मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिने भएको छ । नेकपाका चार मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।
नेकपाका एक सांसदका अनुसार केहीबेरअघि पार्टी संसदीय दलको भर्चुअल बैठक बसेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
निर्णयसँगै नेकपाका चार मन्त्रीले केहीबेरमै मधेश प्रदेश सरकारसमक्ष राजीनामा पत्र बुझाउने तयारी गरेका छन् ।
मधेश प्रदेश सरकारमा नेकपाबाट संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा सहभागी छन् ।
गत असोज ३० गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको थियो । त्यसयता नेकपाले नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको थियो ।
मधेश प्रदेश सरकारले अब विश्वासको मत लिन आठ दिन मात्र बाँकी छ । यसैबीच एमालेले जसपा नेपाल र नेकपासहितको नयाँ सत्ता समीकरण बनेको दाबी गरेको छ ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै केन्द्रमा तीन दलका शीर्ष नेताबीच नयाँ समीकरण बनेको बताएका थिए । तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने सामाजिक सञ्जालमार्फत उक्त दाबीको खण्डन गरेका छन् । यद्यपि जसपाभित्र पनि नयाँ सत्ता समीकरण बनेको चर्चा भइरहेको छ ।