भारत र पाकिस्तानबीचको सीमा तनाव चुलिँदै जाँदा यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकी खेल अस्थायी रूपमा स्थगित गरिएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को शीर्ष तहको बैठकपछि यस्तो निर्णय गरिएको हो भन्ने क्रिकबजले जनाएको छ।
विश्वकै चर्चित क्रिकेट लिगको बाँकी भाग सञ्चालन गर्नका लागि भेन्यु (स्थल) परिवर्तनजस्ता विविध विकल्पमाथि छलफल भए पनि अन्ततः सबै सरोकारवालाको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गर्ने निर्णयमा बीसीसीआई पुगेको बताइएको छ। यद्यपि यसको औपचारिक घोषणा भने अझै हुन बाँकी छ। तर, फ्रेन्चाइज तथा अन्य सरोकारवाला पक्षलाई सूचना पठाइसकिएको बुझिएको छ।
यो घटनाक्रम वैशाख २५ गते (मे ८) धर्मशालामा भएको पंजाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल स्थगन भएसँगै उत्पन्न परिस्थितिपछि आएको हो। हाल विदेशबाट आएका खेलाडीहरूमा समेत चासो र चिन्ता बढेको जनाइएको छ।
सबैभन्दा ठूलो चुनौती अहिले आईपीएलमा संलग्न खेलाडी, टिम, ब्रडकास्ट स्टाफ तथा अन्य कर्मचारीहरूलाई सुरक्षित रूपमा धर्मशालाबाट नयाँ दिल्ली लैजाने रहेको छ। यसका लागि कडा गोपनीयतामा ध्यान दिइएको छ। सहभागीहरूलाई होटलबाट बसमा चढ्न भनिएको छ, तर कुन स्थानबाट रेल चढाइने हो भन्ने जानकारी दिइएको छैन। समाचार तयार पार्दासम्म उनीहरू गन्तव्य थाहा नपाउँदै बसमा रहेका छन्।
आईपीएल अध्यक्ष अरुण धूमलले यस विषयमा थप निर्णय सरकारसँगको परामर्शपछि हुने बताएका छन्। “हामी परिस्थिति अनुगमन गरिरहेका छौं। यो लगातार परिवर्तन भइरहेकाे छ, र अहिलेसम्म सरकारले कुनै निर्देशन दिएको छैन। सबै निर्णय लगिस्टिक पक्ष र सरोकारवालाको हितलाई ध्यानमा राखेर हुनेछ,” धूमलले भनेका छन्।