नेपाली साहित्य केवल नेपालको भूगोलभित्र सीमित छैन । यो संसारका विभिन्न कुनामा फैलिएका नेपाली मनहरूसँगै यात्रा गरिरहेको जीवित सांस्कृतिक चेतना हो । समय, परिस्थिति र आवश्यकताअनुसार नेपालीहरू विश्वका विभिन्न देशमा पुगेसँगै नेपाली साहित्यले पनि आफ्नो स्वरूप विस्तार गर्दै गएको छ । त्यसैले आज नेपाली साहित्यको चर्चा गर्दा स्वदेशभित्र सिर्जना भएको साहित्य मात्र होइन, प्रवासमा लेखिएको नेपाली साहित्य र त्यसले बोकेको प्रवासी चेतनालाई पनि सँगसँगै अध्ययन गर्न आवश्यक देखिन्छ ।
नेपालीहरूको परदेश यात्रा नयाँ विषय होइन । इतिहासको पाना पल्टाउँदा विशेषतः भारतसँग नेपालीहरूको गहिरो सम्बन्ध देखिन्छ । सुगौली सन्धिपछि नेपालीहरू भारतीय तथा ब्रिटिस सेनामा भर्ती हुन थाले र त्यहीँबाट नेपालीहरूको संगठित प्रवास जीवनको शुरूवात भएको मानिन्छ । त्यसपछि रोजगारी, व्यापार, अध्ययन तथा विभिन्न अवसरहरूको खोजीमा नेपालीहरू विश्वका अनेक देशहरूमा फैलिँदै गए । आज अरब, जापान, कतार, अष्ट्रेलियालगायत विश्वका थुप्रै मुलुकमा नेपाली समुदाय स्थापित भइसकेको छ । नेपाली जहाँ पुगे पनि आफ्नो भाषा, संस्कार, संस्कृति र साहित्यलाई साथमै लिएर पुगेका छन् ।
देशभित्रको नेपाली साहित्यले मुख्यतः नेपाली समाजको यथार्थ, राजनीतिक परिवर्तन, सामाजिक संरचना, ग्रामीण जीवन, प्रेम, संघर्ष, असमानता र सांस्कृतिक पक्षलाई अभिव्यक्त गर्दै आएको छ । स्वदेशको माटो, गाउँघरको परिवेश, जनजीवनका अनुभूति तथा सामाजिक परिवर्तनका कथा नेपाली साहित्यका मूल आधार बनेका छन् । तर, जब नेपालीहरू आफ्नो जन्मभूमिबाट टाढा पुग्न थाले साहित्यमा अर्को अनुभूतिको जन्म भयो– त्यो हो प्रवासी चेतना । प्रवासी चेतना भन्नाले आफ्नो देश, भाषा, संस्कृति र पहिचानप्रतिको भावनात्मक सम्बन्धलाई जनाउँछ, जुन परदेशमा पुगेपछि अझ गहिरो रूपमा अनुभूत हुन्छ । यही चेतनाले जन्माएको साहित्यलाई आज डायस्पोरिक नेपाली साहित्यका रूपमा चिनिन्छ । प्रवासी साहित्यमा मातृभूमिप्रतिको माया, घरपरिवारसँगको दूरी, एक्लोपन, संघर्ष, श्रमको पीडा, सांस्कृतिक द्वन्द्व, नयाँ समाजमा घुलमिल हुनुपर्ने बाध्यता तथा पहिचानको खोजजस्ता विषयहरू प्रमुख रूपमा अभिव्यक्त हुन्छन् ।
देशभित्रको साहित्य र प्रवासी साहित्यबीच विषयगत भिन्नता भए पनि दुवैको आत्मा नेपालीपन नै हो । स्वदेशमा बसेर लेखिएको साहित्यले आफ्नै समाजको प्रत्यक्ष यथार्थ प्रस्तुत गर्छ भने प्रवासमा सिर्जना भएको साहित्यले स्मृति र अनुभूतिको माध्यमबाट मातृभूमिलाई पुनः सिर्जना गर्छ । त्यसैले प्रवासी साहित्य केवल बिछोडको साहित्यमात्र होइन, त्यो नेपाली अस्तित्वको विश्वव्यापी अभिव्यक्ति पनि हो । प्रवासी नेपाली साहित्यले नेपाली भाषाको विस्तारमा ठूलो योगदान पु¥याएको छ । विश्वका विभिन्न देशहरूमा नेपाली भाषामा कविता, कथा, निबन्ध, संस्मरण, गीत तथा समालोचनात्मक कृतिहरू लेखिँदै आएका छन् । नेपाली साहित्यलाई विश्वव्यापी बनाउने काममा प्रवासी स्रष्टाहरूको भूमिका उल्लेखनीय छ । विभिन्न साहित्यिक संस्था तथा संगठनहरूले पनि यस कार्यलाई सशक्त रूपमा अगाडि बढाइरहेका छन् । साहित्यिक चौतारी नेपाल, विश्व नेपाली साहित्य महासंघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलगायतका संस्थाहरूले विश्वभर छरिएका नेपाली साहित्यकारहरूलाई एउटै साझा मञ्चमा जोड्ने कार्य गरिरहेका छन् ।
डायस्पोरिक साहित्यको अर्को महत्वपूर्ण पक्ष भनेको सांस्कृतिक संरक्षण हो । प्रवासमा जन्मिएका नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोडिराख्न साहित्यले सेतुको काम गरेको छ । यही कारण विदेशमा नेपाली भाषा कक्षा, साहित्यिक गोष्ठी, काव्यवाचन, कृति विमोचन तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । यसले नेपाली पहिचानलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि प्रवासी साहित्यका केही चुनौतीहरू पनि छन् । भाषा प्रयोगमा मिश्रण, मातृभाषासँगको दूरी, दोस्रो पुस्तामा नेपाली भाषाप्रतिको घट्दो आकर्षण तथा प्रवासको व्यस्त जीवनले साहित्यिक निरन्तरतामा असर पु¥याउने गरेको देखिन्छ । त्यसैगरी कतिपय अवस्थामा प्रवासी साहित्य अत्यधिक भावुकतामा सीमित हुने वा केवल सम्झनामा केन्द्रित हुने आलोचना पनि सुनिन्छ । तर, समयसँगै प्रवासी नेपाली साहित्यले आफूलाई परिपक्व बनाउँदै सामाजिक, राजनीतिक, सांस्कृतिक तथा विश्वव्यापी मुद्दाहरूलाई समेत समेट्न थालेको छ ।
सूचना प्रविधिको विकासले प्रवासी साहित्यलाई अझ सशक्त बनाएको छ । एक समय हुलाकमार्फत आउने चिट्ठी, साहित्यिक पत्रिका र सीमित गोष्ठीहरूमा सीमित रहने साहित्य आज सामाजिक सञ्जाल, अनलाइन पत्रिका र डिजिटल प्लेटफर्ममार्फत विश्वभर एकैसाथ फैलिन थालेको छ । यसले नेपाली साहित्यलाई विश्वव्यापी पहुँच दिलाएको छ । तर, यसको अर्को पक्ष पनि छ–डिजिटल सहजताले साहित्यमा गहिराइभन्दा तात्कालिकताको प्रभाव बढाएको चिन्ता पनि व्यक्त हुन थालेको छ । आज नेपाली साहित्यको भविष्यलाई हेर्दा देशभित्र र देशबाहिरको साहित्यलाई अलग गरेर होइन, एउटै साझा सांस्कृतिक धरोहरका रूपमा बुझ्न आवश्यक छ । प्रवासी साहित्य नेपाली समाजको विस्तारित स्वरूप हो । यसले नेपालीपनलाई सीमाभन्दा बाहिर पनि जीवित राखेको छ । नेपाली साहित्य अब केवल नेपालको भूगोलभित्र सीमित साहित्य होइन, यो विश्वभर छरिएको नेपाली आत्माको साझा अभिव्यक्ति बनिसकेको छ ।
यसैले नेपाली साहित्य र प्रवासी चेतनाको अध्ययन आजको आवश्यकता मात्र होइन, भविष्यका लागि सांस्कृतिक दस्तावेज निर्माण गर्ने महत्वपूर्ण कार्य पनि हो । जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ नेपाली भाषा, साहित्य र संस्कृतिको धड्कन जीवित छ । यही जीवन्त धड्कन नै नेपाली साहित्यको विश्वव्यापी शक्ति हो ।