स्थापनाको ११ वर्षमा मध्य नेपाल सन्देश केवल समाचार सम्प्रेषण गर्ने माध्यमका रूपमा सीमित छैन, समाजका सवाललाई निरन्तर उठाउँदै आएको छ । सुरुआती दिनदेखि नै विभिन्न चुनौतीको सामना गर्दै अघि बढेको मध्य नेपाल सन्देशले विकास पत्रकारिता, पैरवी पत्रकारिता र सामाजिक सरोकारका विषयलाई प्राथमिकता दिँदैआएको छ । यी ११ वर्षमा मध्य नेपाल छापा, अनलाइन पोर्टल र अनलाइन टेलिभजिनमार्फत पाठक र दर्शकमाझ पुगेको छ । आफ्नो छुट्टै पहिचान बनाउने प्रयास निरन्तर छ । पत्रिकाले महिला, युवा, विपन्न तथा सीमान्तकृत समुदायका सवाललाई प्राथमिकताका साथ उठाउँदै आएको छ । महिलाका अधिकार, हिंसा, दाइजो प्रथा, शिक्षा तथा सामाजिक विकृति–विसंगतिका विषयमा निरन्तर खबरदारी गरेको छ । समाजमा भइरहेका सकारात्मक प्रयासलाई सार्वजनिक गर्नुका साथै सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने प्रयास गरेको छ । अब भने विगतको उपलब्धिमा मात्र सीमित नभई अझ जिम्मेवार, प्रभावकारी र पाठक तथा दर्शकमैत्री बन्दै जानुपर्ने चुनौती हाम्रो अगाडि छ । हामीले मध्य नेपालका पाठकलाई मध्य नेपालले कस्ता सामग्री प्रकाशन गरेको देख्न चाहनुहुन्छ भनेर सोधेका थियौं । प्रस्तुत छ, पाठक र दर्शकको रुपमा समाजमा विभिन्न क्षेत्रका व्यक्तित्वबाट आएका प्रतिक्रिया :
मधु राणा (उपसभापति)
नेपाल रेडक्रस सोसाइटी, पर्सा अझै ठूलो फड्को मार्ने विश्वास छ
मध्य नेपाल सन्देश पत्रिका स्थापना समयदेखि नै पाठकको रुपमा निरन्तर अध्ययन गर्दै आइरहेकी छु । मध्य नेपाल सन्देश पत्रिका मधेश प्रदेशमा महिलाद्वारा सञ्चालित पहिलो पत्रिकाको रुपमा स्थापित भएको छ । महिलाहरूलाई बाहिर समाजमा निस्कनसमेत गाह्रो भएको अवस्थामा पत्रिकाजस्तो जोखिमपूर्ण पेशालाई रोजेर अगाडि बढ्नु आफैंमा साहसिक काम हो । मानिसहरुले महिलाले के गर्न सक्छन् भनेर प्रश्न गरिरहेको अवस्थामा महिलाले आँट गरे जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने आत्मविश्वास, आँट र हिम्मत दिन मध्य नेपाल सन्देश पत्रिका सफल भएको छ । कतिपय पत्रिकाहरू एक–दुई वर्ष सञ्चालन भएर बन्द भएका छन् भने मध्य नेपाल सन्देश पत्रिका निरन्तर रुपमा प्रकाशित भइरहेको छ ।
यस पत्रिकाले समाचारमात्र प्रकाशित नगरी समाजमा भइरहेका विकृति, विसंगति, महिलाका भोगाइ र सफलताका कथालगायत विभिन्न विषयवस्तु खोजी गरी समाचारका माध्यमबाट सार्वजनिक गर्दै महिलाहरुलाई समाजमा अगाडि बढ्न हौसला प्रदान गरेको पक्ष सराहनीय छ । महिलाको अधिकारका विषयमा जानकारी नभएका महिलालाई अधिकारबारे सचेत गराउन पनि पत्रिका सफल भएको छ । पहिलाको तुलनामा अहिले महिलाहरुमा धेरै चेतना आएको छ । अब आफूमाथि भएको दुव्र्यवहारको खुलेर विरोध गर्न सक्ने भएका छन् । आज जुनसुकै क्षेत्रमा पनि महिला अगाडि बढिरहेका छन् । यसमा पत्रिकाले निरन्तर उठाउँदै आएका विषयवस्तुको पनि महत्वपूर्ण भूमिका रहेको मैले पाएकी छु । महिलाको परिस्थिति, महिलाले पाउने अधिकार तथा महिलाको स्वेच्छिक मान्यता दिलाउने अधिकारजस्ता विषयहरु पत्रिकामा समेटिँदै आएका छन् । सुधार गर्नुपर्ने विषयहरु कहिल्यै सकिँदैनन् । त्यसैले पत्रिकामा समेटिएका यस्ता विषयवस्तुलाई निरन्तर प्राथमिकता दिँदै जाने हो भने मध्य नेपाल सन्देश पत्रिकाले अझै ठूलो फड्को मार्ने विश्वास लिएकी छु ।
सलमा खातुन(उपाध्यक्ष)
दिव्य विकास स्रोत केन्द्रराम्रो गर्ने चुनौती सधैं रहन्छ
मधेशमा महिलाहरू विभिन्न क्षेत्रमा पछाडि पारिँदै आएको र पुरुषले गर्ने काम महिलाले गर्न सक्लान् कि नसक्लान् भन्ने प्रश्न उठिरहेको समयमा पत्रकारिताजस्तो चुनौतीपूर्ण पेशामा मध्य नेपाल सन्देशको स्थापना भएको हो । सुरुवाती चरणमा म पनि मध्य नेपालको अंग भएर काम गर्ने अवसर पाएकी थिएँ । स्थापनाकालमा काम गर्न हौसला दिनुको सट्टा निरुत्साहित पार्ने प्रवृत्ति बढी थियो । यस्ता चुनौतीहरूको सामना गर्दै मध्य नेपाल निरन्तर अगाडि बढ्दै आएको छ र प्रगतिको पाइला चालिरहेको छ । आफ्ना विषयवस्तुको प्रचारबाजी गर्नुभन्दा विकास पत्रकारितालाई बढी प्राथमिकता दिँदै पैरवी पत्रकारितामार्फत समाजका मुद्दा उठाउँदै आएको छ । यही नै मध्य नेपालको सफलताको महत्वपूर्ण आधार हो ।
सुरुवाती दिनदेखि जोडिएको संस्थाले आज सफलता हासिल गरेको देख्दा प्रत्येक वार्षिक उत्सवमा गर्वको महसुस हुन्छ । देशमै नमूना पत्रिकाको रुपमा स्थापित हुँदै महिला नेतृत्वको उदाहरण प्रस्तुत गरिरहेको देख्दा अझ गौरव लाग्छ । नेतृत्व कसले गरेको छ र आफ्नो टिमलाई कसरी अगाडि बढाएको छ भन्ने कुराले संस्थाको सफलतामा ठूलो अर्थ राख्छ । सफलताको अनुपम उदाहरण मध्य नेपाल सन्देश पत्रिका बनेको छ ।
हामीले जति राम्रो काम गरे पनि अझ राम्रो गर्ने चुनौती सधैं रहन्छ । समाजको अपेक्षा निरन्तर बढ्दै जाने भएकाले पत्रिकाले अझ सजग र जिम्मेवार भएर आमजनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ । महिला, युवा, विपन्न तथा सीमान्तकृत वर्गका सवालमा निरन्तर आवाज उठाउँदै सम्बन्धित पक्षलाई प्रश्न गर्न छोड्नु हुँदैन । राष्ट्रियस्तरमा बनाएको पहिचानलाई कायम राख्दै आगामी दिनमा अझ प्रभावकारी काम गरेर मध्य नेपाल सन्देश प्रेरणाको स्रोत बन्न सफल हुनेछ भन्ने विश्वास छ ।
प्रतिमा चौरसिया (सचिव)
पर्सा जिल्ला बार एसोशिएसन
दैनिक पत्रिकाको रुपमा पढ्न पाइयोस्
मध्य नेपाल सन्देश पत्रिकाको स्थापना भएदेखि नै नियमित रुपमा पढ्दै आएको छु । पत्रिकामा हुनुपर्ने स्तरीयता यस पत्रिकामा पाइन्छ । महिलाहरूको जागरुकता र सक्रियताले अन्य महिलाहरूलाई पनि प्रेरणा मिलिरहेको देखिन्छ । मध्य नेपाल सन्देशले स्थानीय समाचारलाई प्राथमिकता दिएको पाइन्छ । कतिपय मिडियाहरूले सही र गलत समाचार छुट्याउन नसकी जस्ताको तस्तै प्रकाशन गर्ने गरेका हुन्छन्, जसले समाजमा नकारात्मक असर पर्न सक्छ । तर, मध्य नेपाल सन्देशले स्थानीय समाचारसँगै राष्ट्रिय समाचारलाई पनि स्थान दिँदै स्थानीय समुदायलाई सकारात्मक रुपमा सहयोग पुग्ने विषयलाई समेटेको देखिन्छ ।
स्थानीय निकायमा कार्यरत तथा सम्बन्धित विभिन्न व्यक्तिहरू पत्रिकासँग जोडिएको अनुभूति हुन्छ । राजनीतिक, शिक्षा, स्वास्थ्य, महिला, युवा तथा सामाजिक क्षेत्रका विषयलाई पत्रिकाले समेट्दै आएको छ । कसले के कस्ता काम गरिरहेको छ र समाजका लागि के राम्रो हुन्छ भन्ने विषयमा सत्य समाचार बाहिर आउँदा गर्व महसुस हुन्छ । मध्य नेपाल सन्देश साप्ताहिकबाट दैनिक पत्रिकाको रुपमा पढ्न पाइयोस् भन्ने चाहना छ । पत्रिकाले गलत सूचना वा अफवाह फैलाउने किसिमका समाचार प्रकाशित गरेको पाइँदैन । वीरगञ्ज व्यवसायिक क्षेत्र भएकाले कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा जोड दिइएको पाइन्छ । तर, आम्दानीका लागि गरिने विभिन्न गतिविधिमा उपभोक्ता संरक्षणका पक्षमा पर्याप्त ध्यान पुगेको देखिँदैन । विशेषगरी खाद्य पदार्थमा हुने मिसावट नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका विषयमा पनि पत्रिकाले निरन्तर समाचार र खोजमूलक सामग्री प्रकाशन गरोस् भन्ने अपेक्षा राखेको छु ।
ध्रुवसिंह ठकुरी(अध्यक्ष)
नेपाल भोजपुरी प्रतिष्ठान, पर्सासाहित्यिक रचनाहरूलाई स्थान दिइए राम्रो हुन्छ
मध्य नेपाल सन्देश पत्रिकाका विभिन्न विषयवस्तु मलाई निकै मन पर्छन् । विशेषगरी पत्रिकाका मुख्य पृष्ठमा समेटिने समाचारहरू समयसापेक्ष र समसामयिक हुने भएकाले पत्रिकाप्रति मेरो आकर्षण बढेको छ । स्थानीय तथा समसामयिक विषयलाई प्राथमिकता दिँदै समाचार प्रस्तुत गर्ने शैली पनि प्रभावकारी लाग्छ । यद्यपि, पत्रिकालाई अझै आकर्षक र प्रभावकारी बनाउन केही नयाँ पक्षहरू समेट्न सकिने सम्भावना देखिन्छ । साहित्य समाजको सिंगार हो । त्यसैले पत्रिकाको बीच भागमा कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक रचनाहरूलाई नियमित रूपमा स्थान दिइएमा पत्रिकाको सौन्दर्य र आकर्षण अझ बढ्ने थियो । साहित्यिक सामग्रीले पाठकलाई सूचना र समाचारसँगै सिर्जनात्मक तथा मनोरञ्जनात्मक अनुभूति पनि प्रदान गर्छ । यसले पत्रिकालाई सबै उमेर समूहका पाठकका लागि थप रुचिकर बनाउन सहयोग पु¥याउनेछ ।
विशेषगरी बालबालिकाका सिर्जना र प्रतिभालाई प्राथमिकता दिँदै उनीहरूले लेखेका कविता, कथा, चित्रकला, निबन्ध, मुक्तक तथा अन्य साहित्यिक र कलात्मक सामग्री प्रकाशन गर्ने व्यवस्था गर्न सके निकै राम्रो हुने थियो । यसबाट बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने उपयुक्त माध्यम पाउनेछन् । साथै, आफ्ना सिर्जना पत्रिकामा प्रकाशित भएको देख्दा उनीहरूमा लेखन, पठन र सिर्जनशीलताप्रति उत्साह बढ्नेछ । अभिभावक तथा परिवारका अन्य सदस्यमा पनि पत्रिकाप्रति चासो बढ्न सक्छ ।
उमा मिश्र (उप–प्राध्यापक)
ठाकुरराम बहुमुखी क्याम्पससमाजमा चेतना विस्तार गर्नु पर्दछ
मध्य नेपाल सन्देश पत्रिका आरम्भ भएदेखि नै आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढिरहेको छ । सञ्चारकर्मी महिलाद्वारा सञ्चालित यस पत्रिकाले विभिन्न चुनौतीको सामना गर्दै निर्भीक रूपमा समाजका सवाललाई उठाउँदै आएको छ । जोखिम मोलेर भए पनि सामाजिक, आर्थिक, मानसिक तथा पारिवारिक रूपमा पछाडि पारिएका महिलाका पीडा, अनुभव र संघर्षलाई अभिव्यक्त गर्ने अवसर पत्रिकाले प्रदान गरेको छ ।
दुरदराजमा रहेका शिक्षक, उद्यमी, प्राध्यापक, गृहिणी, सामाजिक अभियन्ता तथा विभिन्न पेशामा आबद्ध महिलाले आफ्ना भोगाइ र अनुभव सार्वजनिक गर्ने स्थान पाएका छन् । यस्ता सामग्रीले पहुँचबाट टाढा रहेका महिलालाई प्रेरणा र आत्मविश्वास प्रदान गरेको छ । समयसँगै समाज शिक्षित र आधुनिक बन्दै गए पनि महिलाप्रतिको हिंसा, विभेद र आक्रमणका घटना अझै देखिनु चिन्ताको विषय हो । यस अवस्थामा मध्य नेपाल सन्देशले विभिन्न कार्यक्रममार्फत समाजलाई सचेत र मार्गदर्शन गर्ने प्रयास गरिरहेको छ । पत्रिकाले दाइजो प्रथा, महिला शिक्षा तथा महिलाका अधिकारका विषयमा निरन्तर समाचार र सामग्री प्रकाशित गर्दै आएको छ । विशेषगरी मधेश क्षेत्रमा चेतनाको कमीका कारण दाइजो प्रथा अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । अभिभावकमा पर्याप्त चेतना विकास हुन नसक्दा महिलाले अनेक समस्या भोगिरहेका छन् । त्यस्तै, शिक्षित महिलाले प्राप्त गरेको शिक्षा र स्वतन्त्रताको सदुपयोग गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ ।
सम्बन्ध विच्छेद बढ्दै जानु र पुरुषमा रहेको परम्परागत सोच परिवर्तन हुन नसक्नु पनि सामाजिक चुनौती हुन् । महिलाहरू आफ्नो पहिचानसहित अघि बढिरहेको वर्तमान समयमा पुरुषले महिलाको अस्तित्व स्वीकार गर्दै सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । यस्ता विषयलाई अझ प्रभावकारी रूपमा समाचार तथा विचारमार्फत उठाउन सके मध्य नेपाल सन्देश अझ रोचक, सशक्त र समाज परिवर्तनको माध्यम बन्न सक्छ ।
जगदीशप्रसाद शर्मा (प्रधानसम्पादक)
प्रतीक दैनिक
विश्लेषणमा जोड दिनु पर्दछ
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले दिएका विषयवस्तु राम्रा छन् । पत्रिकाले प्रगति गर्दै गइरहेको छ । साप्ताहिक पत्रिका भएकाले पत्रिकालाई अझै प्रभावकारी र स्तरीय बनाउन एक हप्ताभरि भएका समाचारको विश्लेषण गरी विषयवस्तुलाई प्रकाशित गर्दा अझ राम्रो हुन्थ्यो । अहिले मानिसको रुची राजनीतिप्रति गइरहेको छ । राजनीतिक समाचारका विश्लेषण, सामाजिक क्रियाकलाप, आर्थिक स्थितिले समाजलाई कस्ता असर गरिरहेको छ यस्ता विषयवस्तुको विश्लेषण गरी समाचारको माध्यामबाट उठान गर्नु पर्दछ ।
कमलमोहन पोखरेल
अधिवक्ता
समाजिक उत्तरदायित्वको परिचायक
वीरगञ्जबाट सञ्चारकर्मी महिलाहरूको सक्रियता, लगनशीलता र साहसका साथ प्रकाशित हुँदै आएको मध्य नेपाल साप्ताहिकले आफ्नो प्रकाशन यात्राको ११औँ वार्षिक उत्सव मनाइरहेको अवसरमा पत्रिकाको कानूनी सल्लाहकारको हैसियतले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यो यात्रा केवल समयको गणनामात्र होइन, पत्रकारिताप्रतिको निरन्तर प्रतिबद्धता, सत्य र तथ्यको पक्षमा उभिने साहस तथा समाजप्रतिको उत्तरदायित्वको परिचायक हो । विशेषतः महिला सञ्चारकर्मीहरूले मात्र प्रकाशनमा ल्याएको यस पत्रिकाले महिला सशक्तीकरण, सामाजिक जागरण र स्थानीय आवाजलाई प्राथमिकता दिँदै पत्रकारिताको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएकोमा गर्व महसुस गर्दछु । लोकतन्त्रको सुदृढीकरण, सुशासन, मानवअधिकार, सामाजिक न्याय र प्रेस स्वतन्त्रताको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । आगामी दिनमा पनि मध्य नेपाल साप्ताहिकले निष्पक्ष, निर्भीक, विश्वसनीय र जिम्मेवार पत्रकारिताको माध्यमबाट समाजलाई सही दिशा प्रदान गर्दै अझ उचाइ हासिल गरोस् भन्ने कामना गर्दछु ।
अमय दास (कोषाध्यक्ष)
पर्सा जिल्ला बार एशोसियसन
नियम पालनाका कुरालाई उठान गर्नुपर्ने देखिन्छ
मध्य नेपाल सन्देश पत्रिकाका धेरै ग्राहक पत्रिका प्रकाशन हुने दिन पर्खेर बसिरहेका हुन्छन् । मध्य नेपाल सन्देश पत्रिकामा प्रकाशित विषयवस्तु अत्यन्तै राम्रा छन् । शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक पक्षलाई समेटेर समाचार लेखेको पाइन्छ । समसामयिक समस्याको विषयमा स्थानीय नागरिकका विचारलाई पत्रिकाले स्थान दिएर प्रकाशन गरेको पाइन्छ । समाज रुपान्तरका लागि नागरिक सचेतना जगाउने विषयमा स्थानीय सरकार, प्रशासन र नागरिकलाई जवाफदेही बनाउने खालका समाचार छन् । मानिस शिक्षित भए पनि नियम पालना गर्नेक्रममा अझै पनि चुकिरहेको छन् । सवारी साधन, पैदलयात्री सबैका लागि ट्राफिक नियम पालनाका कुरालाई उठान गर्नुपर्ने देखिन्छ ।