वीरगञ्ज जीतपुर गौशालाको १२०औँ गोपाष्टमी उत्सव तथा साधारण सभा वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा भव्य रूपमा सम्पन्न भएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्यक्रममा गाईको संरक्षण, संवर्द्धन तथा हिन्दू धार्मिक परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य सुशील साह कानुले गाईको संरक्षण धार्मिक आस्थासँगै नेपाली समाजको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणसमेत भएको बताए ।
उनले हिन्दू धर्ममा गाईलाई आस्था र श्रद्धाको प्रतीकका रूपमा सम्मान गरिँदै आएको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।
गौशालाजस्ता ऐतिहासिक तथा धार्मिक संस्थाले समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो ।
सांसद कानुले वीरगञ्ज जीतपुर गौशालाले लामो समयदेखि गाईको संरक्षण तथा धार्मिक परम्पराको निरन्तरताका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे । यस्ता ऐतिहासिक संस्थाको संरक्षण तथा विकासमा स्थानीय समुदाय, समाजसेवी र सरोकारवालाको सहकार्य आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा गौशालाका पदाधिकारी नरेन्द्र साह, नुतन सरावगीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
१२०औँ गोपाष्टमी उत्सव तथा साधारण सभाले गौशालाको ऐतिहासिक महत्त्व स्मरण गराउँदै गाई संरक्षण र धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरताका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको थियो ।