फिफाले आफ्ना अध्यक्ष जियानी इन्फान्टिनो र संस्थालाई कमजोर बनाउने उद्देश्यले निरन्तर र योजनाबद्ध प्रयास भइरहेको आरोप लगाउँदै उनीमाथि सार्वजनिक भएका आरोपको कडा प्रतिवाद गरेको छ।
फिफाको यस्तो प्रतिक्रिया बेलायती सञ्चारमाध्यम डेली टेलिग्राफले इन्फान्टिनो युरोपेली फुटबल महासंघ (युइएफए)को महासचिव हुँदा उनीसँग सम्बन्ध रहेको भनिएकी एक महिलालाई युइएफएले सेवाबाट अलग हुँदा रकम दिएको दाबी गरेपछि आएको हो।
फिफाका प्रवक्ताले डेली टेलिग्राफलाई इन्फान्टिनोले उक्त आरोप पूर्ण रूपमा अस्वीकार गरेको र ती दाबीहरू तथ्यहीन रहेको बताएका छन्।
शनिबार जारी विज्ञप्तिमा फिफाले ‘आधारहीन दाबी’ र ‘प्रमाणित रूपमा गलत भनाइ’लाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुने जनाएको छ।
“फिफाका अध्यक्ष आफ्ना सदस्य संघहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित गरेका हुन् र उनी अझै पनि उनीहरूको म्यान्डेटअनुसार पदमा छन्,” फिफाले भनेको छ।
फिफा फर्वार्ड इन्टरप्राइज प्रस्तावले विवाद चर्कायो
इन्फान्टिनोमाथि युरोपेली फुटबल संघहरूबाट बढ्दो दबाब आउनुको प्रमुख कारण फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) सम्बन्धी विवादित प्रस्ताव हो।
यस योजनाअन्तर्गत व्यावसायिक तथा टिकट बिक्रीसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने र त्यसको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने प्रस्ताव गरिएको थियो। विवाद बढेपछि उक्त योजना अघि बढ्न सकेन।
युइएफएले इन्फान्टिनोप्रति आफ्नो विश्वास गुमेको बताएको छ। नर्वेजियन फुटबल संघकी अध्यक्ष लिसे क्लाभेनेसले समेत शुक्रबार इन्फान्टिनोलाई राजीनामा दिन आग्रह गरेकी छन्।
युइएफएले फिफाका कार्यक्रम बहिष्कार गर्ने चेतावनीसमेत कायमै राखेको छ। एफएफई योजना पुनः अघि नबढ्ने पर्याप्त सुनिश्चितता प्राप्त नभएको उसको भनाइ छ।
युरोपबाहिर इन्फान्टिनोलाई बलियो समर्थन
इन्फान्टिनोमाथिको विरोध मुख्यतः युरोपबाट आएको देखिन्छ। तर अन्य महादेशका फुटबल संघहरूले भने उनको पक्षमा समर्थन जनाएका छन्।
मेक्सिकोको फुटबल महासंघले आफ्नो क्षेत्रीय निकाय कन्काकाफको धारणा विपरीत इन्फान्टिनोको समर्थन गरेको छ।
दक्षिण अमेरिकी फुटबल महासंघ कोन्मेबोलले पनि फिफाका सबै २११ सदस्य राष्ट्रको मतदानबिना इन्फान्टिनोलाई हटाउने कुनै पनि प्रयास स्वीकार्य नहुने जनाएको छ।
अफ्रिकी फुटबल महासंघ (काफ) अन्तर्गतका ५४ राष्ट्रले पनि इन्फान्टिनोलाई सर्वसम्मत समर्थन गरेका छन्।
‘छानबिनको स्वागत गर्छौँ, तर तथ्य तोडमोड गर्न पाइँदैन’
इन्फान्टिनोले बुधबार मोरक्कोको रबातमा फिफाको व्यवस्थापन बोर्डका सदस्यहरूसँग बैठक गरेका थिए।
त्यसपछि फिफाले इन्फान्टिनो र महासचिव माटियास ग्राफस्ट्रोमका तर्फबाट जारी गरेको विज्ञप्तिमा एफएफई प्रस्तावका लागि माफी माग्दै संस्थाको सुशासन, पारदर्शिता र प्रक्रियामाथि हुने आक्रमण अब सहन नसकिने चेतावनी दिएको थियो।
शनिबार राति जारी पछिल्लो विज्ञप्तिमा फिफाले वैध आलोचनाको स्वागत गर्ने तर त्यसका नाममा आधारहीन आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्ने वा भ्रम फैलाउने काम स्वीकार्य नहुने जनाएको छ।
फिफाले भनेको छ, “छानबिन र आलोचना तथ्यलाई तोडमोड गर्ने, अपुष्ट आरोपलाई बढावा दिने वा संस्थाको प्रगतिलाई कमजोर बनाउने उद्देश्यका गतिविधिका लागि अनुमति होइन।”
गलत वा भ्रामक समाचार प्रकाशित भए त्यसलाई फिफाले प्रत्यक्ष र कडा रूपमा चुनौती दिने पनि जनाएको छ।