प्रधानमन्त्री बालेन शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन्।
राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उत्कृष्ट भविष्यको शुभकामना व्यक्त गरेका छन्।
उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।
यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले यस नाराले बालबालिकाको वर्तमानलाई सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बताएका छन्।
नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गर्दै बालबालिकाको अधिकार संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्रीले संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले समेत बालअधिकारलाई सुनिश्चित गरेको बताएका छन्।
उनका अनुसार अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी रूपमा सुनिश्चित बालअधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नु हो। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले संघले राष्ट्रिय नीति तथा कानुनी आधार सुदृढ गर्ने, प्रदेशले समन्वय र सेवा विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।