स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ), वीरगञ्ज च्याप्टरको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो।
कार्यक्रमअन्तर्गत वीरगञ्जको गुलाबी रिबनको आकृति निर्माण गरिएको थियो। स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनामूलक सत्र सञ्चालन गरिएको थियो।
गुलाबी अभियान, छिटो पहिचान–स्वस्थ जीवनको नयाँ उडान’ भन्ने नारासहित आयोजित कार्यक्रमले क्यान्सरको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण तथा महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरेको एनवाईईएफका अध्यक्ष चन्दन सिंहले बताए।
कार्यक्रममार्फत भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. उज्ज्वल चालिसे र स्त्रीरोग तथा प्रसुती विशेषज्ञ डा. कृति अग्रवालले क्यान्सरका सम्भावित लक्षणबारे जानकारी राख्न, शरीरमा असामान्य परिवर्तन देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिन र रोगको प्रारम्भिक पहिचानका लागि सचेत रहन आग्रह गरे।
अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताउँदै सचेतना फैलाउन र स्वस्थ भविष्य निर्माण गर्न एकजुट हुनुपर्नेमा जोड दिइएको थियोे । मध्य नेपाल मिडियाले मिडिया साझेदारी गरेको कार्यक्रममा म्याग्नस फर्मा, नबिल बैंकलगायतको सहयोग रहेको थियो ।
यस्ता अभियानले महिलालाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरित गर्नुका साथै परिवार र समुदायस्तरमा क्यान्सरसम्बन्धी भ्रम हटाउन तथा समयमै स्वास्थ्य सेवा लिन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।