प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा देखिएको सिँचाइ र खानेपानीको समस्या समाधान गर्न तत्काल पाँच सय वटा डिप बोरिङ जडान गरिने घोषणा गरेका छन्।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा विग्ही नदीमाथिको पुल र वडा नम्बर ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मधेसका विभिन्न स्थानमा तत्काल पाँच सय डिप बोरिङ जडान गरिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले हवाई निरीक्षणका क्रममा मधेस प्रदेशका अधिकांश भूभाग सुक्खा अवस्थामा रहेको देखिएको जानकारी दिँदै आठवटै जिल्लामा सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गरेर यथाशीघ्र समाधान गरिने बताए।
उनले सप्तरी जिल्लामा कोशी नदी नजिक भएकाले सुक्खाको समस्या कम रहेको जनाउँदै बाँकी सात जिल्लामा पानीको अभाव गम्भीर रहेको उल्लेख गरे। सरकारले मधेस प्रदेशलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिसकेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रभावित किसान र जनताका लागि विशेष कार्यक्रम ल्याइने जानकारी दिए।
“दीर्घकालीन र तत्कालीन दुवै उपाय अपनाइनेछ,” प्रधानमन्त्री ओलीले भने, “चुरे क्षेत्रमा ताल, तलैया र पोखरी निर्माण गरी पानी रिचार्ज गरेर जमिन सुक्न नदिने दीर्घकालीन योजना बनाइनेछ। तत्कालका लागि पाँच सय डिप बोरिङ जडान गरिनेछ।”
प्रधानमन्त्री ओलीले सर्लाही र महोत्तरी जिल्लाका सुक्खा खेत तथा पानी सुकेका पोखरीहरूको अवलोकन गरेको जानकारी दिँदै सबै सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी समस्या समाधानमा जुट्ने प्रतिबद्धता जनाए। उनले मधेसको सुक्खा समस्या समाधानमा सरकार दृढ रहेको र सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले शिक्षाको महत्त्वमाथि पनि जोड दिए। उनले भने, “जहाँ शिक्षा छ, त्यहाँ समृद्धि छ; जहाँ शिक्षा छैन, त्यहाँ गरिबी र अभाव छ।”
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अभिभावकहरूलाई छोराछोरीबीच भेदभाव नगरी विद्यालय पठाउन र शिक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।