नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नेतृत्व नछोड्ने संकेतसहितको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन्। उनले पार्टी पुनर्गठनको बहसलाई परिस्थितिको विश्लेषणबिना अघि बढाउन नहुने भन्दै पुनर्गठनलाई ‘रहर वा लहड’को विषय बनाउन नहुने बताएका छन्।
ओलीले पार्टीको अवस्था, राष्ट्रिय राजनीति, आन्तरिक समस्या र आगामी कार्यभारबारे धारणा राख्दै एमालेको इतिहासमा भएका पुनर्गठनका उदाहरणसमेत प्रस्तुत गरेका छन्। उनले केशरजंग रायमाझीको दरबार प्रवेशपछि भएको पहिलो पुनर्गठन, झापा आन्दोलनबाट सुरु भएको दोस्रो पुनर्गठन र २०७५ सालपछि आफूहरूको पहलमा भएको तेस्रो पुनर्गठनलाई उदाहरणका रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार पहिलो पुनर्गठन पार्टी नेतृत्वको बहुमत नै दक्षिणपन्थी र राजावादी बनेको तथा आन्दोलन जोगाउने अन्य विकल्प नरहेको अवस्थामा भएको थियो। दोस्रो पुनर्गठन पार्टी संगठन अस्तव्यस्त हुँदै अस्तित्वकै संकटमा पुगेपछि झापाबाट नयाँ पार्टी निर्माण र विस्तार गर्ने क्रममा भएको उनको दाबी छ। त्यस्तै, २०७५ सालमा पार्टी एकीकरणपछि उत्पन्न विवाद र आफूहरूलाई पार्टीबाट हटाउने प्रयास भएको भन्दै त्यसपछि पनि आफ्नो पहल र नेतृत्वमा पार्टी पुनर्गठन गरिएको ओलीले बताएका छन्।
ओलीले अहिले भइरहेको पुनर्गठनको चर्चालाई भने त्यतिबेलाका परिस्थितिसँग तुलना गर्न नमिल्ने बताएका छन्। ‘पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन’ भन्दै उनले नेतृत्व विस्थापनलाई मात्र पुनर्गठनका रूपमा बुझ्न नहुने उल्लेख गरेका छन्।
रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणलाई पनि सही अर्थमा बुझ्नुपर्ने ओलीको भनाइ छ। उनका अनुसार रूपान्तरण भनेको पार्टीको इतिहास, विचार र संगठनात्मक परम्परा मेट्नु नभई कार्यशैली परिवर्तन गर्नु, जनतासँग संवाद गर्ने भाषा बदल्नु, निर्णय प्रक्रिया छरितो बनाउनु र नेतृत्वलाई आदेश दिने तहबाट जनताको कुरा सुन्ने तथा परिणाम दिने तहमा रूपान्तरण गर्नु हो।
आफ्नो धारणा स्पष्ट पार्न उनले रुखको उदाहरण दिँदै भनेका छन्, ‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो।’
त्यस्तै, नेतृत्व हस्तान्तरण आकस्मिक रूपमा पद खाली गर्ने विषय नभएको ओलीको धारणा छ। जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण आवश्यक रहेको उनले बताएका छन्।
पुस्तान्तरण उमेरको अंकगणित मात्र नभएको उल्लेख गर्दै ओलीले नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव र निर्णय प्रक्रियामा स्थान दिनुपर्ने बताएका छन्। ‘उमेर कम हुनु आफैंमा योग्यता होइन, उमेर बढी हुनु आफैंमा अयोग्यता होइन। ऊर्जा र अनुभवको संयोजन आवश्यक हुन्छ,’ उनले प्रतिवेदनमा भनेका छन्।