बैंकिङ क्षेत्रमा करियर बनाउने सपना बोकेकी श्वेता गुप्ताको यात्रा सौखका रूपमा सुरु भएको मेहन्दी कलामार्फत आज हजारौँ महिलालाई सीप, रोजगारी र आत्मनिर्भरतासँग जोड्ने अभियान बनेको छ । पारिवारिक जिम्मेवारी र व्यावसायिक जीवनलाई सँगसँगै अघि बढाइरहेकी उनी एक सफल महिला उद्यमीमात्र नभई परिवारप्रतिको जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिने प्रेरणादायी गृहणी पनि हुन् । उनै श्वेता गुप्तासँग महिला उद्यमशीलता, संघर्ष, सफलता र आत्मनिर्भरताका विषयमा गरिएको कुराकानी ः
काम र परिवारलाई सँगसँगै अघि बढाउँदाको अनुभव कस्तो छ ?
काम र परिवारलाई सँगसँगै अघि बढाउन निकै गाह्रो हुन्छ । हाम्रो परिवारमा श्रीमान्, श्रीमती र बच्चाहरू मात्रै छौँ । घरायसी काम त वर्षका ३६५ दिन नै भइरहन्छन् । घरको काम कहिल्यै सकिँदैन । घरको काम सकेर फेरि संस्थामा पुग्नुपर्छ । संस्थामा धेरै विद्यार्थी छन्, टिमका सदस्यहरू र कर्मचारीहरू छन् । सबैलाई सम्हालेर अघि बढ्न निकै चुनौतीपूर्ण हुन्छ । आफ्ना बच्चाहरूको भविष्यका बारेमा पनि धेरै सोच्ने गर्छु । किनभने घरमा एउटी शिक्षित महिला हुँदा उनले आफ्ना बच्चाहरूलाई राम्रो भविष्य दिन सक्छिन् । त्यसैले म आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्नुका साथै एउटी आदर्श आमा बनेर आफ्ना बच्चाहरूको उज्ज्वल भविष्य निर्माण गर्न चाहन्छु ।
आफ्नो तालिम कार्यक्रमका बारेमा बताइदिनुहोस् न ?
मैले अनलाइन कक्षाको सञ्चालन गरेकी छु । नेपाल सरकारबाट मान्यताप्राप्त राधेकृष्ण मेहन्दी ट्रेनिङ सेन्टरले नेपालमै पहिलोपटक अनलाइनमार्फत मेहन्दी तालिम सञ्चालन गरेको हो । मैले अनलाइन कक्षा रातिको समयमा राखेकी छु । संस्थामै आएर सिक्नका लागि समय मिलाउन गाह्रो हुन्छ । उहाँहरूले पनि अनलाइनमार्फत सजिलै मेहन्दी सिक्न सक्नुहुन्छ भन्ने उद्देश्यले यो कक्षा सुरु गरेकी हुँ । सबैले आफ्नै घरमा बसेर सहज रूपमा तालिम लिन सकून् भन्ने मेरो चाहना हो । अहिलेसम्म बिहार, लखनउ, काठमाडौं, विराटनगरलगायत विभिन्न ठाउँका मेहन्दी सिक्न इच्छुक दिदीबहिनीहरूलाई समेटेर चारवटा ब्याच सञ्चालन गरिसकेकी छु । मेरो उद्देश्य देश तथा विदेशका विभिन्न ठाउँमा रहेका महिलाहरू पनि अनलाइन कक्षामा जोडिएर तालिममा सहभागी हुन सकून् भन्ने हो । यही विश्वासका साथ म निरन्तर काम गरिरहेकी छु ।
राधेकृष्ण मेहन्दी सेन्टर विवाहअघि नै खोल्नुभएको थियो ?
मैले सुरुदेखि नै यही काम रोजेकी थिइनँ । जीवनले जुन बाटोमा डो¥याउँदै लग्यो, मेरो यात्रा पनि त्यहीअनुसार अघि बढ्दै गयो । मेरो परिवारमा बुबा त्यतिबेला स्नातक गर्नुभएको शिक्षित व्यक्ति हुनुहुन्थ्यो । उहाँले छोराछोरीको पढाईमा निकै लगानी गर्नुभएको थियो । आफ्ना छोराछोरीले राम्रोसँग पढून्, राम्रो पदमा पुगून् र जागिर खाऊन् भन्ने उहाँको चाहना थियो । मेरो पनि बैंकमा काम गर्ने उद्देश्य थियो । त्यसका लागि मैले धेरै तयारी गरेँ । विभिन्न तालिम लिएँ, बैंकिङसम्बन्धी तालिम पनि गरेँ । लक्ष्मी बैंक र नबिल बैंकमा इन्टर्नसिपसमेत गरेकी थिएँ । त्यतिबेला मेहन्दी लगाउने काम मेरो सौख मात्रै थियो । मेहन्दी लगाउने रहरले नै यस क्षेत्रमा प्रवेश गरायो । मैले मेहन्दी लगाउन सिकेपछि वरपरका महिला दिदीबहिनीहरूलाई पनि सिकाउन थालेँ । सुरुमा एक जना, त्यसपछि दुई, तीन, चार हुँदै विद्यार्थीको संख्या १० जनासम्म पुग्यो । कहिलेकाहीँ यो काम छोडेर अर्को क्षेत्रमा लागौँ भन्ने सोच पनि आउँथ्यो । तर विद्यार्थीहरूको माया र विश्वासका कारण छोड्न सकिनँ । जागिर नपाउँदासम्म मात्रै यो काम गर्छु भन्ने सोचबाट सुरु भएको यात्रा आज यहाँसम्म आइपुगेको छ । यसबीचमा मैले आफूलाई अझ दक्ष बनाउन विभिन्न ठाउँमा काम गरेर सिक्ने प्रयास पनि गरेँ । पहिलेको समयमा पहुँच र चिनजान भएका मानिसहरूले मात्रै सजिलै काम पाउँथे । जति पढे पनि जागिर पाउनका लागि सम्बन्ध र पहुँच चाहिने अवस्था थियो। अहिले फर्केर हेर्दा जे भयो, राम्रैका लागि भयो जस्तो लाग्छ ।
राधेकृष्ण ट्रेनिङ सेन्टर कुन सोच र उद्देश्यका साथ खोल्नुभएको थियो ?
मैले भगवान् राधाकृष्णको नाममा आफ्नो ट्रेनिङ सेन्टर स्थापना गरेकी हुँ । राधेकृष्णको यात्रा यति लामो र सफल हुन्छ भन्ने मैले सुरुवातमा कल्पना पनि गरेकी थिइनँ । ममा सुरुदेखि नै बचत गर्ने बानी थियो । म आफ्ना विद्यार्थीहरू र महिला दिदीबहिनीहरूलाई पनि आम्दानीको केही हिस्सा बचत गर्नुपर्छ भनेर सिकाउँछु । त्यही बचत गर्ने बानीले मलाई यो संस्था स्थापना गर्न सहयोग ग¥यो । मेहन्दीको काम सुरु गर्न धेरै लगानी आवश्यक पर्दैन, किनभने यो एउटा कला हो। तर एउटा कार्यालय स्थापना गर्न टेबल, कुर्सी, कापी, कलमलगायत सामग्री किन्न पनि पैसा चाहिन्छ। आजभन्दा करिब १५ वर्षअघि पाँच सय रुपैयाँको पनि निकै ठूलो महत्व थियो । त्यतिबेला मैले आफ्नो बचतको पैसा लगाएर सेन्टर सुरु गरेँ । केही रकम ऋण पनि लिएँ । आफूले बचत गर्दै आएको सहकारीबाटै २० हजार रुपैयाँ ऋण निकालेकी थिएँ । यो काममा परिवारको पनि साथ र सहयोग थियो । सुरुमा घरभित्रै तालिम सञ्चालन गर्थें । तर, विद्यार्थीको संख्या बढ्दै गएपछि संस्थालाई बाहिर विस्तार गर्नुपर्छ भन्ने सोच आयो । त्यस क्रममा समाजका विभिन्न व्यक्तिहरूबाट अनेक टिप्पणी पनि सुन्नुप¥यो । म मधेशी समाजकी छोरी, आफ्नो खानदानकी जेठी छोरी र पढेलेखेकी महिला थिएँ । त्यतिबेलाको सामाजिक सोचअनुसार पढेलेखेका मानिसले सीप सिकेर पैसा कमाउने काम गर्नु हुँदैन भन्ने धारणा पनि थियो । मैले राम्रो शिक्षा हासिल गरेकी भएर पनि मेहन्दीलाई आफ्नो पेसा बनाएको कुरा धेरैलाई स्वीकार्य थिएन । कतिपयले बुबाको नाम जोडेर उहाँको कमाइले नपुगेर छोरीलाई पनि काम गर्न लगाएको भन्ने टिप्पणी गर्थे । तर, मलाई परिवारबाट कुनै कुराको कमी थिएन । आमाबुबाले मेरा सबै आवश्यकता पूरा गर्नुभएको थियो । मैले यो काम आफ्नो पहिचान बनाउन र आफ्नै खुट्टामा उभिनका लागि सुरु गरेकी थिएँ । त्यतिबेला मधेशमा छोरीहरू घरबाहिर निस्केर काम गर्नु हुँदैन भन्ने सोच बलियो थियो । धेरै महिलाहरू मेरो घरमै आएर छोरी बाहिर गएर काम गर्दा विवाह गर्न गाह्रो हुन्छ भन्नुहुन्थ्यो । मेरो संस्थासँगै सामाजिक गतिविधिहरू पनि जोडिएका थिए । म लायन्स क्लब अफ वीरगन्जमा आबद्ध थिएँ । त्यहाँ पुरुष सदस्यहरू पनि हुनुहुन्थ्यो । हामीले विभिन्न सामाजिक काम गरेका तस्बिरहरू पत्रपत्रिकामा प्रकाशित हुँदा पनि समाजका कतिपय मानिसहरूलाई त्यो कुरा स्वीकार गर्न गाह्रो हुन्थ्यो । मेरो जीवनयात्राबाट मेरा बच्चाहरू, समाज र मसँग जोडिएका अन्य छोरीहरूले प्रेरणा लिन सकून् भन्ने चाहना छ । महिलाले पनि आफ्नो पहिचान बनाउन सक्छन् र आत्मनिर्भर बन्न सक्छन् भन्ने सन्देश दिनु नै मेरो उद्देश्य हो ।
मेहन्दी सिकेर हालसम्म कति जना रोजगारीमा आबद्ध भएका छन् ?
अहिले मेरो संस्थामा दुईजना बहिनीहरू प्रत्यक्ष रूपमा काम गरिरहनुभएको छ । मेरो टिममा १३ जना सदस्य हुनुहुन्छ । लायन्स क्लबमार्फत पनि सय जनालाई तालिम दिएकी छु । त्यस्तै, हरेक वर्ष विभिन्न ठाउँमा तालिम सञ्चालन गर्दै आएकी छु । सिमरामा समेत तालिम सञ्चालन गरेकी छु । यी सबैलाई समेट्दा राधेकृष्ण मेहन्दी ट्रेनिङ सेन्टरबाट हालसम्म सात हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसक्नुभएको छ । आज यो यात्रा सम्झिँदा निकै खुसी लाग्छ । मैले सुरुवातमा यति ठूलो संस्थाको कल्पना गरेकी थिइनँ । अहिले मेरो यात्रा कल्पनाभन्दा धेरै अगाडि पुगिसकेको छ । हाम्रा धेरै विद्यार्थीहरू तालिम लिएर विदेशमा समेत रोजगारीमा आबद्ध हुनुभएको छ । कतिपय काठमाडौंलगायत विभिन्न सहरमा काम गरिरहनुभएको छ । धेरै विद्यार्थीहरू आफ्नै खुट्टामा उभिन सफल हुनुभएको छ । उहाँहरू जहाँ पुगे पनि आफूले राधेकृष्ण मेहन्दी ट्रेनिङ सेन्टरबाट सीप सिकेको कुरा गर्वका साथ सुनाउनुहुन्छ । वीरगन्जमा रहेका धेरै पार्लर, ब्युटी सैलुन, मेहन्दी सेन्टर तथा मेहन्दी कलाकारहरू मेरा विद्यार्थी हुनुहुन्छ । यो कुरा सम्झिँदा मलाई निकै गर्व र खुसी लाग्छ ।
पहिलेको समय र अहिलेको समयमा मेहन्दी व्यवसायमा के–कस्तो फरक आएको छ ?
मेहन्दी व्यवसायको विकासमा सामाजिक सञ्जालको भूमिका निकै महत्वपूर्ण छ । विशेषगरी फेसबुकलगायत सामाजिक सञ्जालले हामीजस्ता कलाकारलाई आफ्नो कला प्रदर्शन गर्न, पहिचान बनाउन र कामको अवसर प्राप्त गर्न धेरै सहयोग गरेको छ । मेहन्दीको प्रचलन पहिले विशेषगरी मुस्लिम समुदायमा बढी थियो । मारवाडी समुदायमा पनि यो निकै लोकप्रिय थियो । तर, अहिले सबै जातजाति र समुदायमा मेहन्दी लगाउने तथा सिक्ने प्रचलन बढेको छ । पहिले हामीले एकै दिनमा दुई–चार जनालाई मात्रै मेहन्दी लगाउने गथ्र्यौँ । अहिले भने एकै दिनमा ७० जनासम्मलाई मेहन्दी लगाउन सक्ने भएका छौँ । आजभोलि मेहन्दी लगाउने चलन पनि व्यापक बनेको छ । यसबाट आम्दानीसमेत राम्रो गर्न सकिन्छ । आफ्नो सीप र कलाको माध्यमबाट आम्दानी गर्न सक्नु आफैँमा ठूलो उपलब्धि हो । पहिलेको तुलनामा अहिले यस क्षेत्रमा अवसर पनि बढेका छन् र व्यवसायलाई विस्तार गर्न पनि सहज भएको छ ।
महिलाहरू कहिले सफल हुन्छन् ?
महिला तबमात्रै वास्तविक रूपमा सफल हुन्छिन्, जब उनी आफ्नै खुट्टामा उभिन सक्छिन् । आत्मनिर्भर नभएसम्म महिलाले पूर्ण रूपमा सफलता हासिल गर्न सक्दिनन् भन्ने मेरो बुझाइ छ । व्यवसाय गर्न वा कुनै क्षेत्रमा आफ्नो पहिचान बनाउन पढेलेखेर मात्रै हुँदैन । आफूले रोजेको क्षेत्रमा निरन्तर मेहनत, लगनशीलता र धैर्य आवश्यक हुन्छ । जुनसुकै क्षेत्रमा अगाडि बढ्न चाहने महिलाले आफ्नो सीप र क्षमताको विकास गर्दै निरन्तर प्रयास गर्नुपर्छ । मेरो विचारमा महिलाको सफलता भनेको केवल पढाई वा जागिरमा सीमित हुनु होइन, आफ्नै पहिचान बनाउनु, आर्थिक रूपमा आत्मनिर्भर हुनु र आफ्नो क्षमताले अरूलाई पनि अवसर तथा प्रेरणा दिन सक्नु हो ।