एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। गत एक दशकमा बेलायतले सातौँ प्रधानमन्त्री पाउन लागेको हो। उनले देशको राजनीतिक र प्रशासनिक संरचनालाई पुनः व्यवस्थित गर्दै जनताका वास्तविक सरोकारका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
लेबर पार्टीका नेता बर्नहमले प्रधानमन्त्री केयर स्टार्मरले राजीनामा दिएपछि राजा चार्ल्स तृतीयसँग बकिङ्घम दरबारमा भेट गरी औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन्।
पूर्व ग्रेटर म्यानचेस्टर मेयरसमेत रहेका ५६ वर्षीय बर्नहमले प्रधानमन्त्री बनेलगत्तै नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन्। अर्थमन्त्रीको चयनलाई विशेष चासोका साथ हेरिएको छ, किनभने सरकारको आर्थिक नीति र कार्यदिशा तय गर्न यो पदलाई निर्णायक मानिन्छ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि बर्नहमले आफ्नो नेतृत्वलाई बेलायती राजनीतिमा पछिल्लो ४० वर्षकै सबैभन्दा ठूलो परिवर्तनको सुरुवात भएको बताएका छन्। उनले जीवनयापनको बढ्दो खर्च, सुस्त आर्थिक वृद्धि तथा कमजोर सार्वजनिक सेवाजस्ता समस्याको समाधानलाई सरकारको मुख्य प्राथमिकता बनाउने बताएका छन्।
उनले भने, “हाम्रो सरकारले जनताको जीवन सस्तो, सहज र समृद्ध बनाउने मार्ग तय गर्नेछ। देशका सबै क्षेत्र र समुदायलाई अहिलेको अवस्थाबाट माथि उठाउने हाम्रो लक्ष्य हुनेछ।”
बर्नहमले पार्टीभित्र मन्त्रिपरिषद् गठनबारे भइरहेका अड्कलबाजीलाई बेवास्ता गर्न आग्रह गर्दै आफ्नो टोलीबारे अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेका छन्।
सरकारको प्रारम्भिक निर्णयअन्तर्गत सबै कर्मचारीका लागि डिजिटल परिचयपत्र अनिवार्य बनाउने योजना रद्द गरिने भएको छ। अवैध आप्रवासन नियन्त्रणका लागि ल्याइएको उक्त योजनालाई संसदीय समितिले असफल र अव्यावहारिक भनेपछि खारेज गर्ने निर्णय गरिएको हो।
यससँगै बर्नहम सरकारले कर नीति, सरकारी खर्च, तेल तथा ग्यास क्षेत्र र कमजोर प्रदर्शन गरिरहेका सार्वजनिक सेवा प्रदायक कम्पनीमाथिको सरकारी नियन्त्रण बढाउने विषयमा पनि नयाँ नीति ल्याउने संकेत दिएको छ।
लेबर पार्टीकी उपनेता लुसी पावेलले ठूलो ऋणमा डुबेको पानी आपूर्ति कम्पनी थेम्स वाटरलाई आवश्यक परे सरकारको प्रत्यक्ष नियन्त्रणमा ल्याउन सकिने बताएकी छन्।
बर्नहमले बेलायतको अर्थतन्त्रलाई पुनर्संरचना गर्दै जनताको जीवनस्तर सुधार गर्ने र बढ्दो महँगी नियन्त्रणलाई आफ्नो सरकारको मुख्य एजेन्डा बनाउने बताएका छन्।