प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन्। प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रहरी अस्पताललाई शैक्षिक संस्थाका रूपमा विस्तार गर्ने योजना अघि सारेका हुन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई थप सक्षम, प्रविधिमैत्री र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनको सन्देश प्रहरी महानिरीक्षक कार्कीले समारोहमा वाचन गरेका थिए।
प्रधानमन्त्री शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्नुका साथै साइबर तथा वित्तीय अपराध नियन्त्रणमा प्रभावकारी क्षमता निर्माण गर्ने र कृत्रिम बौद्धिकता (एआई) सहित आधुनिक सुरक्षा प्रणालीको प्रयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको सन्देशमा उल्लेख गरेका छन्।
उनले विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम तथा पूर्वाधारका क्षेत्रमा नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न आवश्यक पहल गरिने बताएका छन्।
आन्तरिक शान्ति र सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत नागरिकको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्।
प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका छन्।