मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ।
उपसमितिमा सांसद तपेश्वर यादव, डा. मो. फिरदोश आलम, यशोदा कुमारी, राजकिशोर महतो कोइरी र रामाकान्त प्रसाद चौरसिया सदस्य रहेका छन्।
उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा विभिन्न आयोजनाको व्यवस्थापन, कार्यसम्पादन र गतिविधिको अध्ययन तथा मूल्यांकन गर्नेछ। अनुगमनका क्रममा देखिएका विषयमा आवश्यक टिप्पणी र सिफारिससहित पूर्वाधार विकास समितिसमक्ष प्रतिवेदन पेस गरिने सांसद यादवले बताए।
त्यस्तै, आयोजनामा सार्वजनिक सम्पत्तिको हिनामिना भए–नभएको तथा प्रचलित ऐन, नियम र सम्झौताअनुसार काम भए–नभएको विषयमा समेत अध्ययन गरिनेछ। उपसमितिले सम्बन्धित आयोजनाका प्रतिवेदन, करार सम्झौता, लेखा तथा अन्य कागजात अध्ययन गर्नुका साथै आयोजना स्थलको स्थलगत अनुगमन गर्नेछ।
आयोजनासँग सम्बन्धित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्नुका साथै आवश्यकताअनुसार विज्ञ, विशेषज्ञ र अनुसन्धानकर्तासँग परामर्श गरी उपसमितिले प्रतिवेदन तयार गर्नेछ। उपसमितिको कार्यावधि २०८३ साल माघ मसान्तसम्म तोकिएको छ।