प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको बैठकमा सांसद मनिष झा र खुस्बु ओलीले ठेक्का रद्द गर्नुको कारण, आयोजनामा भएको ढिलाइ तथा यसमा राजनीतिक वा प्रशासनिक हस्तक्षेप भए/नभएको विषयमा प्रश्न उठाउँदै छानबिनको माग गरेका थिए।
बैठकमा सांसद ओलीले ठेक्का रद्द गर्ने विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया प्रधानमन्त्री कार्यालय गएको समाचारबारे प्रश्न गरेकी थिइन्। उनले रजौरियालाई प्रधानमन्त्री कार्यालय गएको वा नगएको विषयमा स्पष्ट जवाफ दिन आग्रह गरेकी थिइन्।
जवाफमा महानिर्देशक रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गर्दै त्यहाँबाट कुनै हस्तक्षेपको अनुभूति नभएको बताएका थिए।
त्यस्तै, सांसद झाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी–मरिण डाइभर्सनको काम रोकिएको विषयमा स्पष्ट जवाफ माग गरेका थिए।
आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भाग गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। साथै, यस आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।
१३.३ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ सन् २०२४ मे महिनामै भइसकेको उल्लेख गर्दै सांसद झाले त्यसपछि पनि आयोजनाको कामले गति लिन नसकेको भन्दै प्रश्न उठाएका थिए।
उनले आयोजना किन रोकियो, ठेक्का रद्द गर्नुपर्ने अवस्था किन आयो र अब कसरी अगाडि बढाइन्छ भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका थिए।
‘मधेससँग देखाउनलाई हिमाल छैन, पर्याप्त जलविद्युत् उत्पादन गर्ने स्रोत छैन। भएको खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने आशा यही आयोजनासँग जोडिएको छ,’ झाले भनेका थिए।
आयोजना अलपत्र पर्दा मधेसका लाखौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने योजना प्रभावित हुने भन्दै उनले आयोजनाको आगामी कार्ययोजना र सम्पन्न गर्ने समयसीमा स्पष्ट पार्न आग्रह गरेका थिए। ठेक्का रद्द गर्दैमा मात्रै समस्याको समाधान नहुने उनको भनाइ थियो।
बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले सुरुङ निर्माणको प्रगति राम्रो भए पनि हेडवर्क्स निर्माणमा ढिलाइ भएको जानकारी दिएका थिए।
उनका अनुसार आवश्यक खरिद प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गरेर नयाँ ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाउने तयारी भइरहेको छ। ठेक्का तोडेर अर्को निर्माण कम्पनीलाई जिम्मेवारी दिँदैमा राज्यलाई ठूलो आर्थिक नोक्सानी नहुने उनको भनाइ थियो। खरिदसम्बन्धी अधिकार विभागसम्म प्रत्यायोजन गरिएको जानकारीसमेत उनले दिएका थिए।
यस्तै, विभागका महानिर्देशक रजौरियाले ठेक्का तोड्ने क्रममा बैंक ग्यारेन्टीबापत १ अर्ब २० करोड रुपैयाँ फिर्ता आएको जानकारी दिएका थिए।
आयोजनाको काममा निर्माण व्यवसायीको कमजोरी थियो वा राज्यकै तर्फबाट कमजोरी भएको थियो भन्ने विषयमा पनि बैठकमा प्रश्न उठाइएको थियो।
समितिले ठेक्का रद्द गर्नुको कारण, निर्णय प्रक्रियाको विवरण, कानुनी आधार तथा आयोजनालाई अगाडि बढाउने आगामी कार्ययोजनासम्बन्धी सम्पूर्ण आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको हो।