प्रधानमन्त्री बालेन शाहले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहेका छन्।
रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेदेखि छलफल सुरु भएको हो।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा छलफल भइरहेको छ।
छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछानेसहित विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वरका स्थानीय तह प्रमुख सहभागी छन्।
त्यस्तै, रसुवाका उत्तरगया, कालिका, आमाछोदिङमो र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष पनि छलफलमा सहभागी छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत सहभागी भएका छन्।
धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष पनि छलफलमा सहभागी छन्। गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) समेत छलफलमा सहभागी रहेको जनाइएको छ।