ऋषि पञ्चमी पर्व आज नेपाली महिलाहरूले सप्त ऋषिको पूजाआराधना गरी श्रद्धापूर्वक मनाउँदै छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाहरूले बिहानै उठेर नित्यकर्म सम्पन्न गरी तीज व्रतको पारायणपछि स्नान तथा पूजालगायतका धार्मिक कर्म गर्ने परम्परा छ।
पर्वका अवसरमा महिलाहरू नजिकका नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने गर्छन्। त्यसपछि पञ्चगव्य सेवन गर्ने प्रचलनसमेत रहेको छ।
यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेकाले तीज व्रतको पारायण सम्पन्न गरेपछि पञ्चमी स्नानलगायतका धार्मिक कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत तथा पूजा महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमी भने महिलाहरूका लागि मात्र गर्नुपर्ने धार्मिक विधान छ।
धार्मिक ग्रन्थहरूमा महिलाहरूले रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि गरेको भए ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा–आराधना गर्नाले त्यस्ता दोषबाट मुक्ति पाइने उल्लेख गरिएको छ। धार्मिक मान्यताअनुसार रजस्वलाको पहिलो दिन महिलालाई चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी र तेस्रो दिन धोबिनीका रूपमा लिइन्छ भने चौथो दिन स्नान गरेपछि शुद्ध हुने विश्वास गरिन्छ।
यसै मान्यताअनुसार ऋषि पञ्चमीका दिन दत्तिवन, गाईको गोबर, माटो तथा खरानी प्रयोग गरी स्नान गर्नुका साथै पञ्चगव्य सेवन गरेमा छुवाछुतसम्बन्धी दोष निवारण हुने शास्त्रीय विश्वास रहेको प्रा। डा। भट्टराईले बताएका छन्।
स्नान तथा शुद्धीकरणपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्त ऋषिको विधिपूर्वक पूजा गरिन्छ। सप्त ऋषिको पूजा गरिने पञ्चमी भएकाले यस पर्वलाई ऋषि पञ्चमी भनिएको हो।