साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार परिसूचक नेप्से २.६४ अंकले बढेर २ हजार ६५५ अंकमा कायम भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १५८ वटाको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
दिनभर बजारमा उतारचढाव न्यून देखिएको थियो । दिउँसो १ बजेर ७ मिनेटमा नेप्से अधिकतम २ हजार ६६१ अंकसम्म पुगेको थियो । तर, कारोबार रकम भने थप घटेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ ।
समूहगत सूचकतर्फ अन्य समूहबाहेक सबै समूहमा वृद्धि भएको छ । बैंकिङ ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५, लगानी ०.२३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेका छन् । अन्य समूह भने ०.८८ प्रतिशतले घटेको छ ।
शुक्रबार क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशतले बढेको छ । बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८ र माउन्ट एभरेस्ट पावरको २.९० प्रतिशतले मूल्य बढेको छ ।
त्यस्तै, घोराही सिमेन्टको सेयर मूल्य ४.४३ प्रतिशत, नेपाल पुनर्बीमाको ३.७०, कालिन्चोक दर्शनको २.७० र गुराँस लघुवित्तको २.६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शुक्रबार घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः श्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर र शिवम् सिमेन्ट अगाडि रहेका छन् ।