वीरगन्जमा तेरापन्थ युवक परिषद्को सप्ताहव्यापी वृहत् रक्तदान कार्यक्रमअन्तर्गत ८ महिलासहित ६६ जनाले रक्तदान गरेका छन्। आदर्शनगरस्थित स्काई मलमा राउन्ड टेबल बीआरटी–३ को सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका हुन्।
रक्तदान गर्नेमा अदिती अग्रवाल, सन्ध्या चौधरी, कविता केडिया, श्रेया चाचान, खुशी शर्मा, दिपाञ्जली बरनवाल, मृदुला चाचान, सीता शर्मा, मेराज आलम, अनमोल साह, विपिन ठाकुर, मोहम्मद बेलाल, कृष्ण पासवान, जोशन श्रेष्ठ र रोबिन बिकलगायत रहेका थिए।
तेरापन्थ युवक परिषद् वीरगन्जका अध्यक्ष सुनिल दुगड र राउन्ड टेबल बीआरटी–३ का अध्यक्ष अनुज क्यालको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सञ्चारकर्मी जाकिर हुसेन, आकाश पटेल, परिषद्का रक्तदान संयोजक सौरभ भुटोरिया, रक्तदान अनकलका आशीष चोरडिया, पंकज बैद, अनिल बैद, राउन्ड टेबलका सचिव अमन मित्तल, दीपक बैद, पीयूष चाचान, अनमोल छपरियालगायतको सहभागिता रहेको थियो।
सामाजिक अभियन्ता सिंहले वीरगन्ज आसपासमा रगतको अभाव रहेको जानकारी पाएपछि तेरापन्थ युवक परिषद्ले विभिन्न संघसंस्थासँग सहकार्य गरी सप्ताहव्यापी वृहत् रक्तदान कार्यक्रम आयोजना गर्नु सराहनीय कार्य भएको बताए। उनले कार्यक्रममा रक्तदाताको उत्साहजनक सहभागिता देखेर आफू खुसी र गर्वित भएको बताउँदै रक्तदाता तथा आयोजकप्रति आभार व्यक्त गरे।
परिषद्ले गत शुक्रबार बयोधा अस्पताल वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गर्दै सप्ताहव्यापी रक्तदान शृङ्खला सुरु गरेको थियो। सोही क्रममा स्काई मलमा कार्यक्रम आयोजना गरिएको हो। आगामी मंगलबार किरण आँखा अस्पताल वीरगन्जको सहयोगमा अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिने परिषद्ले जनाएको छ।
वीरगन्ज रक्तसञ्चार केन्द्रमा हुने रगतको अभाव केही हदसम्म पूर्ति गर्ने उद्देश्यले कलकारखाना, अस्पताल, क्लिनिक, संघसंस्था तथा विद्यालयलगायत विभिन्न स्थानमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिने अध्यक्ष दुगडले बताए। उनले आगामी कार्यक्रममा पनि सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक श्रीराम ठाकुरको नेतृत्वमा रेडक्रस स्वयंसेवकको टोलीले रक्तदातालाई रक्तदान गर्न सहजीकरण गरेको थियो।