प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक मध्याह्न १२ः१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा भवनको कार्यव्यवस्था हलमा बस्नेछ।
बैठकमा रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
भोटेकोशी क्षेत्रमा आएको विपद्पछि खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको अनुगमन गर्न र भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने निर्णय यसअघि नै भएको थियो।
प्रस्तावित विशेष समितिले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, दिगो पूर्वाधार पुनर्निर्माण तथा विपद् व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाका विषयमा समेत अध्ययन तथा सुझाव दिनेछ।
विशेष समिति गठनका विषयमा दलहरूबीच छलफल हुँदै आए पनि सदस्य संख्या, कार्यक्षेत्र, कार्यावधि र संयोजकका विषयमा सहमति जुट्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन। आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा सोही विषयलाई अघि बढाउने तयारी गरिएको छ।
बैठकमा प्रतिनिधिसभाका अन्य विविध विषयमा समेत छलफल हुने सचिवालयले जनाएको छ।