नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भवन निर्माणस्थलमा शिलान्यास गरेका हुन् । गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा भवन निर्माण औपचारिक रूपमा सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री महतोले महासंघको प्रादेशिक कार्यालयलाई सुविधासम्पन्न भवनका रूपमा विकास गरिने प्रतिबद्धता जनाए । उनले महासंघका पदाधिकारी, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरी आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूको सपना साकार पार्ने अभियान सुरु भएको बताए । उनले नेपालमै पहिलोपटक मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसलाई पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे ।
उनका अनुसार निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार भवन निर्माण अघि बढाइएको हो र छिट्टै आधुनिक तथा सुविधासम्पन्न संरचना तयार हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज राजेश कर्ण, आमसञ्चार प्राधिकरणका जितेन्द्र सिंह खड्का, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा लगायत सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
महासंघका अनुसार प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको छ । कार्यक्रमको सहजीकरण महासचिव शैलेन्द्र महतोले गरेका थिए ।