अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। उनलाई काठमाडौं गोर्खाजले अनुबन्ध गरेको हो।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको घोषणा गरेको छ। उनी एनपीएल खेल्न नेपाल आउने अहिलेसम्मकै चर्चित तथा ठूला विदेशी खेलाडी बनेका छन्।
यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने संकेतसहित सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। वार्नरले उक्त पोस्टमा ‘लाइक’ गरेपछि उनको एनपीएल आगमनबारे चर्चा थप चुलिएको थियो। काठमाडौं गोर्खाजले दिएको संकेतबाट पनि वार्नर नै टोलीमा आउने खेलाडी रहेको अनुमान गरिएको थियो।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितिसकेका छन्। उनले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका हुन्।
वार्नर अस्ट्रेलियाका लागि तीनवटै अन्तर्राष्ट्रिय ढाँचामा शतक बनाउने खेलाडीसमेत हुन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ११० खेल खेल्दै एक शतकसहित ३ हजार २०० भन्दा बढी रन बनाएका छन्।
समग्र टी–२० क्रिकेटमा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन्।
विश्वका विभिन्न चर्चित टी–२० लिगमा अनुभव बटुलेका वार्नरले आईपीएल, बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, द हन्ड्रेड, मेजर लिग क्रिकेट, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग तथा भाइटालिटी ब्लास्ट खेलिसकेका छन्।