डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीले महिला अभिभावक तथा शिक्षिकाहरूको सहभागितामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा महिला अभिभावक, शिक्षिका तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो। महिला अभिभावक तथा शिक्षिकाहरूको चाहना र मागअनुसार यस वर्ष विद्यालयमै तीज कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
आपसी सद्भाव, आत्मीयता तथा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
विद्यालयकी सञ्चालिका तथा प्रधानाध्यापक रोशनी श्रीवास्तवले महिला अभिभावक तथा शिक्षिकाहरूको चाहनालाई ध्यानमा राख्दै विद्यालयमै तीज कार्यक्रम आयोजना गरिएको बताइन्। उनले यसअघि तीज कार्यक्रमका लागि होटल बुकिङ गरिए पनि देशमा आएको विनाशकारी बाढीका कारण होटलमा कार्यक्रम गर्ने योजना रद्द गर्नुपरेको जानकारी दिइन्।
श्रीवास्तवका अनुसार विपद्को अवस्थामा भड्किलो तथा खर्चिलो कार्यक्रम गर्नु उचित नहुने भएकाले होटलमा आयोजना गर्ने कार्यक्रम रद्द गरी विद्यालय परिसरमै सामान्य तथा पारिवारिक वातावरणमा तीज मनाइएको हो।
कार्यक्रममा सहभागी महिला अभिभावक तथा शिक्षिकाहरूले तीजका गीतमा नृत्य प्रस्तुत गर्दै एक–अर्कालाई शुभकामना आदानप्रदान गरेका थिए। सहभागीहरूले तीजले नेपाली महिलाबीचको आत्मीयता बढाउनुका साथै पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
विद्यालय व्यवस्थापनका अनुसार बालबालिकालाई नेपाली मौलिक चाडपर्व, संस्कृति तथा परम्पराबारे जानकारी गराउने उद्देश्यले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ। अभिभावक र शिक्षकबीचको सम्बन्धलाई थप सुमधुर बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थी, अभिभावक तथा शिक्षकको सहभागितामा नेपाली कला, संस्कृति तथा परम्परासँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गर्दै जाने जनाएको छ।