नेपालको औषधि उत्पादक कम्पनी क्वेस्ट फर्मास्यूटिकल्स प्रा.लि.ले आफ्नो स्थापनाको २५औँ वर्ष अर्थात् रजत जयन्ती तथा श्री विश्वकर्मा पूजा २०८३ विशेष कार्यक्रमसहित मनाएको छ।
असोज ३ गते वीरगञ्जस्थित होटल भिसुवामा आयोजित समारोहमा कम्पनीले आफ्नो २५ वर्षे यात्रा मनाएको हो। सन् १९९९ मा स्थापना भई सन् २००१ देखि औपचारिक उत्पादन सुरु गरेको कम्पनीले डब्लूएचओ–जीएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको जनाएको छ।
नेपालमा पहिलोपटक सफ्ट जेलाटिन क्याप्सुल प्रविधि भित्र्याएको कम्पनीमा हाल ६ सयभन्दा बढी कर्मचारी कार्यरत छन्। कम्पनीले १ सयभन्दा बढी ब्रान्डेड जेनेरिक औषधि उत्पादन गर्दै आएको जनाएको छ।
रजत जयन्तीको अवसरमा कम्पनीले कर्मचारीको योगदानको कदर गर्दै ‘टोकन अफ लभ’ वितरण गर्नुका साथै महिला तथा पुरुष कर्मचारीका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो।
यसैगरी, कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत छातापिपरास्थित कारखाना परिसरमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा १०७ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।
कम्पनीले २५ वर्षे यात्रामा साथ र सहयोग गर्ने ग्राहक, स्वास्थ्यकर्मी, व्यावसायिक साझेदार तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।