दुई दिनको उच्च वृद्धिपछि शेयर बजारले गत बिहीबारको नकारात्मक सर्किटको क्षति केही हदसम्म पूर्ति गरेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेको छ।
गत आइतबार नेप्से १११.७० अंकले बढेको थियो भने गत बिहीबार भने बजारमा नकारात्मक सर्किट लागेर परिसूचक १६०.३३ अंकले घटेको थियो।
तर, मंगलबार कारोबार रकम भने घटेको देखिएको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा मंगलबार कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।
८ स्टकमा सकारात्मक सर्किट
यस दिन ८ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ती कम्पनीहरूमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनी छन्। यी सबैको शेयर १० प्रतिशतले बढ्यो।
यस दिन सबैभन्दा धेरै घटेको प्रभु स्मार्ट फण्ड हो, जसको मूल्य ४.३० प्रतिशतले ओरालो लागेको छ।
सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा
कारोबार रकमका आधारमा मंगलबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
त्यस्तै, यूनिभर्सल पावर कम्पनीको करिब साढे १८ करोड रुपैयाँ र हिमालयन डिष्टिलरीको कारोबार रकम १८ करोड नाघेको छ।
सबै समूहमा वृद्धि
यस दिन सबै समूहको सूचक हरियोमा बन्द भएका छन्। विशेषगरी निर्जीवन बीमा समूहको सूचक ३.४८ प्रतिशतले बढ्दै उच्च विन्दुमा पुगेको छ। त्यस्तै, जलविद्युत उपसमूहको सूचक पनि ३ प्रतिशतभन्दा बढीले बढेको छ।