सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधार कार्ययोजनाको सकारात्मक प्रभाव बुधबार सेयर बजारमा देखिएको छ। यस दिन नेप्से परिसूचक ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर २ हजार ६३३ अंकमा पुगेको छ।
यो नेप्सेको भदौ १ गतेयताकै उच्च विन्दु हो। अघिल्लो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको तुलनामा आधा घटाउनेलगायतका बजार सुधारका योजना सार्वजनिक गरेका थिए। त्यसपछि बुधबार कारोबार खुलेदेखि नै लगानीकर्तामा उत्साह देखिएको हो।
कारोबार सुरु भएको एक मिनेटमै नेप्से २ हजार ६७९ अंकसम्म पुगेको थियो। त्यसपछि बजार केही सम्हालिँदै दिउँसो १२ः५४ बजे २ हजार ६११ अंकमा झरेको थियो। करिब १ बजेपछि भने बजारले पुनः वृद्धिको लय समातेको थियो।
बुधबार कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। कुल ८ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जबकि अघिल्लो दिन ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। आजको कारोबार रकम असार ३० गतेयताकै उच्च हो।
बुधबार सबै समूहगत सूचक बढेका छन्। निर्जीवन बीमा २.८२ प्रतिशत, जीवन बीमा २.५९ प्रतिशत, लगानी २.५२ प्रतिशत र फाइनान्स २.२३ प्रतिशत बढेका छन्। यस्तै बैंकिङ १.९०, विकास बैंक १.७६, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, माइक्रोफाइनान्स १.७५ र अन्य समूह २.१२ प्रतिशतले बढेका छन्।
आज २६५ कम्पनीको सेयर मूल्य बढेको, १२ कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर रहेको छ। धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंक ११.०३, मल्टिपर्पस फाइनान्स ९.७३, जानकी फाइनान्स ८.०६ र मिडसोलु हाइड्रोपावर ६.६७ प्रतिशतले बढेका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।