भारत र नेपालबीचको सडक यात्रा अब थप सहज, सुरक्षित र छिटो हुने भएको छ। वर्षौंदेखि साँघुरा सडक, लामो ट्राफिक जाम र घण्टौँको ढिलाइ झेल्दै आएका यात्रुहरूले अब राहत पाउने भएका छन्। भारत सरकारले निर्माण गरिरहेको गोरखपुर–सोनौली फोरलेन राजमार्ग अन्तिम चरणमा पुगेको छ।
उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रहेको सोनौली नाका भारत–नेपालबीचको सबैभन्दा व्यस्त सीमा नाकामध्ये एक हो। यस नाकाबाट दैनिक हजारौँ पर्यटक, तीर्थयात्री, व्यापारी तथा मालवाहक सवारीसाधन आवतजावत गर्ने गर्छन्। तर साँघुरो दुई लेनको सडकका कारण यहाँ नियमित रूपमा ट्राफिक जाम हुने समस्या रहँदै आएको थियो।
करिब ७९.५ किलोमिटर लामो नयाँ फोरलेन राजमार्गले यो समस्याको दीर्घकालीन समाधान गर्ने अपेक्षा गरिएको छ। राजमार्ग सञ्चालनमा आएपछि भारत र नेपालबीचको आवागमन थप सहज हुनुका साथै दुई देशबीचको व्यापार, ढुवानी र आर्थिक गतिविधिमा पनि उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ।
यो राजमार्ग आधुनिक पूर्वाधार र प्रविधिले सुसज्जित बनाइएको छ। सडकमा रेलवे ओभरब्रिज, फ्लाइओभर, सवारीसाधनका लागि अन्डरपास, साना पुल तथा सर्भिस रोड निर्माण गरिएको छ। साथै यात्राको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मार्गभरि सिसिटिभी क्यामेरा, इमर्जेन्सी कल बक्स तथा इलेक्ट्रोनिक डिस्प्ले साइनबोर्ड जडान गरिएको छ।
भविष्यमा सवारीसाधनको चाप बढ्ने अवस्थालाई ध्यानमा राखेर सडकको संरचना तयार पारिएको भारतीय अधिकारीहरूले बताएका छन्।
राजमार्ग सञ्चालनमा आएपछि दिल्ली, उत्तर प्रदेश, बिहारलगायत भारतका विभिन्न क्षेत्रबाट नेपाल आउने यात्रुहरूको यात्रा समय घट्ने अपेक्षा गरिएको छ। साथै पर्यटन, व्यापार तथा सीमापार आर्थिक सहकार्यलाई पनि यस परियोजनाले नयाँ गति दिने विश्वास गरिएको छ।