नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
यो जितसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोडेको छ । तीन जित र तीन हार बेहोरेको विराटनगर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगरको प्लेअफ सम्भावना कायमै रहेको छ । उसले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ ।
यता पोखराको भने ६ खेलमा पाँचौँ हार हो । २ अंकसहित तालिकाको पुछारमा रहेको पोखरा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।
विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्कासहित ३३ रन जोडे ।
त्यस्तै इसुरु उडानाले १२ बलमा ४ चौका र १ छक्कासहित अविजित २५ रन बनाए । उनले विजयी चौका प्रहार गरेका थिए । शेहान जयसूर्याले १४ बलमा २ चौकासहित अविजित १७ रनको योगदान दिए ।
विराटनगरका इमरान शेखले १० र एन्जेलो म्याथ्युजले ८ रन बनाए । चरिथ असलंका र प्रतिश जिसीले खाता खोल्न सकेनन् ।
पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । पोखराका ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एक समय ७६ रनमा ५ विकेट गुमाएको पोखराका लागि युवराज र धनन्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । धनन्जयले १५ बलमा १ चौका र १ छक्कासहित २२ रन बनाए । सन्नीले ११ बलमा १ छक्कासहित १२ रन जोडे ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।
यससँगै सन्दीप एनपीएल इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।
सन्दीपले यसअघि प्रतियोगिताका पाँच खेलमा एक विकेट मात्र लिएका थिए । तर पोखराविरुद्ध एकै खेलमा ६ विकेट लिँदै उनले उत्कृष्ट पुनरागमन गरेका छन् ।
उनको ६ विकेटको प्रदर्शन एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो प्रदर्शनसमेत बनेको छ । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।
विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि १–१ विकेट लिए ।