नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनै लाग्दा कर्णाली याक्सलाई झट्का लागेको छ। टोलीबाट खेल्ने तयारीमा रहेका पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहान पाकिस्तान फर्कने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उनलाई फिर्ता बोलाएपछि कर्णाली याक्सको योजनामा अन्योल थपिएको हो।
एनपीएल खेल्न दुई दिनअघि मात्रै नेपाल आइपुगेका फरहानलाई पीसीबीले इमेलमार्फत स्वदेश फर्कन निर्देशन दिएको कर्णाली याक्सका एक अधिकारीले बताएका छन्। श्रीलंकाविरुद्ध हुने एकदिवसीय शृङ्खलाका लागि पाकिस्तानी टोलीमा समावेश गरिएकाले उनी फर्कन लागेको बताइएको छ।
पीसीबीले एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीलाई आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) दिन अस्वीकार गरेपछि उनीहरूको सहभागितामाथि प्रश्न उठेको थियो। यसअघि एनओसीका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर मागिएको समाचार सार्वजनिक भएको थियो। उक्त रकम कर्णाली याक्स र फरहानका एजेन्टले आधा–आधा बेहोर्ने सहमति भएको बताइएको थियो। यद्यपि, पीसीबीले उक्त रकम औपचारिक रूपमा मागेको विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
कर्णाली याक्सका अधिकारीका अनुसार श्रीलंकाविरुद्धको खेलपछि फरहान पुनः नेपाल फर्कने सम्भावना पनि छ। त्यसका लागि पीसीबीसँग छलफल जारी राखिनेछ।
हुसेन तलातलाई रोक्ने प्रयासमा कर्णाली
फरहान पाकिस्तान फर्कने तयारीमा रहे पनि कर्णाली याक्सले अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई भने टोलीमै राख्न प्रयास गरिरहेको छ। तलातको एनपीएल सहभागिताबारे पीसीबीसँग संवाद भइरहेको टोलीका अधिकारीले बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि आवश्यक एनओसीबिना विदेशी खेलाडीले प्रतियोगिता खेल्न नपाउने स्पष्ट पारेका छन्। यसले पीसीबीको स्वीकृति नपाएका पाकिस्तानी खेलाडीको सहभागिता थप अनिश्चित बनेको छ।
सात पाकिस्तानी खेलाडीको सहभागितामा अन्योल
एनपीएलका लागि अनुबन्ध भएका पाकिस्तानी खेलाडीमा साहिबजादा फरहान, हुसेन तलात, हैदर अली, इफ्तिखार अहमद, हसन अली र उसामा मिरसहित अन्य खेलाडी रहेका छन्। पीसीबीको निर्णयका कारण उनीहरूको प्रतियोगितामा सहभागिताबारे प्रश्न उठेको हो।
पीसीबीले यस वर्ष केन्द्रीय सम्झौताको नयाँ संरचना सार्वजनिक गर्दै विभिन्न खेल प्रारूपका खेलाडीलाई छुट्टाछुट्टै श्रेणीमा राख्ने व्यवस्था अघि सारेको थियो। त्यसमा टी–२० विशेषज्ञ खेलाडीलाई अन्तर्राष्ट्रिय जिम्मेवारीसँग नजुध्ने गरी अन्य टी–२० लिग खेल्न सहज हुने अपेक्षा गरिएको थियो। तर, खेलाडीहरूको श्रेणी र नयाँ व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागितामा देखिएको अन्योलले विदेशी खेलाडीको उपलब्धता र प्रतियोगिताअघि टोलीको तयारीमा चुनौती थपेको छ। फरहान र तलातको अन्तिम सहभागिता भने पीसीबीसँगको छलफल तथा आवश्यक स्वीकृतिमा निर्भर रहनेछ।