भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यस्तै, नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ । फोरममा दुवै देशका व्यवसायीबीच सहकार्य, व्यापार विस्तार र लगानीका सम्भावनाबारे छलफल हुनेछ । यसबाट दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत गरिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भ्रमणले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
मन्त्रालयले भ्रमणसम्बन्धी थप जानकारी आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ । भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरिने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन् ।
सम्पादकीय नोट: