प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकाय र नेतृत्व इमानदार तथा सक्रिय हुनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर सक्रिय नभए संविधान कागजमा मात्र सीमित हुने धारणा राखे।
उनले भने, ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।’
प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता सुशासन, विकास, समृद्धि र सामाजिक न्याय रहेको बताए। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसविरुद्धको अभियान सुरु भइसकेको उनको भनाइ थियो।
‘यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ उनले भने।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक संयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति गर्ने नीति सरकारले अवलम्बन गरेको बताए।
प्रधानमन्त्री शाहले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै ‘शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ’ भन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।