“समयमै परीक्षण गरौँ, नसर्ने रोगबाट बचौँ” भन्ने नारासहित नारायणी अस्पताल वीरगञ्जले नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम मंगलबारदेखि सुरु गरेको छ ।
अस्पतालको मेडिसिन विभाग अन्तर्गत सञ्चालन गरिएको उक्त एकमहिने कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोगको स्क्रिनिङ, शरीरको तौल अनुपात मापन तथा स्वास्थ्य परामर्श सेवा निःशुल्क रूपमा प्रदान गरिने नारायणी अस्पतालकी नर्सिङ प्रमुख श्रुति साहले जानकारी दिइन् ।
उनका अनुसार अस्पतालमा आउने लक्षित सेवाग्राहीहरूलाई एक महिनासम्म स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइनेछ । साथै, परीक्षणका क्रममा उच्च जोखिममा रहेका बिरामीहरूको विशेषज्ञ चिकित्सकमार्फत थप उपचार व्यवस्थापनसमेत गरिनेछ ।
कार्यक्रम शुभारम्भ कार्यक्रममा नारायणी अस्पतालका डा. अरुण कुमार कर्ण, डा. जेपी जयस्वाल, ओसीएमसी शाखा प्रमुख हेमा थापा मानन्धर, अन्जना श्रेष्ठ, दीपक यादव, राजीव चौरसिया, सन्तोष कुमार गुप्ता लगायत स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
त्यस्तै, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र दीपक चौरसियाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
अस्पताल परिसरमै निःशुल्क रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएकोमा सेवाग्राहीहरूले खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम वर्षभरि नै सञ्चालन गर्न आग्रह गरेका छन् ।