अञ्जला श्रेष्ठ (व्यवसायी)
लालिगुँरास बुटिक, माइस्थानसाना व्यवसायीको पीडा सम्बोधन भएन
वीरगञ्जमा बढ्दो सवारी चाप र यात्रुको सहज आवतजावतका लागि सडक फराकिलो बनाउनु आवश्यक थियो। त्यसैले शहरको विकास सडकका लागि सकारात्मक विषय हो। तर, सडक विस्तारका क्रममा धेरैको घर भत्किँदा दुख पनि लागेको छ। सरकारले जुन गतिमा संरचना भत्काउने काम गरिरहेको छ, त्यही गतिमा निर्माण कार्य पनि अघि बढाउन सके मात्र विकासको वास्तविक अनुभूति हुनेछ।
सडक विस्तारका कारण मुख्य सडकका व्यवसायी मात्र होइन, त्यसबाहिर रहेका साना व्यवसायीसमेत ठूलो समस्यामा परेका छन्। बजार विस्थापित भएसँगै वीरगञ्जका धेरै घरधनीले सटर भाडा करिब ५० प्रतिशतसम्म बढाएका छन्। महँगो भाडा तिरेर व्यवसाय सञ्चालन गर्नसमेत कठिन अवस्था सिर्जना भएको छ। अन्योलग्रस्त बजारका कारण ग्राहकहरू आवश्यक सामान कहाँ पाइन्छ भन्ने अन्योलमा छन्। त्यसैले पहिलेको तुलनामा व्यापार निकै घटेको छ। चाडपर्व नजिकिँदै गर्दा पनि बजारमा अपेक्षित चहलपहल छैन। व्यापार नै ठप्पजस्तै भएसँगै घरभाडा, कर र अन्य नियमित खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता व्यवसायीमा बढ्दै गएको छ।
दीपेन्द्र कुमार जयसवाल (व्यवसायी)
वीरगञ्ज, पर्सा
सडक विस्तार छिटो सकिए व्यापारले गति लिन्छ
वीरगञ्जको मुख्य सडक विस्तार सुरु भएसँगै एकैपटक धेरै पसल हटाउनुपरेको अवस्था सिर्जना भयो। त्यसको प्रत्यक्ष असर यहाँका व्यवसायीहरूले भोगिरहेका छन्। अचानक पसल खाली गर्नुपर्दा धेरै व्यवसायीले नयाँ स्थानमा सटरसमेत पाउन सकेका छैनन्। जसका कारण उनीहरूको व्यापार पूर्ण रूपमा बन्द भएकै छ भने आम्दानीको स्रोतसमेत रोकिएको छ। हाल वीरगञ्जका अधिकांश व्यवसायी आर्थिक संकटबाट गुज्रिरहेका छन्। कतिपयले सटरको अभावमा सामान आफ्नै घरमा गोदाम बनाएर राख्न बाध्य भएका छन्।
व्यापार नहुँदा आम्दानी शून्यजस्तै भए पनि सरकारले तोकेको कर भने नियमित रूपमा तिर्नुपर्ने बाध्यता छ। अहिले वीरगञ्जको बजार निकै अन्योलग्रस्त बनेको छ। ग्राहकहरूलाई आवश्यक सामान कहाँ पाइन्छ भन्ने अन्योल छ। अर्कोतर्फ घरधनीहरूले मनपरी रूपमा सटर भाडा बढाएका छन्। महँगो भाडा लिँदा पनि अपेक्षाअनुसार व्यापार हुन नसक्दा व्यवसायी थप चिन्तित बनेका छन्।
सन्तोष सराफ (व्यवसायी)
वीरगञ्ज-९, पर्साबढ्दो सटर भाडाले व्यवसायी थप समस्यामा
वीरगञ्जमा भइरहेको सडक विस्तारले यहाँको व्यापार व्यवसायलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। मुख्य सडक मुख्यतया भत्काइएपछि सञ्चालनमा रहेका पसल अन्यत्र सार्नुपर्ने अवस्था आयो। तर, नयाँ स्थानमा उपयुक्त सटर पाउनसमेत निकै कठिन भयो। यही बाध्यताको फाइदा उठाउँदै घरधनीहरूले कम व्यापार हुने स्थानका सटरको भाडासमेत अप्रत्याशित रूपमा बढाएका छन्। अर्कोतर्फ दैनिकजसो हुने विद्युत् अवरोधले व्यवसाय सञ्चालनमा थप समस्या सिर्जना गरेको छ। चाडपर्व नजिकिँदै गर्दा व्यापार बढ्ने अपेक्षा गरिए पनि व्यवसायीहरू विभिन्न समस्यासँग जुधिरहेका छन्।
व्यापार घटे पनि सरकारलाई नियमित रूपमा कर तिर्नुपर्ने बाध्यता यथावत् छ। विशेषगरी १ नम्बर र २ नम्बर रोडका सटरहरूमा पहिले मासिक ५ हजार रुपैयाँ भाडा लिने घरधनीहरूले अहिले २० हजार रुपैयाँभन्दा बढी भाडा माग्न थालेका छन्। नयाँ स्थानमा सरेपछि व्यापार पनि पहिलेजस्तो हुन सकेको छैन। आम्दानी घट्दै जाँदा व्यवसाय सञ्चालन गर्न नै कठिन बन्दै गएको छ। स्थानीय सरकारले बजारको वास्तविक अवस्था बुझेर व्यवसायीहरूले भोगिरहेका समस्याको नियमित अनुगमन गर्नुपर्छ।
जुली श्रेष्ठ (व्यवसायी)
वीरगञ्जग्राहक घट्दा व्यवसाय संकटमा
वीरगञ्जमा भइरहेको सडक विस्तारले हाम्रो व्यवसायमा ठूलो असर गरेको छ। सञ्चालनमा रहेको पसल छाडेर अर्को स्थानमा सर्दा व्यापार उल्लेख्य रूपमा घटेको छ। मुख्य सडक भत्काइएपछि अधिकांश घरधनीले घरभाडा बढाउने अस्वस्थ रूपमा लिएका छन्। धेरै प्रयासपछि सटर त पाइयो, तर त्यसको भाडा मनपरी रूपमा बढाइएको छ। सडक विस्तारका कारण पसलहरू विभिन्न स्थानमा छरिएकाले ग्राहकलाई आवश्यक सामान कहाँ पाइन्छ भन्ने अन्योल सिर्जना भएको छ।
परिणामस्वरूप पहिलेको तुलनामा ग्राहकको संख्या उल्लेख्य रूपमा घटेको छ। घरधनीले पर्याप्त सुविधा नदिई व्यवसाय सञ्चालन गर्नु कठिन बनेको छ। एकातिर महँगो सटर भाडा तिर्नुपरेको छ भने अर्कोतर्फ व्यापार घट्नाले दैनिक खर्च धान्नसमेत समस्या भइरहेको छ। सटर भाडामा भएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्न सकियो भने व्यवसायीलाई ठूलो राहत मिल्नेछ।
सज्जन अग्रवाल (व्यवसायी)
वीरगञ्ज ६, महावीरस्थानव्यापार र सटर भाडाको दोहोरो मार
सडक विस्तारले व्यवसाय अझै प्रभावित बनाएको छ। वीरगञ्जको व्यापार करिब ७० प्रतिशतले प्रभावित भएको छ। विशेषगरी १ नम्बर र २ नम्बर रोडमा सटरको भाडा अस्वाभाविक रूपमा बढाइएको छ। पहिले मासिक ५ हजार रुपैयाँमा पाइने सटरको भाडा अहिले २० हजार रुपैयाँसम्म पुगेको छ। यसले पुराना व्यवसायीसमेत ठूलो आर्थिक दबाबमा परेका छन्। व्यवसायीले विस्थापनमा जाने कुरा उठाएछि धेरै घरधनी पछि हटेका छन्।
सडक विस्तारका क्रममा भत्काइएका संरचनाबाट निस्किएको भग्नावशेष फोहर तत्काल हटाउन सके पछाडिका क्षेत्रमा पनि व्यापार सञ्चालन सहज हुन सक्छ। केन्द्र सरकारले आवश्यक बजेटको व्यवस्था गरी बजार क्षेत्रलाई प्राथमिकतामा राखेर सडक निर्माणलाई तीव्र गतिमा अघि बढाउनुपर्छ। गण्डक वा भन्सार क्षेत्रभन्दा पहिले मुख्य बजारमा निर्माण कार्य सुरु गरिए बजार सफा, सुन्दर र व्यवस्थित बन्नेछ। व्यापार सुधारका लागि गरिने आर्थिक नीति पनि व्यवसायीमैत्री हुनुपर्छ। उद्योगधन्दा विस्तार नभएसम्म देशको अर्थतन्त्र बलियो बन्न सक्दैन। अहिलेका ग्राहक पहिलेभन्दा धेरै सचेत भएका छन्। केही वस्तुको मूल्य बढे पनि धेरै सामानको मूल्य घटेको छ। सरकारले कर नीतिमा केही सुधार गरे व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ। घरधनी र व्यवसायीसँग प्रष्ट लिखित सम्झौता गर्नुपर्छ। प्रत्येक वडा अध्यक्षले आफ्नो क्षेत्रबाट पहल गरी घरधनी र व्यवसायीबीच समन्वय गराउन सके अहिलेको अव्यवस्थित व्यापारलाई व्यवस्थित गर्न सकिन्छ।