नेपाल पुनर्बिमा कम्पनीले आफ्नो दायित्वको भुक्तानी पनि नगर्ने आशयको पत्र पठाएपछि बिमा प्राधिकरणले उक्त निर्णय सच्याएर भुक्तानी गर्न दिन नै तोकेको हो ।
कोरोना बिमामा आफ्नो दायित्वबापतको रकम एक साताभित्र भुक्तानी गर्न बिमा प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीलाई निर्देशन दिएको छ । नेपाल पुनर्बिमा कम्पनीबाट सोमबार कोरोना बिमाको पैसा भुक्तानी नगर्ने आशयको पत्र आएपछि मंगलबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
‘बिमा ऐनको दफा १२४ मा पुनर्बिमा कम्पनीको दाबी फर्छ्योटसम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थाअनुसार पुनर्बिमा गरिसकेपछि कम्पनीले दाबी फर्छ्योट गर्दिनँ भन्न पाउँदैन,’ बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘नेपाल पुनर्बिमा कम्पनीबाट कोरोना बिमा मापदण्ड देखाएर आफ्नो भागको दायित्व पनि भुक्तानी नगर्ने आशयको पत्र प्राप्त भएकाले उक्त निर्णय सच्याएर एक साताभित्र तोकिएको रकम तिर्न निर्देशन दिएका छौं ।’ तोकिएको मितिमा पैसा नतिरे पुनर्बिमा कम्पनीलाई कारबाही गरिने उनले बताए ।
कोरोना बिमामा आफ्नो दायित्वबापतको रकम भुक्तानी गर्न गत साता बिमा प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीलाई भनेको थियो । तर कोरोना बिमा मापदण्ड ०७७ अनुसार आफ्नो दायित्वबापतको रकम भुक्तानी भइसकेकाले थप रकम तिर्नु नपर्ने भन्दै नेपाल पुनर्बिमा कम्पनीले सञ्चालक समितिको निर्णयसहितको पत्र प्राधिकरणमा पठाएको थियो । उक्त पत्र प्राप्त भएपछि प्राधिकरणले सात दिनको म्याद दिएर रकम तिर्न निर्देशनै दिएको हो ।
कोरोना बिमा मापदण्डअनुसार आफूले तिर्नुपर्ने दायित्व भुक्तानी भइसकेकाले थप रकम तिर्नु नपर्ने निर्णय सञ्चालक समितिले गरेकाले सोहीबमोजिमको पत्र प्राधिकरणलाई पठाइएको नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीको भनाइ छ । ‘कोरोना मापदण्ड ०७७ को दफा १२ अन्तर्गत अनुसूची ७ मा भएको व्यवस्थाबमोजिम यस कम्पनीले बेहोर्नुपर्ने दायित्व १ अर्ब २० करोड रुपैयाँ गत आर्थिक वर्षमा भुक्तानी गरिसकेको हुँदा यस कम्पनीको थप दायित्व नहुने व्यहोरा सञ्चालक समितिको निर्णयअनुसार जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।
कम्पनीहरूले भुक्तानी रोकेको करिब डेढ वर्षपछि सरकारले आफ्नो दायित्व स्विकार्दै दसैंअघि नै १ अर्ब रुपैयाँ निकासा गरिदिएको थियो । उक्त रकमलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकममध्ये बिमा प्राधिकरणले ८, नेपाल पुनर्बिमा कम्पनीले १२ र बिमा कम्पनीहरूले २५ प्रतिशत वहन गर्ने सर्तमा सरकारले एक अर्ब रुपैयाँ निकासा दिएको हो । सरकारको यही निर्देशनअनुसार प्राधिकरणले सरकारबाट आएको १ अर्ब र आफ्नो दायित्वअन्तर्गतको करिब १४ करोड गरी कुल १ अर्ब १४ करोड रुपैयाँ गत साता नै बिमक संघलाई दिइसकेको छ ।
सबै कम्पनी र पुनर्बिमाबाट संघले रकम उठाएर कोरोना बिमितको संख्याका आधारमा सबै कम्पनीलाई वितरण गर्नू भन्ने प्राधिकरणको निर्देशन छ । तर मंगलबारसम्म २/३ वटा कम्पनीले मात्र कोरोना बिमाको रकम भुक्तानी गर्न सञ्चालक समितिबाट निर्णय गरेका छन् । प्राधिकरणको निर्देशनअनुसार कम्पनीहरूले कोरोना बिमाको भुक्तानी दिन आनाकानी गरिरहेका छन् । कम्पनीहरूले पैसा नदिँदा कोरोना बिमा भुक्तानीमा ढिलाइ भएको छ ।
निर्जीवन बिमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरूको संस्था ‘निर्जीवन बिमा व्यवसायी संघ’ ले कोरोना बिमामा थप रकम भुक्तानी दिन नसकिने निर्णय गरेको छ । संघको यही निर्णयका कारण बहुसंख्यक कम्पनीले कोरोना बिमाको रकम दिन आनाकानी गरेको स्रोतको दाबी छ । तर बिमा प्राधिकरणले दाबी भुक्तानी दायित्व कम्पनीकै भएकाले जसरी भएपछि भुक्तानी गराएरै छाड्ने बताएको छ ।