नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता–कार्यकर्तालाई मानसिक रूपमा तयार रहन आग्रह गरेका हुन्।
उनले आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नपर्ने उल्लेख गर्दै असह्य परिस्थिति सिर्जना भए तत्काल आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए।
आतंकपूर्ण वातावरण र गतिविधिका कारण आफूहरू केही पछाडि धकेलिएको भए पनि यस्तो अवस्था सधैँ कायम नरहने ओलीको भनाइ थियो। उनले आत्मविश्वास र उच्च मनोबलका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।
ओलीले चुनावमार्फत पार्टी निर्माण गर्न खोज्नेहरूलाई आगामी निर्वाचनमा पार्टीकै शक्तिका आधारमा पराजित गर्ने दाबीसमेत गरे। उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला हुन ढिलाइ भएको टिप्पणी गरे।
अदालतले अन्य विषयमा छिटो फैसला गर्ने गरे पनि प्रतिनिधिसभा विघटनको मुद्दामा अहिलेसम्म निर्णय गर्न नसकेको उनको भनाइ थियो। समयमा न्याय नपाउनु र ढिलो न्याय पाउनु उस्तै भएको उल्लेख गर्दै ओलीले अदालतबारे धेरै बोल्दा आफूमाथि मानहानीको मुद्दा थपिन सक्ने भन्दै थप टिप्पणी गर्न चाहेनन्।
उनले आगामी दिनमा जनताको घरदैलोमा पुग्न, किसान तथा सर्वसाधारणसँग संवाद गर्न र पार्टीलाई थप सशक्त बनाउन पनि नेता–कार्यकर्तालाई निर्देशन दिए। एमालेले आफूलाई देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न सक्रिय हुनुपर्ने ओलीको भनाइ थियो।