आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमेरतस्थित ओमान क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपालले आइतबार भएको आफ्नो पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो । उक्त खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतक प्रहार गरेका थिए । रोहितको उत्कृष्ट ब्याटिङ र बलरहरूको प्रभावकारी प्रदर्शनमा नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।
यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई पराजित गरेको थियो । लगातार राम्रो प्रदर्शन गरिरहेको ओमानविरुद्ध नेपाललाई आजको खेलमा आफ्नो ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्ने चुनौती हुनेछ ।
लिग–२ को शीर्ष चारमा रहेर सिधै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ । त्यसैले अब नेपालको मुख्य लक्ष्य बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित राख्नु र विश्वकप छनोटको प्लेअफका लागि तयारी गर्नु रहेको छ ।
लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा रहेको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ । ओमान भने २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।
शीर्ष चारमा पर्न नसकेपछि नेपालले अब एकदिवसीय विश्वकप छनोटको यात्रा अघि बढाउन प्लेअफ खेल्नुपर्नेछ । उक्त प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् ।
लिग–२ मा नेपालले अब पाँचौँ वा छैटौँ स्थानमा रहेर प्रतियोगिता टुंग्याउन सक्नेछ । बाँकी खेलको नतिजाले नेपालको अन्तिम स्थान निर्धारण गर्नेछ । त्यसैले आजको खेल नेपालका लागि अंकतालिकामा सुधार गर्ने र आगामी चुनौतीअघि आत्मविश्वास बढाउने अवसरसमेत हुनेछ ।