युक्रेनका पूर्वसेनाप्रमुख जनरल ओलेक्सान्द्र सिरस्कीले रुसी सैनिकको ठूलो क्षतिका कारण युद्धको अग्रपंक्ति स्थिर भएको र रुसको सैन्य अग्रगति रोकिएको दाबी गरेका छन् ।
बीबीसीसँगको विशेष अन्तर्वार्तामा सिरस्कीले युद्धमा रुसले युक्रेनको तुलनामा छ गुणा बढी क्षति बेहोरेको बताए । उनका अनुसार मृतकको सङ्ख्या मात्रै गणना गर्दा रुसी क्षति युक्रेनको भन्दा ११ गुणासम्म बढी छ । यद्यपि, दुवै देशले युद्धमा मारिएका सैनिकको आधिकारिक सङ्ख्या सार्वजनिक गरेका छैनन् ।
सिरस्कीले सन् २०२६ को पहिलो छ महिनामा रुसले समग्रमा ६१ वर्ग किलोमिटर मात्रै भूभाग कब्जा गर्न सकेको दाबी गर्दै यसलाई अग्रपंक्ति स्थिर भएको सङ्केतका रूपमा व्याख्या गरेका छन् । इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्ल्यू) को एक प्रतिवेदनले पनि सन् २०२६ को सेप्टेम्बरमा रुसले कब्जा गरेकोभन्दा बढी भूभाग गुमाएको उल्लेख गरेको छ ।
सन् २०२४ मा युक्रेनको सेनाको नेतृत्व सम्हालेका सिरस्कीलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै वर्ष पदबाट हटाएका थिए । त्यसपछि मेजर जनरल मिखाइलो ड्रापात्यीलाई नयाँ नेतृत्वको जिम्मेवारी दिइएको थियो ।
पदबाट हटाइएपछि पहिलोपटक बीबीसीसँग बोलेका सिरस्कीले आफूलाई पुरानो शैलीको सैन्य नेतृत्वकर्ता भन्ने आलोचनाको खण्डन गरेका छन् । आफ्नो नेतृत्वमा युक्रेनी सेनाले ड्रोनको प्रयोग अभूतपूर्व रूपमा विस्तार गरेको र शत्रुको नियन्त्रणमा रहेका क्षेत्रभित्र दुई हजार किलोमिटरभन्दा टाढासम्म प्रहार गर्न सक्ने क्षमता विकास गरेको उनको दाबी छ ।
उनका अनुसार अहिले ड्रोन आक्रमणका कारण रुसी सेनाले बेहोर्ने क्षतिको ८० प्रतिशत हिस्सा हुने गरेको छ । यद्यपि, यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।
सिरस्कीले तत्कालीन रक्षामन्त्री मिखाइलो फेदोरोभसँग हतियार तथा सैन्य सामग्री खरिदसम्बन्धी विषयमा मतभेद भएको पनि खुलासा गरेका छन् । फेदोरोभले ड्रोनलाई प्राथमिकता दिँदा अग्रपंक्तिमा आवश्यक पर्ने मानवरहित स्थल सवारीसाधन, पिकअप गाडी र मोटरसाइकलजस्ता सामग्रीको आपूर्तिमा असन्तुलन भएको उनको आरोप छ । ड्रोनकै आपूर्तिसमेत आवश्यकताको आधा मात्र रहेको उनले बताएका छन् ।
युक्रेनी सेनाले पूर्वी सहर अव्दिभ्का र वुहलेदारलगायत क्षेत्रबाट पछि हट्नुपरेका घटनामा सैनिकहरूले नेतृत्वको आलोचना गरेका थिए । केही सैनिकले रुसी सेनाले घेराबन्दी गर्न लाग्दासमेत आफ्नो स्थान नछाड्न आदेश दिइएको र पछि हट्ने अनुमति पाउँदासम्म अवस्था जटिल भइसकेको बताएका थिए । सिरस्कीले यस्ता परिस्थिति अग्रपंक्तिमा उत्पन्न हुने स्वीकार गर्दै युक्रेनले आफूभन्दा धेरै शक्तिशाली सेनासँग लडिरहेको तर्क गरेका छन् ।
उनले सन् २०२४ को अगस्टमा रुसको कुर्स्क क्षेत्रमा गरिएको युक्रेनी सैन्य प्रवेशलाई पनि आवश्यक कदमका रूपमा बचाउ गरेका छन् । उक्त कारबाहीले रुसी सेनाको आक्रमणलाई अवरुद्ध गरेको र पूर्वी तथा दक्षिणी क्षेत्रमा दबाबमा रहेका युक्रेनी सैन्य एकाइलाई पुनः सङ्गठित हुने अवसर दिएको उनको भनाइ छ ।
युरोपेली सहयोगीहरूलाई सम्बोधन गर्दै सिरस्कीले रुसको सम्भावित क्षेत्रीय महत्त्वाकाङ्क्षालाई हल्का रूपमा नलिन आग्रह गरेका छन् । युरोपले सम्भावित युद्धका लागि अहिलेबाटै तयारी गर्नुपर्ने उनको सुझाव छ ।
भविष्यको युद्धमा रोबोट, स्वचालित प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई) को भूमिका अझ बढ्ने पनि सिरस्कीले बताएका छन् । उनका अनुसार ट्याङ्कजस्ता परम्परागत हतियारलाई समेत एआईमा आधारित प्रणालीले थप प्रभावकारी बनाउन सक्छन् । तर, यस्ता प्रविधिको सञ्चालन र नियन्त्रणमा मानवीय भूमिका निर्णायक रहने उनको भनाइ छ ।