विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। करिब १० वर्ष लामो प्रेमसम्बन्धपछि ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाले मंगलबार, अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा वैवाहिक बन्धनमा बाँधिएका हुन्।
प्रेस विज्ञप्तिअनुसार उनीहरूको विवाह समारोह निजी र पारिवारिक वातावरणमा सम्पन्न भएको थियो। समारोहमा दम्पतीका पाँच सन्तानको समेत सहभागिता रहेको जनाइएको छ।
विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा आफू र जर्जिनाको हातमा विवाहको औँठी लगाइएको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरसँगै उनले ‘C ❤️ G’ लेखेका छन्।
जर्जिनाले पनि आफ्नो सामाजिक सञ्जालमार्फत विवाहको खुसी सार्वजनिक गर्दै स्पेनी भाषामा “Sí, quiero. En esta y en todas mis vidas” लेखेकी छन्। यसको अर्थ ‘हो, म चाहन्छु। यो जीवनमा र मेरा सबै जीवनमा’ भन्ने हुन्छ।
जर्जिनाले सन् २०२५ अगस्ट ११ मा सामाजिक सञ्जालमार्फत रोनाल्डोसँगको इन्गेजमेन्ट सार्वजनिक गरेकी थिइन्। त्यतिबेला उनले रोनाल्डोको हातमाथि आफ्नो हात राखिएको तस्बिर सार्वजनिक गर्दै औँठीसमेत देखाएकी थिइन्।
२०१७ मा सुरु भएको थियो प्रेमसम्बन्ध
रोनाल्डो र जर्जिनाको पहिलो भेट सन् २०१७ मा भएको थियो। त्यतिबेला जर्जिना स्पेनस्थित एक गुच्ची स्टोरमा बिक्री सहायकका रूपमा कार्यरत थिइन्। भेटपछि उनीहरूबीच प्रेमसम्बन्ध सुरु भएको थियो।
सन् २०१७ को जनवरीमा उनीहरू पहिलोपटक ज्युरिखमा आयोजित द बेस्ट फिफा फुटबल अवार्ड्स समारोहमा रेड कार्पेटमा सँगै देखिएका थिए। सोही वर्षको मे महिनामा रोनाल्डोले सामाजिक सञ्जालमा जर्जिनासँगको तस्बिर सार्वजनिक गर्दै सम्बन्धलाई औपचारिक रूपमा सार्वजनिक गरेका थिए।
जर्जिनाको नेटफ्लिक्स रियालिटी सिरिज आई एम जर्जिना मा रोनाल्डोले उनीसँगको सम्बन्धको सुरुवाती दिनबारे बताएका थिए। उनले जर्जिनालाई आफ्नो उमेरभन्दा बढी परिपक्व र निकै रोचक युवतीका रूपमा वर्णन गरेका थिए। यद्यपि, सुरुवातमा यो सम्बन्ध यति लामो समयसम्म जाने आफूले अपेक्षा नगरेको उनको भनाइ थियो।
रोनाल्डो र जर्जिनाका चार सन्तान छन् भने रोनाल्डोको अघिल्लो सम्बन्धबाट जन्मिएका क्रिस्टियानो जुनियरसहित उनीहरूको परिवारमा पाँच सन्तान छन्। उनीहरूका जुम्ल्याहा इभा मारिया र माटेओ, छोरी अलाना र बेला तथा क्रिस्टियानो जुनियर परिवारका सदस्य हुन्।
करिब एक दशक लामो प्रेमसम्बन्धपछि रोनाल्डो र जर्जिनाले विवाह गरेसँगै उनीहरूको सम्बन्धले औपचारिक रूप लिएको छ।