सामाजिक सञ्जाल फेसबुकमा एक महिलालाई ‘गृहमन्त्रीको आमा’ भन्दै भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । यससँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।
मंगलबार भक्तपुरको सूर्यविनायकबाट कलाकार छत्र बोगटीलाई पक्राउ गरेको प्रहरीले बुधबार दाङ घर भएका २८ वर्षीय शालिकराम न्यौपाने र दोलखा घर भएका ३७ वर्षीय नवरत्न तामाङलाई पक्राउ गरेको हो । मनोरञ्जन क्षेत्रमा छत्र बोगटी सर्विन बोगटीका नामले परिचित छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार तीनै जनाविरुद्ध ४९ वर्षीया महिलाले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी छन् ।
पक्राउ परेका न्यौपाने चलचित्र पत्रकार सङ्घका केन्द्रीय सदस्यसमेत हुन् । उनी मंगलबारदेखि परिवारको सम्पर्कमा नआएको भन्दै उनकी पत्नी अस्मिता पाण्डेले बुधबार प्रहरी वृत्त सिंहदरबारमा निवेदन दिएकी थिइन् । पछि उनी पक्राउ परेको खुलेको हो ।
प्रहरीका अनुसार न्यौपानेले पहिलोपटक ‘इन्टरटेनमेन्ट रिल्स’ नामक फेसबुक पेजबाट आफूलाई ज्ञानु तामाङ बताउने महिलाको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा महिलालाई गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै प्रस्तुत गरिएको थियो । त्यसपछि भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको थियो ।
अन्य दुई आरोपीले पनि उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेको प्रहरीको भनाइ छ । भिडियोमा देखिएकी महिलाले सुधन गुरुङ आफ्नो छोरा भएको दाबी गरेकी छन् । यद्यपि, उनी गृहमन्त्री गुरुङकी आमा भएको पुष्टि भएको छैन ।
एसपी थापाका अनुसार पीडित महिलाले अनुमति नलिई भिडियो खिचेर सार्वजनिक गरी आफ्नो वैयक्तिक गोपनीयता हनन गरेको भन्दै जाहेरी दिएकी हुन् ।
प्रहरीका अनुसार जोरपाटी क्षेत्रमा बस्दै आएकी ज्ञानु तामाङ विभिन्न स्थानमा माता बनेर हिँड्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनामाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।