नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी तथा अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्।
छापा माध्यमका पत्रकारहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गरेपछि सम्बोधन गर्दै ओलीले जनताको आवाज दबाउने र अरूलाई अप्ठ्यारोमा पार्ने शासकको जनताबाट विरोध हुने बताए।
‘जुन शासक दमनकारी हुन्छ, जुन शासक पीडक हुन्छ, जुन शासक जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज दबाउँछ, अरूलाई बोल्न दिँदैन,’ ओलीले भने, ‘अरू अप्ठ्यारोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ। त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ।’
धर्मशास्त्रमा समेत यही कुरा उल्लेख रहेको बताउँदै ओलीले यो सन्देश अहिलेका शासकका लागि पनि उत्तिकै सान्दर्भिक रहेको जिकिर गरे।
‘त्यो कुरा सत्य थियो, अहिलेका लागि पनि सत्य हो। अहिलेका शासकले पनि बुझ्नुपर्ने कुरा हो। मैले पनि शास्त्रकै कुरा गरेको हो,’ उनले भने।
ओलीले आफू व्यक्तिगत रूपमा विगत ६० वर्षदेखि समानता र स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको दाबीसमेत गरे। उनले संयुक्त राष्ट्रसंघको बडापत्र र मानव अधिकारको घोषणापत्र पढेपछि समानता र स्वतन्त्रताको यात्रामा अघि बढ्न प्रेरणा मिलेको बताए।