साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणपछि साउदी सरकारले अब कस्तो कदम चाल्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ । इरानसमर्थित यमनका हुथी विद्रोहीले आक्रमणलाई थप तीव्र बनाउने चेतावनी दिइरहेका बेला साउदी अरेबियासामु सैन्य कारबाही विस्तार गर्ने वा सीमित रणनीतिमै रहने चुनौती देखिएको छ ।
सीएनएनको रिपोर्टअनुसार विमानस्थलमा शनिबार भएको आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । साउदी अरेबियाले एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक आक्रमणको सामना गरिरहेको उल्लेख गर्दै रिपोर्टले यस घटनाले क्षेत्रीय द्वन्द्व थप चर्किने जोखिम बढाएको जनाएको छ ।
साउदी अरेबियाले गत साता हुथी विद्रोहीविरुद्ध लडिरहेका यमनका सरकारी सेनालाई सहयोग गर्न ठूलो सैन्य अभियान सुरु गरेको थियो । तर, विद्रोहीले आफ्नो नियन्त्रणमा रहेका क्षेत्र जोगाउँदै उल्टै साउदी भूमिमा आक्रमण तीव्र पारेका छन् । उनीहरूले महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने र त्यसबाट विश्व अर्थतन्त्रमा समेत असर पार्ने चेतावनी दिएका छन् ।
साउदी अरेबिया र हुथी विद्रोहीबीचको द्वन्द्व लामो समयदेखि जारी छ । रियादले करिब एक दशकदेखि विद्रोहीको विस्तार रोक्न सैन्य कारबाही र वार्ताको सहारा लिँदै आएको छ । तर, इरानको सहयोगमा हुथी विद्रोहीको सैन्य क्षमता बढ्दै गएको र उनीहरूले यमनका प्रमुख सहरहरूमा आफ्नो नियन्त्रण बलियो बनाएको रिपोर्टमा उल्लेख छ । घना बस्ती भएको ताइज सहरतर्फ पनि उनीहरूको विस्तारको प्रयास जारी रहेको जनाइएको छ ।
साउदी राजनीतिका जानकार अली शिहाबीका अनुसार हुथी विद्रोहीको खतरालाई निर्णायक रूपमा सम्बोधन गर्नुपर्ने अवस्था आएको छ । यद्यपि, यसको परिणाम यमनका सरकारी सेनाले स्थल क्षेत्रमा गर्ने प्रगतिमा निर्भर रहने र साउदी अरेबियाले हवाई शक्तिमार्फत उनीहरूलाई सहयोग गरिरहेको उनले सीएनएनलाई बताएका छन् ।
हालसम्म साउदी अरेबियाले यमनमा आफ्ना ठूलो संख्याका सैनिक परिचालन नगरी हुथीविरोधी सरकारी गठबन्धनलाई मुख्यतः हवाई सहयोग दिँदै आएको छ । तर, रियादको विमानस्थलमा भएको आक्रमणपछि यो रणनीति कायम रहन्छ वा साउदी सेना प्रत्यक्ष युद्धमा प्रवेश गर्छ भन्ने प्रश्न उठेको छ ।
यमनमा ठूलो संख्यामा सेना पठाउँदा साउदी अरेबिया कठिन र खर्चिलो स्थलयुद्धमा फस्न सक्ने जोखिम छ । दुर्गम तथा पहाडी भूभागमा लामो समयसम्म चल्ने युद्धले युवराज मोहम्मद बिन सलमानले अघि सारेको स्थिर, लगानीमैत्री र पर्यटन केन्द्रका रूपमा साउदी अरेबियालाई विकास गर्ने योजनामा समेत असर पार्न सक्छ ।
क्षेप्यास्त्र क्षमतामा वृद्धि
करिब दुई दशकअघि हुथी विद्रोही एउटा सानो धार्मिक पुनर्जागरण आन्दोलनका रूपमा चिनिन्थे । तर, इरानको सहयोगपछि उनीहरू ब्यालिस्टिक क्षेप्यास्त्रसहित टाढासम्म आक्रमण गर्न सक्ने सैन्य शक्तिका रूपमा विकसित भएका छन् । उनीहरूले इजरायलको तेल अभिभसम्म पनि आक्रमण गर्न सक्ने क्षमता प्रदर्शन गरिसकेको सीएनएनले उल्लेख गरेको छ ।
हुथीविरुद्ध लामो समय लडेका दक्षिणी यमनका एक अधिकारीका अनुसार विद्रोहीको युद्ध रणनीति थप परिष्कृत भएको छ । उनीहरूले आक्रमणको निरन्तरता, गुप्तचर क्षमता र हतियार प्रयोग गर्ने दक्षतामा सुधार गरेका छन् ।
यमन सरकारले हुथी विद्रोहीले इरानी रिभोलुसनरी गार्डका विशेषज्ञसँग मिलेर क्षेप्यास्त्रलाई थप प्रभावकारी बनाएको आरोप लगाएको छ । यमनका सशस्त्र सेनाका प्रवक्ता माजेद अल–नाजिलीका अनुसार नयाँ क्षेप्यास्त्रहरू तीव्र गतिमा उड्न र ताप स्रोत पहिचान गर्ने प्रणालीमार्फत लक्ष्यतर्फ अघि बढ्न सक्षम छन् । यद्यपि, रियाद विमानस्थलमा भएको आक्रमणमा यस्ता क्षेप्यास्त्र प्रयोग भए वा नभएको पुष्टि भएको छैन ।
हुथी विद्रोहीको हतियार विकासमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसमेत जोडिन थालेको छ । एआई कम्पनी एन्थ्रोपिकले सेप्टेम्बरमा सार्वजनिक गरेको विवरणअनुसार उत्तरी यमनमा रहेको एउटा समूहले क्लाउड एआई उपकरण प्रयोग गरी रकेट तथा क्षेप्यास्त्रलाई उडानका क्रममा दिशा नियन्त्रण र स्थिर राख्ने सफ्टवेयर विकास गर्न सहयोग लिएको थियो । उक्त विवरणमा समूहको पहिचान खुलाइएको थिएन । तर, समूह हुथी नियन्त्रित उत्तरी यमनमा रहेको उल्लेख गरिएकाले विद्रोहीसँग सम्भावित सम्बन्धबारे प्रश्न उठेको छ ।
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै साउदी अरेबिया
हुथी विद्रोहीको सामना गर्न साउदी अरेबियाले विभिन्न देशसँग सहयोग मागिरहेको छ । सीएनएनका अनुसार फ्रान्स, बेलायत र पाकिस्तानले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने टर्कीजस्ता अन्य साझेदारले पनि सहयोगबारे विचार गरिरहेका छन् ।
साउदी युवराज मोहम्मद बिन सलमानले सिरियाबाट समेत सहयोग खोजेको विवरण सार्वजनिक भएको छ । सिरियाका राष्ट्रपति अहमद अल–शराले लामो गृहयुद्धपछि इरानसमर्थित समूहहरूलाई सिरियाबाट हटाउन सफल सशस्त्र समूहहरूको नेतृत्व गरेका थिए ।
तर, साउदी अरेबियाको प्रमुख सहयोगी अमेरिका भने हुथी विद्रोहीमाथि हवाई आक्रमण गर्ने पक्षमा खुलेर उभिएको छैन । बरु उसले नयाँ संयुक्त कमान्डअन्तर्गत गुप्तचर सूचना उपलब्ध गराउन १०० भन्दा बढी सैन्य सल्लाहकार पठाएको सीएनएनले जनाएको छ ।
गत वर्ष अमेरिकाले इरानसमर्थित हुथी समूहसँग युद्धविराम सम्झौता गरेको थियो । त्यसपछि एसिया र युरोपबीचको विश्वव्यापी व्यापारका लागि महत्त्वपूर्ण समुद्री मार्ग बाब अल–मन्देब जलडमरूमध्य अमेरिकी जहाजका लागि पुनः सञ्चालनमा आएको थियो ।
सीएनएनका अनुसार युवराज मोहम्मदले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुईपटक कुराकानी गर्दै हुथी विद्रोहीमाथि आक्रमण गर्न आग्रह गरेका थिए । तर, ट्रम्पले त्यसबेला प्रत्यक्ष हस्तक्षेप गर्न अस्वीकार गरेका थिए ।
रियाद विमानस्थलमा भएको पछिल्लो आक्रमणमा एक अमेरिकी नागरिकको समेत मृत्यु भएको साउदी नागरिक उड्डयन निकायले जनाएको छ । यस घटनाले अमेरिकालाई द्वन्द्वमा थप संलग्न गराउने सम्भावना बढाएको छ ।
आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले साउदी अरेबियाका सैनिकलाई राम्रो लडाकुका रूपमा वर्णन गर्दै आक्रमणलाई भयानक घटना बताएका थिए । हुथी विद्रोहीमाथि अमेरिकाले पनि आक्रमण गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले ‘गर्न पनि सक्छौँ’ भन्ने जवाफ दिएका थिए ।
यससँगै साउदी अरेबियासामु अब दुई प्रमुख चुनौती देखिएका छन्—हुथी विद्रोहीको बढ्दो सैन्य क्षमतामाथि नियन्त्रण कायम गर्नु र प्रत्यक्ष स्थलयुद्धमा फस्नबाट जोगिनु । रियादले आगामी दिनमा चाल्ने कदमले यमनको द्वन्द्व मात्र नभई मध्यपूर्वको सुरक्षा अवस्था र विश्व व्यापारमा समेत प्रभाव पार्न सक्छ ।