वीरगञ्जस्थित जी.एच.पी. माध्यमिक विद्यालयको आयोजनामा ‘अक्षरारम्भ’ अन्तरविद्यालय सार्वजनिक वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा वीरगञ्जका विभिन्न १२ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विद्यार्थीलाई आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै आत्मविश्वास, प्रभावकारी सञ्चार सीप, आलोचनात्मक सोच, सिर्जनशीलता तथा तार्किक अभिव्यक्ति विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा जी.एच.पी. माध्यमिक विद्यालय, मनकामना सेकेन्डरी स्कुल, डीपीएस स्कुल, लिटिल एन्जल्स स्कुल, विद्या सदन माध्यमिक विद्यालय, मिनिल्याण्ड सेकेन्डरी स्कुल, न्यू वेभ सेकेन्डरी स्कुल, कादम्बरी सेकेन्डरी स्कुल, एन्जल्स वल्र्ड, ओम नेशनल एकेडेमीलगायत विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्य तथा जी.एच.पी. माध्यमिक विद्यालयकी प्रिन्सिपल जगप्रीत सिंह कौरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा शिक्षाक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो।
सार्वजनिक वक्तृत्वकला प्रतियोगितामा जी.एच.पी. माध्यमिक विद्यालय प्रथम, डीपीएस स्कुल दोस्रो, विद्या सदन माध्यमिक विद्यालय तेस्रो र जीवन ज्योति सेकेन्डरी स्कुल चौथो भएका छन्।
त्यस्तै, वादविवाद प्रतियोगितातर्फ डीपीएस सेकेन्डरी स्कुल प्रथम, कादम्बरी सेकेन्डरी स्कुल दोस्रो, जीवन ज्योति स्कुल तेस्रो र जी.एच.पी. सेकेन्डरी स्कुल चौथो भएका छन्।
प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थी र विद्यालयलाई प्रमाणपत्रसहित शिल्ड प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट, तार्किक र प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको आयोजक विद्यालयले जनाएको छ।
कार्यक्रममा पुरन प्रधान, लालबहादुर गुरुङ, शिव गुप्ता, मीनाक्षी गुप्ता, लालबाबु पटेललगायतको विशेष उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलको भूमिका टोस्टमास्टर्स इन्टरनेशनलले निर्वाह गरेको थियो।
विद्यालयले विद्यार्थीको अतिरिक्त तथा सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।