोपी गरी ग्यास्ट्रिक तथा खानपिनपछिको गढबढीको उपचार गर्न सक्छ । खाना नली, पेटको आन्द्रामा अड्किएको सिक्का, ढुङ्गाजस्ता बस्तुहरू बिनाअप्रेशन निकाल्न मद्दत गर्दछ ।
पत्थरी के कारणले हुन्छ ?
हाम्रो शरीरमा दुई सिष्टममा पत्थरी हुन सक्छ । मृगौल वा मुत्रनली र पित्तथैली, पित्तको नलीमा बढी हुन सक्छ । मृगौलामा पत्थरी हुनुको मुख्य कारण नै पानीको कमी हो । मृगौलाको काम शरीरमा भएको अनावश्यक तत्वहरू र बढी भएको पानीलाई फिल्टर गरेर पिसाबको बाटोबाट बाहिर निकाल्नु हो । पानी नै कम पियौं र शरीरमा चाहिने पानीको बहाव चाहिने जति भएन भने पत्थरको कणहरू जम्मा हुने, त्यसमा इन्फेक्सन, इकोलाईजस्ता ब्याक्टेरियाहरू जम्मा हुने र लामोसम्म थपिदै जाँदा गएर पत्थरी हुन्छ । त्यो पत्थरी शुरूमा मृगौलामा बन्छ । मृगौलाबाट केही केही पत्थरीहरू पिसाबको नलीमा आएर अड्किन्छ । केहीकेही पत्थरीहरू पिसाबको नलीको तल पिसाबको थैलीमा पनि जम्मा हुन्छ । शरीरमा खानपिनको गढबढ हुदाँ सोडियम, क्याल्सियमजस्ता तत्वहरू धेरै खाएमा र रातो मासु धेरै खाएमा पनि पत्थरी हुन सक्छ । शारीरिक व्यायामको कमी र शरीरमा युरिक एसिड बढी भएमा पनि पत्थरी बन्न सक्छ । पित्तको थैलीको काम पित्त जम्मा गरेर बस्ने हो । पित्त र कोलेस्टोन मिलेर पित्तको थैली बनेको हुन्छ । शरीरमा कोलेस्टोनको मात्रा बढी भए र पित्तको मात्रा कम भएमा पत्थरी बन्छ । कोलेस्टोन बढी हुनुको कारण मोटोपन, शारीरिक व्यायम कम गर्नु, खानामा चिल्लो पदार्थ बढी खानु, गर्भनिरोधक औषधीहरूको कारणले पनि पित्तको थैलीको पत्थरी बनिरहेको हुन्छ । धेरै समयसम्म खाली पेट बस्नुले पनि पत्थरी बनिरहेको हुन्छ । धेरै समयसम्म मादक पदार्थ सेवन गर्ने मानिसको लिभर खराब भइसकेको छ भने पनि पत्थरी बन्न सक्छ । मधुमेह लामो समयदेखि भइरहेको छ भने पनि त्यसको कारणले पत्थरी हुन सक्छ ।
पत्थरीका लक्षणहरू कस्ता हुन्छन् ?
पित्तको थैलीमा पत्थरी भएमा ८० प्रतिशतसम्म बिरामीहरूमा कुनै पनि लक्षण देखिँदैन । २० प्रतिशतमा मात्र लक्षण देखिन्छ । २० प्रतिशतमा पनि कहिलेकाहीँ दाहिनेपट्टिको माथिल्लो भागको पेट दुख्छ । ग्याँस धेरै बनेकोजस्तो हुन्छ । डकार धेरै आउने, खाना नपच्ने र खाना खानेबित्तिकै पेट फुलेकोजस्तो हुन्छ । पित्तको पत्थरी पित्तको नलीमा गएर अड्किएको छ भने पेट धेरै दुख्ने र वान्ता हुन्छ ।
पत्थरी भए नभएको कसरी पत्ता लगाउन सकिन्छ ?
कुनै पनि व्यक्तिले वर्षमा दुई पटक कुनै चिकित्सकलाई भेटेर समस्याहरू राख्न जरुरी हुन्छ । शरीर पनि चौबिसै घण्टा चलेको हुन्छ । सबै अंगहरू ठिक छ वा छैनन् भनेर यकिन गर्नलाई चिकित्सककहाँ जाँच गर्न जरुरी हुन्छ । पत्थरीको लक्षण भएमा साधरण भिडियो एक्सरेबाट पत्थरी भए नभएको पत्ता लगाउन सकिन्छ । पेटको अल्ट्रासाउण्ड गराएमा पेट, लिभर, मृगौला, आन्द्रा, पाठेघर, पिसाबथैली सबैमा हुने समस्याबारे पत्ता लगाउन सकिन्छ ।
पत्थरीको अप्रेशन कुन प्रविधिबाट गर्न उपयुक्त हुन्छ ?
मृगौलाको पत्थरीमा १० एमएमभन्दा सानो पत्थरी छ भने समयमा जाँच गराए औषधीले गलाएर पिसाबको बाटोबाट निकाल्न सकिन्छ । १० एमएमभन्दा बढी, अड्किएको र कडा खालको पत्थरी छ भने अप्रेशन नै गर्नुपर्छ । त्यो अप्रेशन दुरबिन प्रविधिबाट नै गर्नुपर्छ । पित्तथैलीमा पत्थरी छ भने १० प्रतिशतमात्र औषधीले निस्किन सक्छ । मृगौलामा भएको पत्थरी ५० प्रतिशत औषधीले निको पार्न सकिन्छ । पित्तथैलीमा ३ खालको पत्थरी हुन्छ । कोलेस्ट्रोल पत्थरी, पिगमेन स्टोन र रगत टुक्रिएर बन्ने स्टोन हुन्छ । शुद्ध कोलस्टोनमात्र औषधीले गलाउन सकिने हुन्छ । तर, यो पनि १० प्रतिशतमात्र गलेर निस्कन्छ । ९० प्रतिशत पित्तको पत्थरीमा बारम्बार पेट दुखिरहेको छ । लक्षणहरू देखिएको छ भने अप्रेशन नै गर्नु राम्रो हुन्छ । पेट चिरेर गर्ने र दुरबिन प्रविधि दुवैमा पित्तथैली निकाल्नु पर्छ । मृगौलामा पत्थरी छ भने पत्थरीमात्र निकाल्दा हुन्छ । पित्तको थैलीमा पत्थरी छ भने पित्तको थैली नै निकाल्नु पर्छ । पित्तको थैली ननिकालेर पत्थरीमात्र निकालेमा पटकपटक पत्थरी हुन सक्छ । पटकपटक अप्रेशन गर्न मिल्दैन । चिरेर अप्रेशन गर्दा पूरा पत्थरी निस्कन्छ । मेसिनले निकाल्दा छुट्ने डर हुन्छ भन्ने जनमानसमा भ्रम छ । चिरेर निकाल्दा र दुरबिन प्रविधिबाट निकाल्दा पित्तथैली पुरै निकालिन्छ । जसले गर्दा कुनै पनि पत्थरीको अंश शरीरमा रहँदैन ।
पित्तको थैली निकालेपछि शरीरमा समस्या आउँछ भनिन्छ नि ?
पित्तको काम हामीले खाएको खानाको चिल्लो पदार्थलाई पचाउने काम हो । चिल्लो पदार्थबाहेक अन्य खाना पचाउनमा पित्तको कुनै भूमिका हुँदैन । पित्त बन्ने कलेजोमा हो । बनेको पित्त जम्मा हुने पित्तथैलीमा हो । आवश्यक परेको बेलामा आन्द्रामा गएर चिल्लो पदार्थ पचाउने काम गर्छ । अप्रेशन गर्दा कलेजो र आन्द्राको नलीलाई केही गर्दैनौं । पित्तको भण्डार हुने थैलीमात्र निकाल्छौं । पित्तथैली निकाल्दैमा खाना पचाउन कुनै समस्या हँुदैन । पित्तको थैलीको पत्थरी हुने कारण कोलस्टोन बढी भएर हो । कोलस्टोन बढी भएको मानिसले अमिलो, पिरो र चिल्लो बार्नु पर्छ । १ प्रतिशत मानिसहरूलाई डाइरीया हुन सक्छ । अप्रेशन गरेको दुई÷तीन महिनापछि औषधी गरेर निको हुन्छ । पित्तथैलीको अप्रेशन गरेर लामो समयसम्म जटिलता हँुदैन ।
पित्तथैलीको पत्थरीको उपचार ढिलो गर्दा कस्तो जतिलता आउन सक्छ ?
पित्तको थैलीमा पत्थरी छ र हामीले अप्रेशन गरेनौं भने पत्थरीको साइज बढ्दै जान्छ । पित्तथैलीको पत्थरी गएर पित्तको नलीमा गएर अड्किन्छ । जण्डिस हुने, वान्ता हुने र खाना खान नसक्ने समस्या हुन्छ । नलीमा पत्थरी गएर अड्कियो भने दुरबिनबाट अप्रेशन हुँदैन । इआरसीपी जाँच मुखबाट पाइप राखेर इन्डोस्कोपी गरेर पत्थरी निकाल्नु पर्छ वा पेट चिरेर निकाल्नु पर्छ । कहिलेकाहीँ आन्द्रामा गएर पत्थर अड्किन सक्छ । आन्द्राबाट दिसा र हावा पास नहुने हुन सक्छ । यस्तो समयमा इमरजेन्सीमा पेट चिरेर अप्रशन गर्नुपर्ने हुन सक्छ । कहिलेकाँही पित्तथैलीमा बल्क गरेर पित्तथैलीमा पिप बन्ने गर्दछ । ब्लड र शरीरमा नै संक्रमण फैलिने हुन सक्छ । पित्तको थैलीको पत्थरी धेरै दिनसम्म भइरहेमा पित्तको थैलीको क्यान्सर हुन सक्छ । पित्तको थैलीको क्यान्सर धेरै छिटो फैलिन्छ । पित्तको थैलीको क्यान्सर फैलिनुअगाडि नै अप्रेशन गरेमा बाँच्ने सम्भावना हुन्छ । पित्तको थैलीको क्यान्सर फैलिएमा बाँच्ने सम्भावना कम हुन्छ ।
सरकारी अस्पतालमा सर्जरी सेवा बिमामा समावेश गरिएको छ कि छैन ?
सरकारी अस्पतालमा सर्जनका सेवाहरू उपलब्ध छन् । अहिले अप्रेशन दुरबिनबाट गरिरहेका छौं । जति बिरामीको चाप छ, त्यो अनुसार मेसिन र दक्ष जनशक्ति उपलब्ध छैन । आफ्नोतर्फबाट धेरैभन्दा धेरै सेवा दिने कोशिस गरिरहेका छौं । नेपाल सरकारले नारायणी अस्पतालमा ५ सय बेड बनाउने बाचा गरेको थियो । त्यो बाचाअनुरुप काम भएमा धेरै बिरामीहरूलाई सेवा दिन सक्छौं । सरकारले चिकित्सकहरूलाई पर्याप्त तलबको व्यवस्था गरेमा चिकित्सकहरूको मनोबल उच्च हुने थियो र पलायनको समस्या पनि कम हुन्छ ।