मधेस प्रदेशमा बढ्दै गएका यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा तीनदिने सचेतनामूलक अभियान सुरु गरिएको छ ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरीले यौनजन्य हिंसा रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गरेको हो ।
वीरगञ्जस्थित घण्टाघरमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले अभियानको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा यस्ता घटना भइरहेकाले प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।
यौनजन्य हिंसा नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै एसएसपी पल्ली मगरले नागरिक समाज, विभिन्न संघसंस्था, विद्यार्थी तथा आम नागरिकको सक्रिय सहयोग आवश्यक रहेको बताए । समुदायसँग सहकार्य गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता थियो ।
अभियान उद्घाटनपछि घण्टाघरबाट सचेतनामूलक र्याली निकालिएको थियो । नगरका विभिन्न भागको परिक्रमा गर्दै र्याली पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने अभियानमार्फत यौनजन्य हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै यसको रोकथाम तथा नियन्त्रणमा समुदायको सहभागिता बढाउने लक्ष्य राखिएको प्रहरीले जनाएको छ ।