भारतका एकदिवसीय टोलीका कप्तान रोहित शर्माले आइतबार इंग्ल्यान्डविरुद्ध लर्ड्समा हुने एकदिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने भन्ने चर्चा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले अस्वीकार गरेको छ।
बीसीसीआईका सचिव देवजित साइकियाले रोहितको भविष्यबारे सञ्चारमाध्यममा भइरहेको अड्कलबाजी निराधार रहेको स्पष्ट पार्दै लर्ड्समा हुने खेल उनको अन्तिम अन्तर्राष्ट्रिय खेल नहुने बताएका छन्।
साइकियाले जारी गरेको विज्ञप्तिमा रोहितको सन्न्यासबारे बोर्डभित्र कुनै छलफल नभएको उल्लेख गर्दै उनले अझै पनि भारतको एकदिवसीय टोलीका नियमित सदस्य रहेको र टोलीको योजनामा रहेसम्म देशको प्रतिनिधित्व गरिरहने बताए।
"रोहित शर्माको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। तर उनले लर्ड्समा अन्तिम खेल खेल्दैछन् भन्ने विषयमा बोर्डमा कुनै पनि छलफल भएको छैन," साइकियाले भने।
उनले रोहित भारतको एकदिवसीय टोलीको महत्वपूर्ण सदस्य रहेको र भविष्यका योजनामा समेत समावेश रहेको दोहोर्याए।
रोहितको भविष्यबारे चर्चा भने इंग्ल्यान्डविरुद्धको जारी एकदिवसीय शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि चुलिएको हो। भारतले सन् २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै टोली निर्माणको तयारी गरिरहेका बेला उनको भूमिकाबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रोहितको भविष्यबारे यसअघि छनोट समिति, मुख्य प्रशिक्षक गौतम गम्भीर र स्वयं रोहितबीच अनौपचारिक छलफल भएको थियो। यद्यपि रोहितले सन् २०२७ को विश्वकप खेल्ने आफ्नो इच्छा यसअघि नै सार्वजनिक गरिसकेका छन्।