सीमा क्षेत्रमा बढ्न सक्ने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती तथा अन्तर्क्रिया सुरु गरेका छन्।
खुला सीमाको दुरुपयोग गर्दै हुन सक्ने तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली नोटको कारोबार, चोरी तथा डकैतीलगायतका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको हो।
संयुक्त गस्तीमा नेपालतर्फबाट सशस्त्र प्रहरी बल तथा भारततर्फबाट सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मी सहभागी छन्। आइतबारदेखि सुरु भएको गस्तीमा सम्बन्धित कार्यालयका प्रमुख, एसएसबीका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बलका अधिकारीसहितको टोली सहभागी रहेको जनाइएको छ।
गस्तीका क्रममा सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे सूचना आदानप्रदान गर्नुका साथै सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।
प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि संयुक्त निगरानी, सूचना आदानप्रदान तथा नियमित सुरक्षा गस्तीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ। संयुक्त गस्तीले सीमा क्षेत्रमा हुने अवैध आवतजावत, तस्करी तथा आपराधिक गतिविधिमाथि निगरानी बढाउनुका साथै नेपाल–भारत सुरक्षा निकायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।